केरुङ जानका लागि चालक र सहचालकलाई एक वर्षे पास दिने तयारी

विदुर खबर २०७५ माघ २२ गते ७:४६

रसुवा, चीनको केरुङ जानका लागि चालक र सहचालकलाई एक वर्षे पास दिने तयारी भएको छ ।

Advertisement

चीनसँग सीमा जोडिएका जिल्ला बाहेकका जिल्लाका राहदानी बाहक चालक तथा सहचालकलाई केरुङ प्रवेशका लागि एक वर्षे अस्थायी प्रवेश अनुमति दिन लागिएको हो । सामग्री आयात तथा निर्यातमा सहज बनाउनका लागि अस्थायी अनुमति दिने बारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका उपसिचिव रोसन खनालले बताइन् । ‘चालक तथा सहचालकलाई अस्थायी अनुमति दिने बारेमा हामी छलफल गरिरहेका छौँ, उनले भनिन्, एक वर्षे पास दिन सकेमा धेरै राम्रो हुन्छ ।’

कति समयको अनुमति दिन सकिन्छ भन्नेमा निर्णय भइ नसकेको उनको भनाइ छ । चिनियाँ अधिकारीले एक वर्षे पास दिन तयार भएको रसुवाका प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए । ‘हामीले चीनको तिब्बतका अधिकारीसँग छलफल गरिरहेका छौँ, उनले भने, चिनियाँ पक्षले तत्कालै पास दिन सकिने बताएका छन् ।’ केरुङ फ्रन्टायर इन्सपेक्सन स्टेसन, पिपुल रिपब्लिक चाइनाले उक्त जानकारी दिएको उनले बताए । १५ दिने अनुमति दिँदा झन्झटिलो हुने भएकाले चिनियाँ पक्ष एक वर्षे अनुमति दिन तयार भएको हो, उनले थपे । चीनसँग सिमाना जोडिएका जिल्ला बाहेकका अन्य जिल्लाका चालकलाई अध्यामगन कार्यालय रसुवागढीको सिफासिमा चिनियाँ अध्यागमनले अस्थायी अनुमति दिने छ ।

Advertisement

जिल्ला बाहिरको व्यापारी, चालक तथा सहचालक केरुङसम्म जान नपाउँदा कारोबारमा कठिनाइ हुने गरेको व्यापारी बुद्धराज बस्नेतले बताए । ‘बाहिरको चालक र सहचालकलाई अस्थायी प्रवेश अनुमति दिने भनिएको थियो, उनले भने, यसको काम चाँढै भए हुन्थ्यो ।’व्यापारमा सहजीकरण गर्नका लागि अस्थायी प्रवेश अनुमति दिने निर्णय भएको भएपनि चिनियाँ पक्षले आधिकारिक पत्र नपठाएको कारण पास दिने काम सुरु नभएको अध्यागमन अधिकृत बिष्णु घर्तीले बताए । ‘अनुमति दिने सहमति भएको छ, उनले भने, तर कुन मेकानिजम अपनाएर अनुमति दिने भन्ने निर्णय उनीहरूले गर्नुपर्छ ।’

चीनको केरुङसम्म नेपालीहरूको सहज प्रवेश अनुमतिको व्यवस्था गरी अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ । रसुवाका नागरिकले भने एक वर्षका लागि नेपाल चीन आगमन प्रस्थान अनुमति पत्र (चाइना पास) पाउने गरेका छन् । चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासन, इलाका प्रशासन, सीमा प्रशासन वा अध्यागमन कार्यालयबाट एक वर्षे पास पाउँछन् । नेपाल चीन सीमा क्षेत्रमा बस्ने नागरिकलाई चीन सरकारले दिँदै आएको एक वर्षे प्रवेशाज्ञा रसुवाका ९ हजार ९ सय १६ ले पाएका छन् । यो २०७२ असोज २८ गतेदेखि यही माघ १७ गतेसम्मको तथ्याङ्क हो ।रसुवागढी नाका सञ्चालनमा आएपछि रोजगारका लागि केरुङ जाने व्यापारी, व्यावसायी र चालक बढ्दै गएका छन् ।

Advertisement

 

प्रतिक्रिया