कम्युनिस्ट गठबन्धनमा बल थपिँदै, कांग्रेस एक्लो हुँदै

विदुर खबर २०७९ पुष १४ गते १२:५४

नुवाकोट । पुरानो गठबन्धन दलका नेताहरू एकाएक नयाँ समीकरणको सरकारप्रति सकारात्मक देखिएसँगै नेपाली कांग्रेस एक्लो हुँदै गएको छ ।

Advertisement

संसद्को सबैभन्दा ठूलो दल कांग्रेस आगामी संसद्मा एक्लो प्रतिपक्षी दल बन्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरू बताउँछन् । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेकपा(माओवादी केन्द्र) र नेकपा एकीकृत समाजवादी सहितको कम्युनिस्ट गठबन्धनमा बल थपिँदै गर्दा नेपाली कांग्रेससँग रहेका साना दलहरू गुमनाम भइसकेको पत्रकार एवं विश्लेषक चिरञ्जीवी अर्यालले बताउनुभयो । उहाँले भन्नुभयो– ‘कम्युनिस्टहरू बिस्तारै फेरि एक ठाउँ आउँदै गर्दा कांग्रेसभित्र साविकको गठबन्धन तोडिएको विषयलाई लिएर आन्तरिक भाँडभैलो शुरू भएको छ । यसले उक्त दललाई घाटा गर्दछ ।’

नेपालको राजनीतिमा विगत पाँच वर्षयता गठबन्धन संस्कृति मौलाउँदै गएकाले दलहरूबीच वैचारिक दृष्टिकोणमा तात्विक फरक नदेखिएको उहाँको भनाइ छ । चुनावअघि हुने दलहरूबीचको गठबन्धनले बहुदलीय लोकतन्त्रमा कसको शक्ति कति छ भन्ने यकिन गर्न नसकिने टिप्पणी गर्दै अर्यालले भन्नुभयो– ‘चुनावअघि गरिने गठबन्धनको अभ्यासले राजनीतिमा सकारात्मक सन्देश दिएन । अहिले कांग्रेसभित्र देखिएको समस्याको जड पनि त्यही नै हो ।’

Advertisement

कुनै राजनीतिक दलहरूलाई सरकार बनाउन जनताले बहुमत दिन छाडेपछि दलहरूबीच गठबन्धनको संस्कृति शुरू भएको हो । २०७४ सालको निर्वाचनमा एमाले र माओवादी केन्द्रबीच भएको चुनावी गठबन्धनदेखि दलहरूबीच चुनावी गठबन्धन गर्ने अभ्यासले प्राथमिकता पाउँदै आएको छ । तर, ती गठबन्धनहरू चुनावपछिको शक्ति बाँडफाँटमा आइपुग्दासम्म तोडिँदै आएका छन् ।

एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत सात दल र स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री हुनुभएका प्रचण्डले नयाँ र पुराना दुवै गठबन्धनलाई जोड्न पहल थाल्नुभएको छ । नयाँ पुराना गठबन्धन जोड्न प्रयास पहिलो चरणमा सफल भए पनि कालान्तरमा पुनः विग्रह आउनसक्ने खतरा पनि उत्तिकै छ । सरकारलाई बलियो बनाउन तत्कालीन नेकपामा सहभागी भएका नेकपा एकीकृत समाजवादी, वामदेव गौतम समूह, प्रभु साह समूहलाई जोड्ने प्रयास गरिएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बताउनुभयो ।

Advertisement

‘तत्कालीन नेकपाका घटकहरूलाई एक बनाउने भन्ने छ । यसअघि कांग्रेस नेतृत्वमा सहभागी भएका एकीकृत समाजवादी र जनमोर्चालाई समेट्ने प्रयास छ,’ उहाँले भन्नुभयो, ‘गठबन्धन बलियो बनाउन नयाँ पुराना सबै जोडेर सरकारमा सहभागी गराउन प्रयास गरिने छ ।’ एमाले, माओवादीलगायत सात दलको सहयोगमा प्रचण्ड प्रधानमन्त्री भएपछि एकीकृत समाजवादी र जनमोर्चा प्रचण्डले आफूहरूलाई नसोधी गठबन्धन तोडेको भन्दै चिढिएका छन् ।

तर, पछिल्लो समय सबै राजनीतिक घटनाक्रमका विषयमा जानकारी गराउँदै उनीहरूलाई आफ्नो नेतृत्वको सरकारमा सहभागी गराउन प्रचण्डले प्रयास जारी राखेका उहाँको सचिवालयले जनाएको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्ताका लागि पाँच दलीय गठबन्धन तोड्दै आफूहरूलाई अलपत्र पारेर प्रचण्डले एमालेसँग नयाँ समीकरण गरेको प्रति असन्तुष्टि जनाउँदै आउनुभएको छ ।

तर, पछिल्लो समयमा प्रचण्डले नेपाललाई भेटेर सरकारमा सहभागी हुन गरेको आग्रहप्रति नेपाल सकारात्मक रहेको बताइएको छ ।वामदेव गौतम र प्रभु साह समूहसँग समेत छलफल भइरहेकाले चाँडै सत्ता गठबन्धनमा सहभागी हुने नेताहरूले विश्वास व्यक्त गरेका छन् ।

उता एकै दिनमा राज्यका दर्जनांै राजकीय पद गुमाउन पुगेको कांग्रेस भने प्रतिपक्षी बेन्चको एक्लो दल बन्ने अवस्थामा छ । संसद्को सबैभन्दा ठूलो दल भएर पनि राज्यका सबै पदहरू गुमाउन पुगेको उक्त दलभित्र पाँच दलीय गठबन्धन तोडिएपछि एकआपसमा आरोपप्रत्यारोप शुरू भएको छ ।

प्रतिक्रिया