‘सत्ताको खेल’ खेल्दाखेल्दै सडकमा पुगे दाहाल

विदुर खबर २०८२ असोज १ गते १७:५९

नुवाकोट । माओवादी अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रदर्शनकारीले जलाएको पार्टी केन्द्रीय कार्यालयको निरीक्षणका क्रममा उनले कार्यकर्ताको सहयोगमा पार्टीको भव्य भवन बनाउने बताए । उनले आफ्नो छोटो मन्तव्य ‘फेरि उठ्ने’ बताए ।

Advertisement

जेन-जी विद्रोहपछि सेनाको ब्यारेकबाट निस्किएर पहिलो पटक सार्वजनिक भएका उनले भदौ २२ मा प्रहरीको गोलीबाट मृत्यु भएका र सशस्त्र युद्धमा मृत्यु भएका व्यक्तिको नाममा श्रद्धाञ्जली व्यक्त गरे ।

ललितपुरको खुमलटारस्थित निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि उनी सेनाको ब्यारेक र दुई दिनअघि निस्केर शुभचिन्तकको घरमा सेल्टर लिँदै आएका छन् । गत वर्ष प्रतिपक्षमा पुगेका उनी राजनीतिक र भौतिक रूपमै सडकमा पुगेका छन् । यही बेला उपमहासचिव जनार्दन शर्माले राजीनामा मागेपछि दबाबमा परेका छन् ।

Advertisement

विगतमा दाहालले पटक-पटक विगतका गल्ती सच्याएर जनताका मुद्दा उठाउने बताउँदै आएका छन् । २०७९ को मंसिरको आम निर्वाचनपछि कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरी प्रधानमन्त्री भएका उनले गत वर्ष असारमा कांग्रेस एमाले गठबन्धन बनेपछि मात्र आफू सच्चिनुपर्ने बताएका थिए । तर प्रतिपक्षमा पुगे पनि कांग्रेस-एमाले गठबन्धन सरकार भत्काएर सत्तामा पुग्ने चाहना त्याग्न सकेका थिएनन् । उनले पटक-पटक संसद र सडकबाट सरकारविरुद्ध गतिविधि जारी राखेका थिए ।

कांग्रेस र एमालेबीच राजनीतिक नियुक्तिलगायत अन्य विषयमा खटपट भएको बेला उनले ‘आवश्यक परे सरकारमा जान सकिने तर आफू नजाने’ बताउँदै आएका थिए । कांग्रेस-एमाले गठबन्धन सरकारको कामकारबाही कारण चरम निराशामा रहेका जनताले सरकार ढाल्ने चेतावनी उनको थियो । त्यही चेतावनीले उनले सत्ता गठबन्धनविरुद्ध प्रहार गर्दै वैकल्पिक सत्ता गठबन्धनको प्रयास पनि गरेका थिए ।

Advertisement

हुलाकी राजमार्ग अभियान (२०८१ फागुन, चैत) र मध्यपहाडी (जेठ) मा भएका राजनीतिक अभियानका क्रममा र अन्य सार्वजनिक मञ्चबाट अर्को शान्तिपूर्ण क्रान्तिको नेतृत्व गर्ने उनले बताएका थिए ।

उनले पार्टी पुनर्गठन, पुननिर्माणभन्दा सरकारविरुद्ध समय र शक्ति खर्चेका थिए । तर उनले भनेजस्तो विद्रोह गर्न सकेनन्, त्यसको ठाउँमा जेन-जी विद्रोह भयो । जसले कांग्रेस-एमाले गठबन्धन सरकार ढालेर अन्तरिम सरकार निर्माण भएको छ । यतिबेला माओवादीलगायत पुराना दल किनारामा पुगेका छन् ।

जेन-जी विद्रोह हुनुअघि अध्यक्ष दाहालले पार्टी पुनर्निर्माण गर्ने, आफू सम्च्चिने र जनतासँग जोडिने रोडम्याप ल्याउन सकेनन् । पटक-पटक सत्ताको ‘म्युजिकल चेयर’ खेलेका उनको नजर फेरि पनि सत्तातिर भएकाले आमा मानिसले उनका कुरा पत्याएनन् । आन्लोलनको लगाम अन्तै पुग्यो । जुन आन्दोलनले उनलाई एक साता भूमिगत हुन वाध्य बनायो ।

माओवादीले गत फागुन, चैतमा गरेको हुलाकी र जेठको मध्यपहाडी राजमार्गकेन्द्रित राजमार्ग अभियानमा पनि दाहालले विगतमा पार्टीहरूले गल्ती गरेको भन्दै कार्यशैली, व्यवहार सुधार्ने प्रतिबद्धता जनाएका थिए । चैत १५ मा काटमाडौंमा भएको सभामा पनि उनले विगतका गल्तीको समीक्षा गरेर अघि जाने बताएका थिए । त्यही दिन तीनकुनेमा राजावादी प्रदर्शनमा दुई जनाको मृत्यु र वरिपरिको भवनमा क्षति पुगेको थियो ।

समाजवादी मोर्चाले प्रदर्शनी मार्गको सभामा दाहालले दलले कमजोरी गरेका कारण अहिलेको अवस्था आएको स्वीकार गरेका थिए । ‘विगतमा हामीबाट त्रुटि गरेका हुनाले समस्या पैदा भएका भएका छन् । तपाईंहरूसँग गम्भीर आत्मसमीक्षा गर्न चाहन्छु । गणतन्त्रवादीहरूले जनताका आशा अपेक्षाअनुसार काम गर्न नसकेकै कारण इतिहासको कुडाकर्कटमा मिल्काइएका तत्वहरू पनि टाउको उठाउने दुस्साहस गरे,’ उनले भने, ‘विगतको गल्तीबाट शिक्षा लिएर जनताका पक्षमा अर्को नयाँ क्रान्तिको नेतृत्व घोषणा गर्न चाहन्छु ।’

त्यही दिन संसद् विघटन, कांग्रेस-एमाले सरकार विटघन हुनुमा प्रमुख दलका नेताहरु मुख्य जिम्मेवार रहेको बताउँदै आएका उपमहासचिव जनार्दन शर्माले अध्यक्ष दाहालको राजीनामा दिनुपर्ने प्रस्ताव अघि सारेका छन् । माओवादीको छिट्टै बस्ने केन्द्रीय पदाधिकारी बैठकमा उनले लिखित प्रस्ताव राख्ने तयारी गरेका छन् । यो प्रस्तावले माओवादीभित्र तरङ्ग ल्याएको छ । दाहाल र शर्माबीच दुई वर्ष अघिदेखि द्वन्द्व हुँदै आएको छ । उनले आन्तरिक छलफलका लागि तयार पारेको १६ बुँदे प्रस्तावमा राजीनामा दिनुपर्ने माग गरेका हुन् । यो प्रस्ताव शर्मा पक्षमा छलफल भएको र त्यसलाई अघि बढाउने तयारी भएको एक नेताले बताए ।

‘पार्टीको मूल नेतृत्वले तत्काल राजीनामा दिनुपर्छ,’ शर्माले भनेका छन्, ‘कुन पदमा कुन व्यक्ति कति पटक बस्ने भन्ने ठोस र स्पष्ट नीति बनाउनुपर्छ ।’ दाहाल ३७ वर्षदेखि पार्टीको सन्दर्भमा उनले नेतृत्व छाड्नुपर्ने माग गरेका छन् । गत वर्ष साउनमा भएको स्थायी समितिमा उनले नेतृत्व हस्तान्तरण गर्नुपर्ने लिखित प्रस्ताव राखेका थिए । त्यसबेला उनको प्रस्तावमा छलफल भएको थियो । ‘मैले नेतृत्व पुनगर्ठनको कुरा उठाउँदै आएको हुँ । अहिले पनि मेरो कुरा त्यही हो,’ उनले भने ।

जेन-जी आन्दोलनले थिग्रिएको भ्रष्टाचारयुक्त राजनीतिमाथि प्रहार गरेकाले त्यसको सकारात्मक संश्लेषण गर्नुपर्ने उल्लेख गर्दै आन्दोलनले दलतन्त्र, नेतातन्त्र, कमिसनतन्त्र र दलालीका सबै पाटापक्ष उजागर गरेकाले अब देशलाई नयाँ ढंगले अगाडि बढाउने बाटो खोलेको उनले बताएका छन् ।

साउन २० गते स्थायी समिति बैठकमा समेत उनलाई ‘बाह्य शक्तिको आडमा मूल नेतृत्वविरुद्ध उत्रिएको’ आरोप शर्माममाथि लगाइएको थियो । सार्वजनिक रूपमा अध्यक्ष दाहालको कार्यशैलीको आलोचना गरेपछि स्थायी समितिमा आत्मालोचना गर्न अधिकांश स्थायी समिति सदस्यहरुको माग थियो । तर शर्माले आत्मालोचना नगरी आफनो भनाइ सार्वजनिक रूपमा नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए । जेन-जी विद्रोहपछि फेरि उनले अध्यक्ष दाहालको राजीनामा मागेका छन् । उनले राजीनामा मागे पनि त्यसले औपचारिकता भने पाएको छैन । जेन-जी विद्रोहपछि उत्पन्न परिस्थितिको ठोस विश्लेषण नहुँदै अध्यक्ष दाहालको राजीनामा माग्नु उचित नभएको सचिव देवेन्द्र पौडेलले बताए ।

‘अहिलेको परिस्थितिको समीक्षा हुनै बाँकी छ । अध्यक्षको राजीनामा मागिहाल्ने बेला भएको छैन,’ उनले भने, ‘आफ्नो मत कमिटीमा नराखी बाहिर आएको छ । कसैका मत राख्नेनै हो भने केन्द्रीय समिति, विशेष महाधिवेशनमा माग गरे हुन्छ । त्यहीबाट निष्कर्ष निकाल्न सकिन्छ ।’

पार्टीले औपचारिक निर्णय नगर्दै उपमहासचिव शर्माले सरकारलाई समर्थन गर्नुपर्ने बताएका छन् । उनले वर्तमान सरकारलाई सहयोग गर्दै निर्वाचनमा जाने वातावरण बनाउनुपर्ने उनको भनाइ छ । उनले सम्पत्ति छानबिनबारे विगतदेखि राखेको माग कार्यान्वयन गर्न स्वतन्त्र व्यक्तिको नेतृत्वमा आयोग गठन गर्नुपर्ने, २०४६ पछि पदमा बसेका सबै क्षेत्रका निवृत्तहरुको सम्पत्ति छानबिन र जेन-जी आन्दोलनमा जनधनको क्षतिबारे उच्चस्तरीय आयोग बनाउन उनले अन्तरिम सरकारसँग माग गरेका छन् ।

शासकीय नेतृत्व निर्वाचन प्रणाली प्रत्यक्ष निर्वाचितको मोडेलमा लैजानुपर्ने, वर्तमान निर्वाचन प्रणाली अन्त्य गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमार्फत संसद् निर्माण लागि राजनीतिक बहस प्रारम्भ गर्नुपर्ने उनको प्रस्ताव छ । ‘प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको कुरालाई जोडदार रुपमा उठाउनुपर्छ,’ उनको प्रस्ताव छ । उनले पार्टीभित्रका दलित महिलाका समस्या समाधानका लागि स्पष्ट दृष्टिकोण निर्माण गर्नुपर्ने, सहिद, बेपत्ता परिवार र घाइते योद्धा तथा अशक्त र वृद्धवृद्धाको संरक्षणसम्बन्धी नीति तय गर्नुपर्ने बताएका छन् ।

‘श्रम र आर्थिक उत्पादन सम्बन्धी पार्टीको नीति, योजना र कार्यक्रममार्फत सबैलाई स्वरोजगार बनाउन अभियान सुरु गर्नुपर्छ,’ उनको प्रस्ताव छ, ‘राष्ट्रियता गम्भीर संकटमा रहेकाले राष्ट्रियताको रक्षाका लागि सतर्कतापूर्वक पार्टीपंक्तिलाई सचेत राख्नुपर्छ ।’समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ ।

प्रतिक्रिया