बाग्मति प्रदेशमा ७ ओटा मात्रै मन्त्रालय बनाउने तयारी

विदुर खबर २०८२ असोज २८ गते १७:५५

नुवाकोट । बागमती प्रदेशमा मन्त्रालय संख्या घटाउन सत्तारुढ दुई दल नेपाली कांग्रेस र नेकपा एमाले सहमत भएका छन् ।

Advertisement

प्रदेश सरकारको नेतृत्व गरिरहेको कांग्रेस र साझेदार दल एमाले विगतमा पटक–पटक विभाजन गर्दै बढाएर दोब्बर पुर्‍याइएको मन्त्रालय संख्या लगभग आधा नै घटाउन सहमत भएका हुन् । २०७४ मा स्थापना हुँदा ७ वटा मन्त्रालयबाट काम थालेको बागमती सरकारमा २०७८ भदौदेखि मन्त्रालय विभाजनको रेखा कोरिएको थियो ।

त्यसयता पटक–पटक गरेर मुख्यमन्त्रीसहित १४ वटा मन्त्रालय पुर्‍याइको छ । बागमतीमा मुख्यमन्त्रीसहित कृषि तथा पशुपन्छी विकास, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार विकास, आन्तरिक मामिला तथा कानून, वन तथा वातावरण, खानेपानी, ऊर्जा तथा सिँचाई, स्वास्थ्य, सामाजिक विकास, श्रम, रोजगार तथा यातायात, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन र संस्कृति तथा पर्यटन मन्त्रालय छन् ।

Advertisement

गत २४ असोजमा हेटौंडामा भएको कांग्रेस र एमाले संसदीय दलको संयुक्त बैठकमा मन्त्रालय संख्या हेरफेरको विषय उठेको छ । आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संयुक्त संसदीय दलको बैठकमा प्रशासनिक पुन:र्संरचनाको विषयमा व्यापक छलफल भएको र मन्त्रालयहरू घटाउने विषय पनि उठेको जानकारी दिए । बैठकमा ७ वटा मन्त्रालय बनाउने प्रस्ताव कांग्रेस र एमालेबाटै आएको उनले बताए ।

संयुक्त बैठक अघि बसेको नेकपा एमाले संसदीय दलको बैठकले ७ वटा मन्त्रालय कायम गर्नुपर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई दलका नेता पूर्वआर्थिक मामिलामन्त्री जगन्नाथ थपलियाले संयुक्त बैठकमा प्रस्ताव गरेको एमाले सांसद आनन्द श्रेष्ठले जानकारी दिए । ‘कांग्रेस तयार रहँदा ७ वटा मन्त्रालयमा कायम हुनुपर्छ भनेर हाम्रो निर्णय छ । दलका नेताज्युले प्रस्ताव गर्नुभएको हो । कांग्रेस पनि सकारात्मक देखिएको छ,’ उनले भने ।

Advertisement

कुन–कुन मन्त्रालय समायोजन गर्ने भन्ने विषयमा विज्ञ टोलीसहित बसेर उच्चस्तरीय प्रशासनिक पुन:र्संरचना अध्ययन समितिले काम गर्दैछ । गत ३ असोजमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले प्रशासनिक पुन:र्संरचनाको लागि कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गर्ने निर्णय गरेको थियो ।

समितिमा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङ, वन तथा वातावरण मन्त्री भरत केसी, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री विन्दु श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णबहादुर शाही सदस्य र सदस्य सचिव उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल रहेका छन् ।

समिति संयोजक पौडेलले मन्त्रालय पुन:र्संरचनाको लागि उच्चस्तरीय समितिले काम गरिरहेको बताए । विज्ञ टोलीहरूसहित बसेर त्यसको टुंगो लगाइने उनको भनाइ छ । ‘मन्त्रालयहरूसँग विवरणहरू माग गरेका छौं, आइसकेको छैन । विज्ञसहित सबै पक्षसँग बसेर टुंग्याउँछौं,’ पौडेलले भने ।

समिति सदस्यसमेत रहेका आर्थिक मामिलामन्त्री प्रभात तामाङले समितिको प्रतिवेदन तयार भएपछि सरकारले निर्णय लिने विश्वास व्यक्त गरे । प्रतिवेदन आइसकेपछि सो उपर पछि निर्णय गर्नेगरी दुई दलको संयुक्त संसदीय दलले पनि कुनै निर्णय नगरेको उनको भनाई छ ।

मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पनि मन्त्रालय संख्या घटाउनुपर्ने पक्षमा छन् । उनी निकट स्रोतकाअनुसार गत २० साउनमा मुख्यमन्त्रीको पदभार ग्रहण गर्दै मन्त्रालय संख्या घटाउने निर्णय गर्न खोजेका उनी तत्काल रोकिएका थिए । प्रदेश सरकार स्थापनाको ८ वर्षपछि सम्पूर्ण प्रादेशिक संरचना कटौती र फेरबदलको गृहकार्य बानियाँ नेतृत्वको सरकारले गरिरहेको हो ।

सरकारले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूबीच पनि समन्वयमा प्रशासनिक पुन:र्संरचनाको निर्णय लिएको छ । मुख्यमन्त्री बानियाँको अध्यक्षतामा गत २ असोज साँझ बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलहरूको सर्वदलीय बैठकमा पनि प्रदेशभित्रका अनावश्यक संरचनाहरूको खारेजी, आवश्यकता देखिए मन्त्रालय संख्यामा पुनर्विचार गर्ने सिहमति भएको थियो ।

प्रतिक्रिया