श्रीलंकालाई जितका लागि ३३५ रनको लक्ष्य

विदुर खबर २०७६ जेठ ३२ गते १३:१८

एजेन्सी । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले श्रीलंकालाई जितका लागि ३३५ रनको फराकिलो लक्ष्य दिएको छ ।

Advertisement

लण्डनमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर ३३४ रन बनायो । अष्ट्रेलियाको फराकिलो स्कोरमा कप्तान आरोन फिन्चले शतकीय इनिङ्स खेले । फिन्चले १५३ रन बनाए । यस्तै स्टिभ स्मिथले ७३ रनको अर्धशतकीय इनिङ्स खेल्दा ग्लेन म्याक्सवेलले अविजित ४६ रन बनाए । डेभिड वार्नर २६ रनमा आउट भए ।

श्रीलंकाका इशुरु उडाना र धनन्जय डी सिल्भाले २/२ विकेट लिए । केनिङटन मैदानमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् । दुवै टिम जित निकाल्दै शीर्ष चारको होडलाई कायम राख्न चाहन्छ । निकै बलियो टोली अष्ट्रेलिया चौंथो जित निकाल्न चाहन्छ । तर, अष्ट्रेलिया श्रीलंकासंग सजग भएर मैदान उत्रनेछ । किनकी श्रीलंकाले पनि आफुलाई उत्कृष्ट साबित गर्दै आएको छ ।

Advertisement

अष्ट्रेलियाले ४ खेलमा ३ जित र १ हारसहित ६ अंक जोडेको छ । अष्ट्रेलिया अंक तालिकाको तेस्रो स्थानमा रहेको छ। यता, श्रीलंका विश्वकपमा दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । ४ खेलमा १ जित, १ हार र २ बराबरी खेलेको श्रीलंकाको ४ अंक छ ।श्रीलंका अष्ट्रेलियालाई स्तब्ध बनाउँदै आफुलाई शीर्ष चारको दाबेदारीको रुपमा प्रस्तुत गर्न चाहन्छ । दुई बीचको पछिल्लो भेटमा भने अष्ट्रेलिया बलियो देखिन्छ । पछिल्लो पाँच भेटमा अष्ट्रेलियाले ४ जित निकालेको छ । श्रीलंकाले १ खेलमा जित निकालेको छ ।

प्रतिक्रिया