एक सातामा साढे २ हजार गोसाईकुण्ड आए

रसुवा, एक सातामा २ हजार २ सय ३४ तीर्थयात्रीले गोसाईकुण्ड मेला भरेका छन् । जसमा धुन्चे हुँदै १ हजार ६ सय ९७ र सुन्दरीजल हुँदै ५ सय २७ तीर्थयात्री गोसाईकुण्ड पुगेका गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाले जनाएको छ ।
यो नेपाली सेनाको चोलाङपाटी र कुटुमसाङ पोष्टले सङ्कलन गरेको तथ्याङ्क हो । गत वर्षदेखि नेपाली सेनाले तीर्थयात्रीको विवरण राख्दै आएको छ । यस पटक १० जना विदेशीले मेला भरेका समितिले जनाएको छ । दैनिक २ सय भन्दा बढी तीर्थयात्री आइरहेका छन् । बिहीबारदेखि तीर्थयात्रीको आगमन बढेको हो । यो वर्ष कम वर्षा भएको कारण पदमार्ग सुरक्षित छ । रसुवाखण्डको कुनै पनि स्थानमा पहिरो झरेको छैन । समितिले १५ हजार आउने बताएपनि सो लक्ष्य पूरा नहुने देखिएको छ । मेला यही साउन ३० गते सकिन्छ ।
पौराणिक कथन अनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुन्द्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालयखण्डको काखमा आएर गोसाईवावा भगवान शिवशंकरले आफ्नो हातमा भएको त्रिशुलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात त्रिशूलधाराको उत्पति भई त्रिशुलधाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ । जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाईकुण्डमा जनैपूर्णिमा र गगांदशहरा गरि वर्षको दुई पटक तीर्थयात्रीहरुले मेला भर्ने गरेका छन् ।
प्रतिक्रिया