बङ्गबन्धु गोल्डकपमा नेपालको सहभागिताले ‘ए’ डिभिजन खेल तालिका प्रभावित हुने

विदुर खबर २०७५ असोज ८ गते ९:१६

काठमाडौं– पाँच वर्षपछि हुन लागेको सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल आयोजनाको मिति सर्ने संकेत देखिएको छ। असोज १५ देखि बंगलादेशमा हुने बङ्गबन्धु गोल्डकपमा नेपालले सहभागिता जनाउने निक्र्योल भएसँगै लिग केही समयका लागि स्थगित हुने सम्भावना देखिएको हो।

आइतबार अघिल्लो संस्करणको विजेतावापतको पुरस्कार २५ हजार अमेरिकी डलर नेपालले पाएसँगै प्रतियोगितामा नेपालको सहभागिता निश्चित भएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ।

‘ए’ डिभिजन लिग असोज १३ गतेदेखि सुरु हुँदैछ भने बङ्गबन्धु गोल्डकप असोज १५ मा सुरु भएर २६ गतेसम्म चल्नेछ। राष्ट्रिय टोलीका खेलाडी ‘ए’ डिभिजनका ६ वटा क्लबमा आबद्ध छन्। बङ्गबन्धुमा सहभागिता जनाएसँगै लिग पनि जारी राखिँदा ती क्लबलाई अप्ठेरो पर्ने क्लबहरुले बताउँदै आएका छन्।

बङ्गबन्धुमा सहभागिता निश्चित भएसँगै लिगका खेल केही तलमाथि हुनसक्ने लिग निर्देशक सञ्जीव मिश्रले बताए। ‘बङ्गबन्धुमा नेपालले सहभागिता जनाउने वा नजनाउने निर्णय भइनसकेको अवस्थामा हामीले लिगको खेल तालिका सार्वजनिक गरेका हौँ। अब नेपालले सहभागिता सुनिश्चित गरेको अवस्थामा केही खेल तलमाथि हुनसक्छन्।’ उनले भने।

एन्फा महासचिव इन्द्रमान तुलाधरले सोमबार एन्फा पदाधिकारी र लिग कमिटीबीचको छलफलपछि यसबारे निर्णयमा पुगिने जानकारी दिए। महासचिव तुलाधरका अनुसार ‘ए’ डिभिजन लिगको उद्घाटन गरेपछि बङ्गबन्धु गोल्डकप अवधिभरका लागि लिग स्थगित गर्ने वा राष्ट्रिय खेलाडी अनुबन्ध नभएका ६ क्लबबीचको खेल सञ्चालन गर्ने यी दुई विकल्पबारे छलफल हुनेछ।

Advertisement

प्रतिक्रिया