विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह

विदुर खबर २०८३ असोज ५ गते ६:३१

नुवाकोट । भदौ १० गतेको बाढीपछि निरन्तर भइरहेको नदी कटानका कारण विस्थापित बनेका परिवारहरूलाई नुवाकोटको तारकेश्वर गाउँपालिकाले प्रतिपरिवार ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।

Advertisement

बाढी तथा नदी कटानबाट घरमा आंशिक वा पूर्ण रूपमा क्षति पुगी बस्न अयोग्य भएका परिवारहरूलाई गाउँपालिकाले उक्त राहत दिन लागेको हो। गाउँपालिकाका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे स्थलगत अवलोकन गरेपछि उहाँको निर्देशनमा गाउँपालिकाले यस्तो निर्णय गरेको हो।

निर्णय भएसँगै लक्षित विस्थापित परिवारहरूलाई यथाशीघ्र आफ्नो नागरिकताको प्रतिलिपि, परिवार संख्याको विवरण र सम्बन्धित वडा कार्यालयको सिफारिससहित गाउँपालिकामा सम्पर्क गर्न आग्रह गर्दै सूचना जारी गरिएको छ।यसअघि पनि गाउँपालिकाले भदौ १० को मुख्य बाढीबाट विस्थापित भएका वडा नं. २ र ४ का १० प्रभावित परिवारलाई प्रतिपरिवार ५० हजार रुपैयाँका दरले कुल ५ लाख रुपैयाँ राहत रकम हस्तान्तरण गरिसकेको छ।

Advertisement

यसैगरी, गाउँपालिकाले अन्तर्राष्ट्रिय संस्था युनिसेफ (UNICEF) सँगको सहकार्यमा बाढीबाट आंशिक रूपमा प्रभावित भएका अन्य परिवारहरूलाई पनि प्रतिपरिवार १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको छ।

अध्यक्ष शिव अधिकारीले दुवै तहका राहत कार्यक्रमहरू पारदर्शी र प्रभावकारी बनाउनका लागि प्रभावित वडाका वडाध्यक्षहरूलाई लक्षित परिवारहरूको यथाशीघ्र प्रमाणीकरण गर्न निर्देशन दिनुभएको छ।

Advertisement

वडाबाट प्रमाणीकरण तथा सिफारिस भई आएका विवरणहरूलाई गाउँ विपद् व्यवस्थापन समिति समक्ष पेस गरी राहत रकम वितरण प्रक्रिया अघि बढाइने गाउँपालिकाले जनाएको छ।

प्रतिक्रिया