काठमाडौंलाई हराउँदै भैरहवा फाइनलमा, उपाधिका लागि ललितपुरसँग भिड्ने

विदुर खबर २०७५ पुष ५ गते १०:१८

काठमाडौं– भैरहवा ग्लाडिएटर्स एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। बिहीबार कीर्तिपुरस्थित टियू मैदानमा भएको दोस्रो क्वालिफायर्समा काठमाडौं किंग्स ११ लाई ६ विकेटले पराजित गर्दै भैरहवाले फाइनलमा स्थानमा पक्का गरेको हो।

Advertisement

अब उपाधिका लागि भैरहवा र ललितपुर प्याट्रिओट्सबीच आगामी शनिबार प्रतिस्पर्धा हुनेछ।बिहीबार टियू मैदानमा काठमाडौंले दिएको १ सय १ रनको लक्ष्य भैरहवाले १७ ओभरमा ४ विकेटको क्षतिमा पार गर्यो।

भैरहवाका लागि रायन टेन डोकास्टेले सबैभन्दा बढी ४५ रन जोडे। उनले ३८ बलमा ५ चौका हिर्काए। यस्तै रवि इन्दर सिंह ३१ रनमा आउट भए। उनले १९ बलमा ३ चौका र १ छक्का हिर्काए। कप्तान शरद भेषवकार ६ रन र रोहितकुमार पौडल ९ रनमा नआउट रहे। भैरहवाका ओपनर प्रदीप ऐरी ३ रनमा रनआउटको सिकार भए। उनलाई सिद्धान्त लोहनीले रनआउट गरेका थिए। आरिफ शेख ५ रन बनाएर खेलिरहदा मोहमद सांसद शेखको एलबिडब्लूको धरापमा परेका थिए।बलिङमा काठमाडौंका सांसद शेखले २ र पर्दिप साहुले १ विकेट लिए। 

Advertisement

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौं पूरा २० ओभर खेल्दा १ सयमा अलआउट भयो। खराब ब्याटिङको नमुना प्रस्तुत गरेको काठमाडौंका लागि पहिलो खेलेका सन्दीप रजालीले सबैभन्दा बढी २७ रन जोडे। उनले २६ बलमा १ चौका र १ छक्का प्रहार गरे। पर्दिप साहुले २५ रन जोडे भने ओपनर अमित श्रेष्ठले १३ रन बटुले। अमितले ३२ बलमा १ चौका हिर्काउदा पर्दिपले २२ बलमा ३ चौका प्रहार गरे। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

बलिङमा भैरहवाका कुशल मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। मोहमद नावीदले २ विकेट लिन सफल भए। उनले पनि ४ ओभरमा २० रन दिए। शरद भेषवकार र अभिनास बोहोराको नाममा २-२ विकेट रह्यो।

Advertisement

प्रतिक्रिया