सिजन सुरु भएसँगै नेपाली पर्यटक रसुवा भित्रन थाले

विदुर खबर २०७७ कार्तिक १४ गते १५:४२

रसुवा । पर्यटकीय सिजन सुरु भएसँगै रसुवाको पर्यटकीय क्षेत्रहरूमा नेपाली पर्यटक भित्रने क्रम सुरु भएको छ ।

Advertisement

कोभिड–१९ का कारण लामो समयदेखि पर्यटक आएका थिएनन् । गएको पुस महिनादेखि नै पर्यटकीय क्षेत्रहरू सुनसान बनेका थिए । अहिले पर्यटक आउन थालेपछि होटल तथा पर्यटन व्यवसायी उत्साहित भएका छन् । जिल्ला भित्रिएका पर्यटकहरू गोसाइँकुण्ड तथा लाङटाङ गइरहेका होटल तथा पर्यटन व्यवसायी संघ रसुवाले जनाएको छ । पर्यटनको मुख्य सिजन सुरु भएसँगै दैनिक डेड सयको हाराहारीमा पर्यटक जिल्लामा आइरहेका छन् । पर्यटक आउने क्रम सुरु भएसँगै गोसाइँकुण्ड, लाङटाङ तथा तामाङ सम्पदा मार्ग लगायतका क्षेत्रमा रहेका होटल, लज तथा चिया पसल खुलेका छन् । गोसाइँकुण्डमा दैनिक सय जनासम्म पर्यटक गइरहेका छन् ।

बाँकी पर्यटक लाङटाङ लगायत अन्य पर्यटकीय क्षेत्रमा पुग्ने गरेका छन् । जिल्लामा आउने पर्यटकहरू लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी , नागथली लगायतका क्षेत्रमा जाने गरेका छन् । सामुहिक रुपमा घुम्न मन पराउने युवाहरु न्युनतम दुई जनादेखि १५ जनासम्मको समूहमा आउने गरेका संघले जनाएको छ । स्वदेशी पर्यटकले न्यूनतम पाँच हजारदेखि १५ हजारसम्म खर्च गर्ने गरेका छन् ।

Advertisement

जिल्लाको पर्यटकीय क्षेत्रहरूमा पर्यटकको आगमन बढ्न थालेपछि व्यवसायीमा केही आसा पलाएको संघका अध्यक्ष निशान गजुरेलले बताउनुभयो । ‘लामो समय व्यवसाय ठप्प हुँदा व्यवसायीमा निरासा छाएको थियो’, ‘उहाँले भन्नुभयो, ‘अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित छन् ।’ पर्यटकीय जिल्ला रसुवामा धार्मिक, सास्कृतिक, प्राकृतिक, ऐतिहासिकस्थल हुनुका साथै विश्व कै दुर्लभ रेडपाण्डा, हिमचितुवा लगायतका जीवजन्तुको अध्ययन, अवलोकन गर्नका लागि स्वदेशी तथा विदेशी पर्यटक भित्रने गरेका छन् ।

प्रतिक्रिया