शिवपुरीको जंगलमा गाडेको अवस्थामा भेटियो महिलाको शव, एक पुरुष पक्राउ

विदुर खबर २०८३ वैशाख २२ गते १९:२२

नुवाकोट । टोखा नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जको जंगलभित्र एक महिलाको हत्या गरी गाडेको अवस्थामा शव भेटिएको छ ।

Advertisement

गत वैशाख ११ गतेदेखि हराएकी महिलाको हत्या भएको खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले बताए । तारकेश्वर नगरपालिका–३ तीनपिप्ले घर भएकी ४५ वर्षीया महिला सरिता तिवारी बजार जान्छु भन्दै ११ वैशाखमा घरबाट निस्केकी थिइन् ।

उनी बेलुकासम्म घर नफर्केपछि आफन्तले १२ वैशाखमा प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरीले खोजी तथा अनुसन्धान सुरु गरेको थियो ।

Advertisement

तिवारीसँग अर्को एक व्यक्तिको सम्पर्क देखिएपछि प्रहरीले सोमबार ती व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । सोमबार प्रहरीले टोखा नगरपालिका–२ का ३५ वर्षीय अनिल डंगोललाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो ।

नियन्त्रणमा लिएका डंगोलले नै शिवपुरीको जंगलमा हत्या गरेर फालेको बताएका थिए । त्यसपछि डंगोललाई लिएर प्रहरी जंगल पुग्दा सड्न थालेको अवस्थामा महिलाको शव भेटिएको हो ।

Advertisement

एसपी भट्टराईका अनुसार हत्या गरेर गाडेको अवस्थामा शव भेटिएको हो । अहिले उक्त शव पोष्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । हत्याको कारणबारे भने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया