करेन्ट लागेर नुवाकोटमा एक जनाको मृत्यु

विदुर खबर २०८३ साउन ५ गते २०:४४

नुवाकोट । खेतमा मल छर्न जाने क्रममा करेन्ट लाग्दा नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा एक जनाको ज्यान गएको छ।

Advertisement

दुप्चेश्वर गाउँपालिका–३, गहतार निवासी कुमार बिकको करेन्ट लागेर दुःखद निधन भएको हो। बिहानको समयमा खेततर्फ जाँदै गर्दा घटेको उक्त अकल्पनीय घटनाले सिङ्गो गाउँ स्तब्ध बनेको छ।

घटनापछि स्थानीयवासीले शोक व्यक्त गर्दै मृतक बिकप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।

Advertisement

साथै, स्थानीयवासीले घटनाको निष्पक्ष र सत्यतथ्य छानबिनको माग गरेका छन्। विद्युत् लाइनको लापरबाही वा सुरक्षा मापदण्डविपरीत पूर्वाधार व्यवस्थापनका कारण दुर्घटना भएको भए सम्बन्धित निकायले यसको जिम्मेवारी लिनुपर्ने उनीहरूको भनाइ छ।

छानबिनका क्रममा कसैको लापरबाही पुष्टि भएमा दोषीमाथि कानुनबमोजिम कडा कारबाही हुनुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिइनुपर्ने माग समेत उठाइएको छ।

Advertisement

ग्रामीण क्षेत्रमा लत्रिएका र जीर्ण बनेका विद्युत्का तार तथा पोलहरूका कारण यस्ता जोखिम बढ्दै गएको भन्दै सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।

यस्ता दुःखद घटनाको पुनरावृत्ति हुन नदिन नेपाल विद्युत् प्राधिकरण तथा सम्बन्धित निकायले संरचनाहरूको नियमित निरीक्षण, समयमै मर्मत–सम्भार र सुरक्षा मापदण्डको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया