रसुवाकी २७ वर्षीया सिर्जना अध्यक्षको प्रत्याशी

विदुर खबर २०७९ वैशाख १९ गते १२:१४

नुवाकोट । रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षको प्रत्याशी हुन्‚ २७ वर्षीया सिर्जना लामा । थुप्रै आकाङ्क्षीलाई पन्छाउँदै उनी स्थानीय तह निर्वाचनका लागि एमालेबाट अध्यक्षको उम्मेदवार बनेकी छन्।

Advertisement

नेकपा (एमाले) बाट उम्मेदवार बनेकी लामा नेपाली कांग्रेसका नुर्बु साङ्बो घलेसँग चुनावी प्रतिस्पर्धामा उत्रिएकी छन्। घले अघिल्लो कार्यकालका अध्यक्ष र लामा उपाध्यक्ष हुन्।

अध्यक्षको उम्मेदवारका लागि एमालेबाट ६-७ जनाले दाबी गरेका थिए। तर‚ लामा सर्वसम्मत चुनिइन्। “गाउँपालिकाको अध्यक्षको उम्मेदवार बन्न ६-७ जनाले दाबी गरेका थिए‚” उनले भनिन्‚ “तर‚ पार्टीका नेता र आकाङ्क्षीहरूसँग सल्लाह गरेपछि सर्वसम्मत उम्मेदवार भएँ।”

Advertisement

उपाध्यक्ष भएर काम गर्दा अध्यक्ष फरक पार्टीको भएकाले सोचे जस्तो काम गर्न नपाएको उनको भनाइ छ। “गएको कार्यकालमा अध्यक्षको पार्टी फरक भएकाले कतिपय काम गर्न सकिएन,” उनले भनिन्‚ “त्यसैले अधुरा काम पूरा गराउनकै लागि पार्टीले मलाई अध्यक्षको टिकट दिएको हो।”

‘नौकुण्डको पानी काठमाडौंमा बेच्ने’

Advertisement

लामासँग गाउँपालिकाका लागि गर्नुपर्ने कामको सूची लामो छ। जसमध्ये नौकुण्डको पानी प्रशोधन गरी काठमाडौंसम्म पुर्‍याउने मुख्य योजना रहेको उनले सुनाइन्। यस्तै‚ किसानलाई अनुदान र कृषिजन्य वस्तुको बजार व्यवस्थापन लगायत योजना पनि छन्।

महिलाका लागि सीपमूलक तालीम सञ्चालन गरी उद्यमी बनाउने, वैदेशिक रोजगारीमा गएका युवालाई सीप र योग्यता अनुसार गाउँमै काम दिने उनको योजना छ। युवाको भेला गरी उनीहरूको समस्या बुझेर कार्यक्रम निर्माण गर्ने, गाउँपालिकाभित्र रहेका सबै सडकलाई बाह्रै महीना सञ्चालनयोग्य बनाउने र मुख्य सडक कालोपत्रे गर्ने लामाको योजना छ। यस्तै‚ पुल निर्माण‚ पालिकाभित्र निर्माण हुने जलविद्युत् आयोजनालाई छिटै सम्पन्न गर्ने वातावरण मिलाउने उनी बताउँछिन्।

महिला सम्बन्धी विशेष कार्यक्रम पनि उनको योजनामा छ। स्वच्छ भान्सा तथा स्वस्थ जीवन कार्यक्रम सञ्चालन, गर्भवतीको स्वास्थ्य बीमा कार्यक्रम, हिंसामा परेका महिलाको उद्धार, कानूनी सहयोग तथा महिला संरक्षण कोष सञ्चालन गर्ने, विकासमा महिला समृद्धिमा पहिला कार्यक्रम सञ्चालन गर्ने योजना तयार पारेकी छन्।

स्कूलबाटै राजनीतिक यात्रा

उनी सानैछँदा विद्यार्थी राजनीतिमा लागेकी थिइन्। २०६५ सालमा कक्षा ८ मा पढ्दै गर्दा अनेरास्ववियूको प्रारम्भिक कमिटीमा संगठित भएको उनले बताइन्।

एमाले र नेकपा (माओवादी केन्द्र) एकीकरणपछि बनेको नेकपाको जिल्ला कमिटी सदस्य बनिन्। २०७८ सालमा युवा संघको केन्द्रीय सदस्य बनिन्। 

२०५४ सालमा उनका बुबा लवाङ नुर्पु लामा एमालेबाट वडाध्यक्षमा विजयी भएका थिए। तत्कालीन नेकपा (माओवादी) का कार्यकर्ताले नुर्पुलाई गाउँ पस्न नदिएपछि आमा र दिदीको सहारामा हुर्किएको लामा बताउँछिन्। उनी अहिले राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक (एलएलबी) अध्ययनरत छिन्। 

प्रतिक्रिया