कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस एक्लो हुँदै
नुवाकोट । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसद्मा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग रहेका साना दलहरू गुमनाम भइसकेको पत्रकार एवं विश्लेषक चिरञ्जीवी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कम्युनिस्टहरू बिस्तारै फेरि एक ठाउँ आउँदै गर्दा कांग्रेसभित्र साविकको गठबन्धन तोडिएको विषयलाई लिएर आन्तरिक भाँडभैलो शुरू भएको छ । यसले उक्त दललाई घाटा गर्दछ ।’
नेपालको राजनीतिमा विगत पाँच वर्षयता गठबन्धन संस्कृति मौलाउँदै गएकाले दलहरूबीच वैचारिक दृष्टिकोणमा तात्विक फरक नदेखिएको उहाँको भनाइ छ । चुनावअघि हुने दलहरूबीचको गठबन्धनले बहुदलीय लोकतन्त्रमा कसको शक्ति कति छ भन्ने यकिन गर्न नसकिने टिप्पणी गर्दै अर्यालले भन्नुभयो– ‘चुनावअघि गरिने गठबन्धनको अभ्यासले राजनीतिमा सकारात्मक सन्देश दिएन । अहिले कांग्रेसभित्र देखिएको समस्याको जड पनि त्यही नै हो ।’
कुनै राजनीतिक दलहरूलाई सरकार बनाउन जनताले बहुमत दिन छाडेपछि दलहरूबीच गठबन्धनको संस्कृति शुरू भएको हो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनदेखि दलहरूबीच चुनावी गठबन्धन गर्ने अभ्यासले प्राथमिकता पाउँदै आएको छ । तर, ती गठबन्धनहरू चुनावपछिको शक्ति बाँडफाँटमा आइपुग्दासम्म तोडिँदै आएका छन् ।
एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल थाल्नुभएको छ । नयाँ पुराना गठबन्धन जोड्न प्रयास पहिलो चरणमा सफल भए पनि कालान्तरमा पुनः विग्रह आउनसक्ने खतरा पनि उत्तिकै छ । सरकारलाई बलियो बनाउन तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।
‘तत्कालीन नेकपाका घटकहरूलाई एक बनाउने भन्ने छ । यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने प्रयास छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बलियो बनाउन नयाँ पुराना सबै जोडेर सरकारमा सहभागी गराउन प्रयास गरिने छ ।’ एमाले, माओवादीलगायत सात दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी र जनमोर्चा प्रचण्डले आफूहरूलाई नसोधी गठबन्धन तोडेको भन्दै चिढिएका छन् ।
तर, पछिल्लो समय सबै राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउँदै उनीहरूलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास जारी राखेका उहाँको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि पाँच दलीय गठबन्धन तोड्दै आफूहरूलाई अलपत्र पारेर प्रचण्डले एमालेसँग नयाँ समीकरण गरेको प्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ ।
तर, पछिल्लो समयमा प्रचण्डले नेपाललाई भेटेर सरकारमा सहभागी हुन गरेको आग्रहप्रति नेपाल सकारात्मक रहेको बताइएको छ ।वामदेव गौतम र प्रभु साह समूहसँग समेत छलफल भइरहेकाले चाँडै सत्ता गठबन्धनमा सहभागी हुने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।
उता एकै दिनमा राज्यका दर्जनांै राजकीय पद गुमाउन पुगेको कांग्रेस भने प्रतिपक्षी बेन्चको एक्लो दल बन्ने अवस्थामा छ । संसद्को सबैभन्दा ठूलो दल भएर पनि राज्यका सबै पदहरू गुमाउन पुगेको उक्त दलभित्र पाँच दलीय गठबन्धन तोडिएपछि एकआपसमा आरोपप्रत्यारोप शुरू भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया