चण्डी माविका १२० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण

विदुर खबर २०८३ मंसिर ७ गते ९:५६

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–४ स्थित चण्डी माध्यमिक विद्यालयमा अध्ययनरत १२० जना विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ ।

लक्ष्मी सपोर्ट फाउन्डेसनको सहकार्य तथा तारकेश्वर गाउँपालिका–४ का वडा सदस्य रामकाजी थापा (स्वर्णिम) को विशेष पहलमा विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सामग्री प्रदान गरिएको हो ।

चिसो मौसम सुरु भएसँगै विद्यार्थीलाई जाडोबाट जोगाई नियमित पठनपाठनमा सहजता प्रदान गर्ने उद्देश्यले उक्त सहयोग उपलब्ध गराइएको जनाइएको छ । न्यानो कपडा र आवश्यक शैक्षिक सामग्री पाएपछि विद्यार्थी तथा अभिभावकहरू खुसी व्यक्त गरेका छन् ।

कार्यक्रममा वडा सदस्य थापाले आगामी दिनमा पनि शिक्षा, सामाजिक सेवा तथा विद्यार्थीको हितमा यस्ता सहयोगमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यार्थीको शैक्षिक यात्रा र स्वास्थ्य सुरक्षामा टेवा पुर्‍याउने यस मानवीय कार्यप्रति आयोजक संस्था लक्ष्मी सपोर्ट फाउन्डेसन, पहलकर्ता रामकाजी थापा (स्वर्णिम) लगायत सम्पूर्ण सहयोगी हातहरूप्रति धन्यवाद व्यक्त गरिएको छ ।

प्रतिक्रिया