“हल्ला नगर्नु है” भन्दै भुजेल रास्वपा प्रवेश गरेको पुष्टि

विदुर खबर २०८३ मंसिर ६ गते ७:२१

नुवाकोट । बेलकोटगढी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष मदन भुजेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेको पुष्टि भएको छ ।

नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित तथा पार्टीका महाधिवेशन प्रतिनिधि समेत रहेका भुजेलले पछिल्लो समय रास्वपाको सदस्यता लिएको च्याट र भुक्तानी विवरणमार्फत खुलेको छ ।

प्राप्त म्यासेन्जर संवादअनुसार भुजेलले सदस्यताका लागि आवश्यक नागरिकताको अगाडि–पछाडिको फोटो, पासपोर्ट साइजको तस्बिर, मोबाइल नम्बर र भोटर कार्डको विवरण पठाएको देखिन्छ । साथै, उनले सदस्यताबापत रु. १,००० भुक्तानी गरेको रसिद समेत आदानप्रदान भएको छ ।

रास्वपाको परिचयपत्रमा मदन भुजेलको नाम, बेलकोटगढी–५ (नुवाकोट) र सदस्यता लिएको मिति मिति २०८३–०८–२८ उल्लेख छ । परिचयपत्र साझा गर्ने क्रममा भुजेलले “हल्ला नगर्नु है” भन्दै गोप्य राख्न आग्रह गरेको संवादमा देखिन्छ ।

यता, नेपाली कांग्रेसको जिल्ला अनुशासन समितिले यस विषयमा स्पष्टीकरण सोधेपछि भुजेलले भने सामाजिक सञ्जालमार्फत आफूले अन्य कुनै दलको सदस्यता नलिएको दाबी गरेका छन् ।

उनले आफूमाथि लागेको आरोपलाई राजनीतिक चरित्र हत्या गर्ने र प्रतिष्ठा धुमिल पार्ने नियोजित प्रचारको संज्ञा दिँदै निष्पक्ष छानबिन गर्न माग गरेका छन् ।

कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र महाधिवेशन प्रतिनिधि समेत रहेका भुजेलले भित्रभित्रै रास्वपाको सदस्यता लिएको प्रमाण बाहिरिए पनि सार्वजनिक रूपमा अस्वीकार गरेपछि बेलकोटगढीको स्थानीय राजनीतिमा चासो र बहस चुलिएको छ ।

भुजेलले रास्वपाका नगर सभापति मनोहर पन्तसँग सामाजिक संजाल फेसबुकमा गरेको कुराकानी ।

प्रतिक्रिया