उत्तरगयामा २० वर्षे गुरुयोजना बनाइँदै

विदुर खबर २०७९ चैत १० गते ८:४१

रसुवा । उत्तरगया गााउँपालिकाले २० वर्षे गुरुयोजना निर्माण थालेको छ । पालिकाभित्रका सम्भावनालाई व्यवस्थित र योजनाबद्ध रुपमा विकास गर्न २० वर्षे गुरुयोजना निर्माण गर्न थालेको हो ।

Advertisement

स्थानीय सरकारले आफ्नो संस्थागत सुदृढीकरण, समग्र विकास एवंम समृद्धिको खाकासहितको दीर्घकालीन योजना निर्माणका लागि गुरुयोजना निर्माण थालिएको पालिका अध्यक्ष माधव अर्यालले बताए ।

गुरुयोजना निर्माण गर्न पुर्व तयारी स्वरुप पालिकाले २ दिने कार्याशाला गोष्ठी सम्पन्न गरेको बताए । विज्ञ र सरोकारवाला राखेर मंगलबार र बुधबार पालिकाले कार्याशाला गरेको हो ।

Advertisement

पालिकाको भौगोलिक क्षेत्र अनुसार जनससंख्या बृद्धि, सहरीकरण र आर्थिक समृद्धिको सम्भावनाको खोजी गर्ने भएको छ । स्थानीय सरकारसंग उपलब्ध स्रोत साधन, जनशक्ति र सम्भाव्य लगानीका स्रोतको खोजी गर्दै आगामी २० वर्षमा समग्र विकास योजना तर्जुमा गर्ने गुरुयोजनामा उल्लेख छ । विकासमा प्रादेशिक सन्तुलन, समावेशिता, प्राकृतिक स्रोत र साधनको संरक्षण, सम्बर्द्धन र उपयोग गर्दै मर्यादित काम र रोजगारी सिर्जना गर्न गुरुयोजना आवश्यक रहेको गाउपालिका उपाध्यक्ष चमेली गुरुले बताइन् ।

गुरुयोजनाले दिगो विकास लक्ष्यलाई स्थानीय स्तरमै लागू गर्ने नीति लिएको छ । पालिकाको विकास कार्यक्रममा सबै नागरिकले आत्मसात गर्ने गरी यसका सूचकलाई आधार मानेर स्थानीय तहको योजना निर्माण गरिने छ । दिगो विकास लक्ष्यले निर्दिष्ट गरे बमोजिम राष्ट्रिय लक्ष्य तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता हासिल गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रमुख प्रशासकीय अधिकृत दिपक अधिकारीले समग्र आर्थिक, सामाजिक र वातावरणीय पक्ष समेटेर २०९९ साल सम्मका लागि समष्टिगत योजना निर्माण हुने बताए ।

Advertisement

 

प्रतिक्रिया