नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम

विदुर खबर २०८३ वैशाख २० गते २०:२२

नुवाकोटको तारकेश्वर गाउँपालिकामा आइतबारको बिदा र ९ बजे देखिको कार्यालय समय प्रभावकारी नदेखिएपछि कार्यालयहरू पूर्ववत् रूपमा सञ्चालन हुने भएको छ ।

Advertisement

दुई साताको अध्ययन र सेवाग्राहीहरूको सुझावबाट आइतबारको बिदा र ९ बजेदेखिको कार्यालय समय प्रभावकारी नहुने देखिएपछि गाउँपालिका अध्यक्ष शिव अधिकारीको प्रस्तावमा आइतवार बसेको गाउँ कार्यपालिकाको आकस्मिक बैठकले तारकेश्वरका कार्यालयहरू पूर्ववत् रूपमा १० बजेदेखि ५ बजेसम्म नै कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

संघीय सरकारको नीति अनुरुप सातामा दुई दिन कार्यालय बन्द गर्दा सेवाग्राहीहरूमा निराशा बढेको र आइतबारको बिदाको समयको परिपूरणका लागि बिहान थप गरिएको एक घन्टाको समय ग्रामीण भेगका जनताहरुका लागि अनुकूल नभएको भनी जनताबाट आएका गुनासाहरूलाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताए ।

Advertisement

अध्यक्ष अधिकारीका अनुसार, दुई साताको अभ्यासबाट प्राप्त अनुभव र सेवाग्राहीहरूको सुझावका आधारमा ३ बुँदे निष्कर्ष सहित आगामी मंगलबारदेखि लागू हुने गरी गाउँपालिका मातहतका सम्पूर्ण कार्यालयहरू पूर्ववत् रूपमा साताको ५ दिन नै सञ्चालन हुने र कार्यालय समय बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म नै कायम हुने निर्णय गरिएको छ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ ले दिएको अधिकार प्रयोग गरी आफू मातहतका कार्यालयहरू पूर्ववत् रूपमै सञ्चालन गर्ने निर्णय गरेको बताउँदै अध्यक्ष अधिकारीले मंगलबारदेखि नै सोही अनुरुप सेवा सञ्चालन गर्न माताहतका कार्यालय, शाखा र निकायहरूलाई निर्देशन दिएका छन् ।

Advertisement

अध्यक्ष अधिकारीले जनताको इच्छा र आवश्यकतालाई ध्यानमा राखी सेवा प्रवाहमा खटिन गाउँपालिका मातहतका सबै निकाय र कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।

शिक्षा र स्वास्थ्य क्षेत्रमा भने गाउँपालिकाले चैत अन्तिम सातामै दुईदिने बिदाको नीति अवलम्बन नगर्ने निर्णय गरी सोहीअनुसार साताको ६ दिन नै सेवा सञ्चालन गरिसकेको छ ।

अध्यक्ष अधिकारीले यसलाई संघीय सरकारको नीतिको अवज्ञा नभई स्थानीय सरकारको अधिकार क्षेत्रभित्रको स्थानीय आवश्यकता र जनभावना अनुरूपको स्थानीय नीतिका रूपमा बुझिदिनुहुन सम्बद्ध सबैमा आग्रह समेत गरेका छन् ।
ग्रामीण भेगमा सेवाग्राहीहरू टाढा टाढाबाट गाउँपालिका तथा वडा कार्यालयमा सेवा लिन आइपुग्नुपर्ने र बिहानको नियमित कामधन्दा सकेर खाना खाएर निस्किनुपर्ने हुँदा १० बजेभन्दा अघिको समय सेवाग्राहीहरूका लागि अनुकूल नभएको र दुई साताको अभ्यासमा बिहान ९ बजेदेखि १० बजेसम्मको समयमा कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति शून्यप्रायः रहेको देखिएको गाउँपालिकाले जनाएको छ । अधिकांश सेवाग्राहीहरूबाट बिहानको समय आफूहरूका लागि अनुकूल नहुने र बिहानको थप एक घण्टाले सातामा दुई दिन बन्द हुने सेवाको भर्पाई हुन नसक्ने प्रतिक्रिया प्राप्त भएकोले सो निर्णय गरिएको बताइएको छ ।

यस्तै गाउँपालिका र मातहतका कार्यालयहरूमा कार्यरत अधिकांश कर्मचारीहरू बाहिरी जिल्लाहरूका बासिन्दा रहेका र गाउँपालिका वरपर डेरा गरी बस्ने भएकाले सातामा दुई दिन भएको बिदाले खासै सहुलियत नमिल्ने देखिएकोले आईतवार पनि कार्यालय संचालन गर्ने निर्णय भएको अध्यक्ष अधिकारीले बताए ।

दुई दिने बिदामा घर गएर फर्किन पनि मुस्किल हुने र डेरामै बसेर कुनै उल्लेख्य कामबिना नै हप्ताको दुई दिनको समय खेर जाने अवस्था देखिएकोले विदाको सार्थकता नदेखिएको बताइएको छ ।

उता, बिहान ९ बजे नै कार्यालय पुग्नुपर्दा बिहानको नियमित कामधन्दा सकाएर, खाना पकाएर खाएर निस्किन मुस्किल परिरहेको र कार्यालय पुगेर पनि सेवाग्राहीको उपस्थिति नहुँदा काममा ऊर्जा र सृजनशीलता नजागेको, बरु झनै आलस्य बढाएको गुनासो कर्मचारीवर्गबाट उल्लेख्य मात्रामा आएको समेत गाउँपालिकाले बताएको छ ।

यस्तै संघीय सरकारले इन्धनको खपत न्यूनीकरण गर्न सातामा दुई दिन बिदा दिने नीति अख्तियार गरेपनि सो अवधिमा इन्धनको खपत झनै बढेपछि कार्यालय संचालन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया