पहिलो एकदिवसीयमा अस्ट्रेलियाद्वारा भारत पराजित

विदुर खबर २०७५ पुष २८ गते १३:१२

भारत विरुद्धको पहिलो एकदिवसीय खेलमा घरेलु टिम अस्ट्रेलियाल विजयी भएको छ। शनिबार सिड्नीमा भएको खेलमा अस्ट्रेलियाले भारतलाई ३४ रनले पराजित गरेको हो।

अस्ट्रेलियाले दिएको २ सय ८९ को लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ५४ रन मात्र जोड्यो। भारतका ओपनर रोहित शर्माले शतक प्रहार गरे पनि जितका लागि पर्याप्त हुन सकेन। रोहितले १ सय २९ बल खेलेर १ सय ३३ रनको योगदान दिए। उनले १० चौका र ६ छक्का हिर्काए। त्यसअघि भारतले चौथो ओभर चल्दा महत्वपूर्ण ३ विकेट गुमाएको थियो। भारतका शिखर धवन र अम्बाती रायदु खाता नै खोल्न नपाइ आउट हुँदा कप्तान विराट कोहली ३ रनमा आउट भएका थिए। जसले गर्दा भारलते ३.५ ओभरमा ४ रन जोड्दा ३ विकेट गुमाएको थियो।

त्यसपछि मैदान प्रवेश गरेका महेन्द्रसिंह धोनीले रोहितसँग चौथो विकेटका लागि १ सय ३७ रनको साझेदारी गरेका थिए। धोनी ५१ रन जोडेर आउट भए। बलिङमा अस्ट्रेलियाका जे रिचार्डसनले ४ विकेट लिए। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ५० ओभरमा ५ विकेट गुमाएर २ सय ८८ रन जोड्यो। अस्ट्रेलियाका उसमान खावाजाले ५९, साउन मार्सले ५४ र पिटर ह्यान्ड्सकमले ७३ रन जोडेका थिए।

जितसँगै ३ खेलको सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता लिएको छ।

Advertisement

प्रतिक्रिया