मनाङले नुवाकोट गोल्डकप खेल्ने पक्का,प्रतियोगिता जेठ २० देखि

विदुर खबर २०७६ जेठ १८ गते १:१४

नुवाकोट जेठ १८, गत बर्षको ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले नुवाकोट गोल्डकप खेल्ने भएको छ ।

Advertisement

एएफसी कपको समुह चरणमा प्रतिस्पर्धा गरिरहेको मनाङले मोफसलको प्रतियोगिता नुवाकोट गोल्डकपमा सहभागिता जनाउने भएको हो । मनाङका महासचिव अनिल गुरुङले दोस्रो रोजाईका खेलाडी समावेश गर्दै नुवाकोट गोल्डकप खेल्ने खेलपाटीलाई बताए । ‘पहिलो रोजाईका अधिकांश खेलाडी राष्ट्रिय टिममा छन् । त्यसैले दोस्रो रोजाईका खेलाडी लिएर हामी नुवाकोट गोल्डकप खेल्ने जानेछौ ।’ उनले भने ।

एएफसी कपको आगामी खेलका लागि पर्याप्त समय रहेको उल्लेख गर्दै मनाङले मोफसलका प्रतियोगितामा सहभागिता जनाउन लागेको हो । एएफसी कपको तयारीका लागि भन्दै मनाङले अघिल्लो सिजन झापा गोल्डकप लगायतका मोफसलका प्रतियोगिता अन्तिम समयमा आएर रद्व गरेको थियो । मनाङले एएफसी कपमा अब दुई खेल खेल्न बाँकी छ । मनाङले ढाका अवहानीसंग उसैको मैदानमा र चेन्नेईनसंग आफ्नो घरेलु मैदानमा खेल्नेछ ।

Advertisement

दोस्रो संस्करणको नुवाकोट गोल्डकप प्रतियोगिता जेठ २० देखि २९ गतेसम्म सञ्चालन हुदैछ । यस पटक प्रतियोगितामा १० टिम सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा मनाङ सहित च्यासल, संकटा, चन्द्रागिरी टिम, आयोजक नुवकोट र चितवन ११ ले खेल्ने पक्का भईसकेको छ । अन्य दुई टिमको टुङ्गो लाग्न बाँकी रहेको एन्फाका केन्द्रिय सदस्य तथा प्रतियोगिता व्यवस्थापक पुर्णमान चित्रकारले बताए । अघिल्लो संस्करणको प्रतियोगिताको उपाधि पुलिसले जितेको थियो । उसले उपाधि भिडन्तमा थ्री स्टारलाई पराजित गरेको थियो ।

प्रतिक्रिया