महिला टी–२० : चीनमाथि नेपालको सानदार जित

विदुर खबर २०७५ पुष २८ गते १३:११

थाइल्याण्डमा सुरु महिला टी–२० स्मास क्रिकेट प्रतियोगिता नेपालले सानदार सुरुवात गरेको छ।

समूह ‘ए’ को खेलमा नेपालले चीनलाई १० विकेटको फराकिलो अन्तरले पराजित गरेको हो। चीनले दिएको ४९ रनको लक्ष्य नेपालले विकेट नगुमाइ ८.४ ओभरमा पार गर्‍यो। नेपालको जितमा काजल श्रेष्ठ र नटआउट १४ रन र सीता रानामगरले नटआउट २४ रन जोडे। काजलले १९ बलमा १ चौका र सीताले २५ बलमा ३ चौका हिर्काए। त्यसअघि टस जितेको नेपालले फिल्डिङ गर्ने निर्णाय गरेपछि पहिले ब्याटिङ गरेको चीनले २० ओभरमा ६ विकेट गुमाएर ४८ रन मात्र जोड्न सक्यो। उसका लागि ओपनर झाङ चानले सबैभन्दा बढी १३ रन जोडिन्। उनले ३८ बलमा  १ चौका हिर्काइन्। अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बलिङमा नेपालकी करुणा भण्डारीले ३ विकेट हात पारिन्। नेरी थापाले २ विकेट लिँदा सीता रानामगरको नाममा १ विकेट रह्यो। प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड पुगिसकेको थियो। उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् सुरुआत गर्ने मुख्य प्रशिक्षक विनोद दासले बताएका थिए। नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी छन् ।

रुविना क्षेत्री (वेलवासे)को कप्तानीमा रहेको नेपाली टोलीमा सीता राना मगर (उपकप्तान), करुणा भण्डारी, सरिता मगर, नेरी थापा, इन्दु बर्मा, सोनु खड्का, आरती विडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर, डोली भट्ट, ममताकुमारी चौधरी र विन्दु रावल तथा वैकल्पिक खेलाडीमा रितुकुमारी कनोजिया, सुमन विष्ट र सब्नम राई छन् । उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभगिता रहेको छ। सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स (युएई), मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भूटान र म्यान्मा छन्।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन्।

Advertisement

प्रतिक्रिया