ए डिभिजन लिग : सम्पूर्ण तयारी पूरा, तिहारअघि बढीमा २ चरणका मात्र खेल हुने

विदुर खबर २०७५ असोज ११ गते १२:४३

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिगको सम्पूर्ण तयारी पूरा भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ। आगामी शनिबारदेखि सुरु हुने यो सिजनको लिगको तयारी सकिएको एन्फाले जनाएको हो।

लिगमा १४ टिमबीच प्रतिस्पर्धा हुँदैछ। उद्‌घाटन खेलमा न्युरोड टिम (एनआरटी)  र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो दिन सरस्वती युवा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल अपरान्ह ३ बजे हुनेछ। यी दुई खेलपछिको खेल तालिका अहिलेसम्म सार्वजनिक गरिएको छैन।

किनकी नेपाली राष्ट्रिय टिम बंगलादेशको बंगबन्धु गोल्डकप खेल्न जाने भएकाले लिग स्थगित हुने भएको हो। बंगबन्धु गोल्डकप असोज १५ देखि सुरु हुँदैछ। नेपाली टिमले गोल्डकपको समूह चरण पार गरेको अवस्थामा दशैं अघि एक चरणको खेल हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए। नेपाल समूह चरणमै रोकिएको अवस्थामा २ चरणको खेल हुने उनको भनाई छ।

एन्फाले दशैं र तिहारको बीचमा नेपालले साफ यू–१५ च्याम्पियनसिप आयोजना गर्दैछ। त्यसैले लिग तिहारपछि मात्र सुचारु हुनेछ। तिहारपछि हुने लिगका खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटो र सशस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ। लिग सातामा ३ दिन मात्र हुनेछ। लिग अवधिमा मोफसलका प्रतियोगिता संचालन नहुने महासचिव तुलाधरले बताए।

लिगका लागि सम्पूर्ण क्लबले तयारी गरिरहेको र एन्फामा कम्तिमा १८ खेलाडी दर्ता गराइसकेका छन्। एक टिमले चार विदेशी खेलाडी राख्ने पाउने प्रावधान छ। ४ मध्ये एक खेलाडी दक्षिण एसियाको हुनु पर्नेछ। ३ जना मात्र विदेशी खेलाडी अनुबन्ध गरे दक्षिण एसियाको नभए पनि हुनेछ। आवद्ध भएका चारै विदेशी खेलाडी एकै खेलमा खेल्न पाउनेछन्।

लिगको लागि टिकट मूल्य २ सय तोकिएको छ। एन्फाको भिआइपी प्याराफिटबाट खेल हेर्न भने ५ सय तिर्नु पर्नेछ। एन्फा कम्प्लेक्समा २५ सय र हल्चोक मैदानमा ५ सय टिकट ब्रिकि  गर्ने एन्फाले जनाएको छ।

लिगलाई व्यवस्थित र मर्यादिन बनाउन तथा म्याच फिक्सिङलाई निरुत्साहित गर्न एन्फाले इन्ट्रिग्रिटी समिति बनाएको छ। दुवै खेल स्थानमा सिसी क्यामेरा जडान गरिएको छ। प्रत्येक टिमलाई म्याच फिक्सिङ निरुत्साहित गर्न छलफल गर्ने र र्‍यान्डम डोपिङ गर्ने एन्फाले जनाएको छ। लिग कमिटीका संयोजक विज्ञानराज शर्माले फिक्सिङलाई रोक्न विभिन कदम चालिएको बताए। उनले फिक्सिङ भएमा पुलिस केस, प्रतिबन्ध वा फिफाको निमयअनुसार हदैसम्मको कारबाही गरिने बताए।

यसपटको लिगमा नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, मनाङ मर्स्याङ्दी, थ्री स्टार, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

Advertisement

प्रतिक्रिया