मनाङ मर्स्याङ्दी क्लबको प्रशिक्षकमा नाइजेरियाका फुजा तोपे

विदुर खबर २०७५ असोज २ गते ११:५१
तस्बिर : गोलनेपाल डटकम

तस्बिर : गोलनेपाल डटकम

काठमाडौं–  सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि मनाङ मस्याङ्दी क्लबले नाइजेरियन प्रशिक्षक अयोडेजी तोपे फुजासँग सम्झौता गरेको छ। आगामी असोज १३ गतेदेखि सुरु हुने लिगका लागि ७ पटकको च्याम्पियन मनाङले फुजासँग ६ महिनाको सम्झौता गरेको हो।

यसअघि, फुजासँग यो सिजनमा भएका मोफसलका प्रतियोगिताका लागि पनि मनाङले सम्झौता गरेको थियो। मनाङले लिगका लागि उनीसँग सम्झौता गरेको मनाङका महासचिव मुखिया कान्छा गुरुङले बताए। फुजा दोस्रो पटक नेपालकाे ‘ए’ डिभिजन लिगमा प्रशिक्षक बन्न लागेका हुन्। यसअघि, उनले सन् २००८ मा मच्छिन्द्र क्लबको प्रशिक्षण सम्हालेका थिए।

फुजाले गत आइबारदेखि टिम सम्हालेका छन्। ‘लिगमा उत्कृष्ट प्रदर्शन गर्ने उद्देश्यका साथ फुजासँग सम्झौता गरेका हौं,’ मनाङका महासचिव गुरुङले नेपाल लाइभसँग भने। फुजालाई दिने पारिश्रमिक गुरुङले खुलाउन चाहेनन्।

फुजासँग भारतको चर्चित क्लब मोहमेदन स्पोर्टिङ क्लबसहित विभिन्न क्लबको प्रशिक्षण सम्हालेको अनुभव छ। कोलकाताको क्लब मोहमेदनले गत सिजन भारतको दोस्रो डिभिजनको आइ लिग खेलेको थियो।

४३ वर्षीय फुजाले ब्राजिलियन फुटबल महासंघबाट व्यावसायिक लाइसेन्स र इंग्ल्यान्ड फुटबल एसोसिएसनबाट एफए अन्तर्राष्ट्रिय सर्टिफिकेट लिएका छन्।

उनले विगत १० वर्षमा भारतका विभिन्न क्लबमा रहेर काम गरेका थिए। तर, उनले आफ्नो देशमा भने अहिलेसम्म प्रशिक्षण गरेका छैनन्। उनी सन् २००५ मा नाइजेरिया छाडेर भारत आएका थिए। तर, सुरुवातमा उनलाई कुनै माैका मिल्न सकेन। त्यसपछि उनी मलेसिया पुगेका थिए। मलेसियामा उनले एफसी साबहको प्रशिक्षण सम्हाले। मेलिसयाबाट उनी २००७ मा नेपाल आएका थिए।

त्यतिबेला उनले मच्छिन्द्र फुटबल क्लबको प्रशिक्षककाे भूमिकामा रहेर काम गरे। २ वर्षकाे नेपाल बसाइपछि अन्तत: उनलाई भारतीय क्लबमा प्रशिक्षण गर्ने माैका मिल्याे। क्लब थियाे-सिम्ला योङ्गम।  यस बीचमा उनी सिम्ला योङ्गममा मात्र सीमित भएनन्। मुम्बई युनाइटेड, मोहमेदन, एरिस्ट्रोक्र्याट हिन्दुस्तान क्लब, टोलीगङ्ग अग्रगामी एफसी लगायतमा रहेर उनले अाफ्नाे प्रशिक्षण क्षमतालाई तिखारे। जसमा उनी सफल पनि भए। सन् २०१४ मा उनी मोहमेदन स्पोर्टिङ क्लबमा सहायक प्रशिक्षकको रुपमा फर्किएका थिए।

लिगका लागि मनाङले प्रशिक्षकसँगै २ जना नाइजेरियन खेलाडीसँग पनि सम्झौता गरेको छ। स्ट्राइकरद्वय अफिज ओलाडिपो र एडेलेजासँग सम्झौता गरेको महासचिवत गुरुङले जनकारी दिए। ओलाडिपोले यसअघि पनि मनाङबाट लिग खेलिसकेका छन्। उनले गत सिजन बंगलादेशको चितागोङ अबहानी र रहमतगन्ज स्पोर्टस क्लबबाट खेलेका थिए। एडेलेजना भने भारतीय क्लब इस्ट बंगालका पूर्व खेलाडी हुन्। यसबाहेक मनाङले दीपक राई र सुरज विकसँग पनि सम्झौता गरेको छ।

लिग जित्ने उद्देश्यसहित तयारी थालेको मनाङमा राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित राष्ट्रिय खेलाडीहरु कमल श्रेष्ठ, सुजल श्रेष्ठ, हेमन गुरुङ र अन्जन विष्ट लगायत खेलाडी छन्। गोलकिपरमा विशाल श्रेष्ठ रहेका छन्।

राष्ट्रिय खेलाडी र विदेशी प्रशिक्षकको साथ पाएको मनाङले यसपटकको लिगमा उत्कृष्ट खेल्ने अपेक्षा महासचिव गुरुङको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले २०७० सालपछि पहिलो पटक ए डिभिजन लिग गर्न लागेको हो। पछिल्लो पटकको ए डिभिजन लिग मनाङले नै जितेको थियो। लिगको सर्वाधिक सफल टिम मनाङ सबैभन्दा बढी सात पटक(२०४२, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७०) लिग जित्ने टिम हो।

यसपटको लिगमा मनाङसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बल (एपिएफ), त्रिभुवन आर्मी, थ्री स्टार, जावलाखेल युथ, फ्रेन्ड्स, सङ्कटा, मछिन्द्र, सरस्वती युथ, च्यासल युथ, न्युरोड टिम (एनआरटी) ,ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया