कसले जित्ला एकदिवसीय विश्वकपको उपाधि?

विदुर खबर २०७६ जेठ १६ गते २:३४

नुवाकोट जेठ १६, एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारबाट सुरु हुँदैछ। आयोजक इंग्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। उद्घाटन खेल दिउँसो सवा ३ बजे लन्डनस्थित ओभलमा हुनेछ। इयान मोर्गानको कप्तानीमा उत्रने इंग्लिस टिम एकदिवसीय वरीयताको शीर्ष स्थानमा छ। त्यसैले इंल्यान्डलाई प्रतियोगिताको बलियो र दाबेदारको रुपमा लिइएको छ। इंल्यान्डलाई विश्वका अन्य उत्कृष्ट ९ टिमले कडा टक्कर दिनेछन्।

Advertisement

साविक विजेता अस्ट्रेलियासहित इंग्ल्यान्ड, अफगानिस्तान, बंगलादेश, भारत, न्युजिल्यान्ड, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका र वेस्ट इन्डिजले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। ११ वटा मैदानमा हुने खेल इंग्ल्यान्ड र वेल्समा संचालन हुनेछन्। १० टिम एकआपसमा लिग चरणमा भिड्नेछन्।  विश्वकपको लिग चरणमा ४५ खेल हुनेछन्। शीर्ष चार टिम सेमिफाइनलमा पुग्नेछन्। आयोजकले विश्वकपका लागि उपलब्ध ८ लाख टिकट मध्ये ९५ प्रतिशत टिकट बिक्रि भइसकेको जनाएको छ। जसमा १ लाख ५० हजार टिकट महिला र बालबालिकाका लागि छुट्याइएको छ। २ लाख ५० हजार टिकट दक्षिण पूर्वी एसियाका समर्थकले किनेको आयोजकको भनाइ छ।

चार वर्षअघि भएको विश्वकपमा अहिलेको दाबेदार टिम इंग्ल्यान्ड समूह चरणबाटै बाहिरिएको थियो। गत संस्करणको विश्वकपमा पहिलो चरणबाट बाहिरिएको इंग्ल्यान्डको ब्याटिङ लाइन अप अहिलेसम्मकै बलियो मानिएको छ। पछिल्लो चार वर्षमा इंग्ल्यान्डले २ पटक उच्च रन बनाउने टिमको रेकर्ड भंग गरेको थियो। सन् १९९२ पछि पहिलो पटक सबै टिम सेमिफाइनल र फाइनलअघि भिड्न लागेका हुन्। यस्तै सन् १९९२ पछि कम टिमबीच प्रतिस्पर्धा हुन लागेको हो। चार वर्षअघि १४ टिमबीच भिडन्त भएको थियो। तर यसपटक १० टिमलाई मात्र स्थान दिँदा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) को चर्को आलोचना भइसकेको छ।

Advertisement

सन् २००३ पछि आयरल्यान्ड विश्वकपमा सहभागी छैन। यता वेस्ट इन्डिजले विवादास्पद खेलमा स्कटल्यान्डलाई हराएर विश्वकपमा स्थान बनाएको हो।

Advertisement

इंग्ल्यान्डपछि अस्ट्रेलिया अर्को दाबेदार टिम हो। अस्ट्रेलियाले पछिल्ला पाँच मध्ये चार विश्वकपको उपाधि जितेको छ। बल टेम्परिङ काण्डमा दोषि पाइएका डेभिड वार्नर र स्टिभ स्मिथ अस्ट्रेलियाको टिममा फर्किएका छन्। जसले अस्ट्रेलियालाई ठूलो राहत दिएको छ।  भारत एकदिवसीय विश्वकप वरीयताको दोस्रो स्थानमा रहेको टिम हो। भारतीय टिमका कप्तान विराट कोहली एकदिवसीय खेलमा जीवनकै उत्कृष्ट लयमा छन्। उनले चार वर्षको अविधिमा १९ एकदिवसीय शतक प्रहार गरिसकेका छन्।

पाकिस्तानले २ वर्षअघि इंग्ल्यान्डमै आयोजना भएको च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। तर विश्वकपअघि इंग्ल्यान्डसँग भएको पाँच खेलको एकदिवसीय सिरिजमा पाकिस्तानले नमिठो झड्का बेहोर्यो। सिरिजमा पाकिस्तान ४–० ले पराजित भएको थियो। वर्मअप खेलमा वेस्ट इन्डिजले उत्कृष्ट प्रदर्शन गरेको छ। मजबुत योगफल तयार गर्न सक्न वेस्ट इन्डिजलाई रोक्न गाह्रो छ। यता दक्षिण अफ्रिका र न्युजिल्यान्डका लागि पनि यसपटक अवसर छ। अहिलेसम्म विश्वकप जित्न नसकेका दुवै टिम इतिहास रच्न आतुर छन्।  विश्वकपअघि बंगलादेश, श्रीलंका र अफगानिस्तान कमजोर देखिएका छन्। तर विश्वका उत्कृष्ट १० टिममा परेर छानिएका उनीहरुलाई कमजोर आँक्ने भूल विपक्षी टिमले गर्नेछैनन्।

को–को पुग्लान् सेमिफाइनल?
इंग्ल्यान्डका पूर्व कप्तान माइकल भनले इंग्ल्यान्डलाई घरेलु मैदानमा फाइदा पुग्ने बताए। उनले इंग्लिस टिम विश्वको एक नम्बर भएकाले सेमिफाइनलमा पुग्ने बताए।  उनले अस्ट्रेलिया पनि सेमिफाइनल पुग्ने विश्लेषण गरे। स्टिभ स्मिथ र डेभिड वार्नर टिममा फर्कनु र राम्रो बलिङ हुनु अस्ट्रेलियाको बलियो पक्ष भएको बताए।

यस्तै भारत पनि सेमिफाइनल पुग्ने उनको भनाइ छ। उत्कृष्ट ब्याट्सम्यान विराट कोहली र बलर जसप्रित बुमराहले भारतलाई सेमिफाइनलमा पुर्याउने उनको भनाइ छ। सेमिफाइनलमा पुग्ने चौथो टिम पाकिस्तान हुने पूर्व कप्तान भनको दाबी छ।

यता कमेन्टेटर सिमन मन इंग्ल्यान्ड, अस्ट्रेलिया र भारतले सेमिफाइनलमा पुग्ने विश्लेषण गर्छन्। चौथो टिम जो पनि हुन सक्ने उनको भनाइ छ। उनले श्रीलंका र अफगानिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना नरहेको बताए। उनले वेस्ट इन्डिज वा बंगलादेश मध्ये एक टिमले सेमिफाइनलमा स्थान बनाएको हेर्न चाहेको बताए।

उनले एसियन टिमले पछिल्ला दुई च्याम्पिन्यस ट्रफीको उपाधि जितेको उदाहरण प्रस्तुत गर्दै भारतले विश्वकप जित्ने दाबी गरे। पछिल्लो पटक पाकिस्तान तथा त्यसअघि भारतले च्याम्पियन्स ट्रफीको उपाधि जितेका थिए।

क्रिक इन्फोका जर्ज डोबेल इंग्ल्यान्ड, अस्ट्रेलिया, भारत र न्युजिल्यान्ड सेमिफाइनलमा पुग्ने विश्लेषण गर्छन्। उनले वेस्ट इन्डिज र दक्षिण अफ्रिकालाई खतरनाक टिमको संज्ञा दिए। अफगानिस्तान, श्रीलंका र बंगलादेशले विश्वकपमा संघर्ष गर्ने उनको विश्लेषण छ। विश्लेषक नाटाली जर्मोन्सले भारत, इंग्ल्यान्ड, पाकिस्तान र दक्षिण अफ्रिकाले सेमिफाइनलमा स्थान पक्का गर्ने बताइन्। उनले भारतको ब्याटिङ लाइनअप उत्कृष्ट भएको र बलरले विपक्षीलाई दबाब दिन सक्ने क्षमता राख्ने बताइन्। इंग्ल्यान्ड पनि सन्तुलित म भएको बताइएकी उनले च्याम्पियन्स ट्रफी जितेको पाकिस्तानले अन्तिम चारमा स्थान पक्का गर्ने बताइन्।

प्रतिक्रिया