ऐतिहासिक सफलताको लडाइँमा कप्तान रोहित

विदुर खबर २०८० जेठ २५ गते ८:४३

नुवाकोट ।  कलिलो उमेरमै सर्वाधिक सफल नेपाली राष्ट्रिय टिमका कप्तान हुन् रोहितकुमार पौडेल । २० वर्षे रोहितकै कप्तानीमा नेपालले जिम्बाब्वेमा असार ३ देखि २४ गतेसम्म विश्वकप छनोट खेल खेल्दैछ ।

Advertisement

रोहितकुमार पौडेल नेपाली क्रिकेटका चम्किरहेका एक तारा । कुनै बेला टीयू मैदानमा दर्शकदीर्घाबाट नेपाली क्रिकेट नियालिरहेका रोहित आफ्नै नेतृत्वमा विश्वकप छनोट खेल्न पाउँदा खुसी छन् । तर, यो सबै टिमका प्रत्येक खेलाडीको सामर्थ्यले प्राप्त भएको भन्न पनि छुटाउँदैनन् । रोहितले भन्ने गरेका छन्, ‘नेपाली क्रिकेटसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी ठान्छु । टिमका प्रत्येक सदस्यले गर्दा हामी यो ठाउँमा आइपुगेका छौँ ।’

असार ३ गते जिम्बाब्वेसँग खेल्दै विश्वकप छनोटको उद्घाटन गर्ने नेपालले त्यसपछि असार ५ गते अमेरिकासँग खेल्नेछ । असार ७ गते विश्वविजेता वेस्ट इन्डिजसँग खेल्ने नेपालले समूह ‘ए’ को आफ्नो अन्तिम खेल नेदरल्यान्ड्ससँग असार ९ गते खेल्नेछ । अहिले विश्वकप छनोट खेलकाे तयारीका लागि नेपालले दक्षिण अफ्रिकामा अभ्यास गरिरहेको छ । दक्षिण अफ्रिकामै नेपालले नेदरल्यान्ड्स र स्कटल्यान्डसँग अभ्यास खेल पनि खेल्नेछ ।

Advertisement

पछिल्लो समयमा रोहितकै कप्तानीमा नेपालले तीन ठूला उपलब्धि हासिल गर्‍यो । विश्वकप छनोटमा प्रवेश, एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता र एसीसी प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा प्रवेश, यी तीन उपलब्धिको केन्द्रमा रहे रोहित । प्रदर्शन पनि उत्कृष्ट गरे ।

नवलपरासीका रोहितको कप्तानीमा नेपालले घरेलु मैदानमा खेलेका दुईवटा आईसीसी विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिज क्लिन स्वीप गर्‍यो । टीयू मैदानमा नेपालले आठ खेलमा आठै खेल जित्न सफल भयो ।

Advertisement

१२ खेल ११ जित । यस्तो नतिजा विरलै देख्न पाइन्छ । त्यो पनि एउटै प्रतियोगितामा । एक समयमा नेपाल आईसीसी क्रिकेट विश्वकप लिग टुमा कठिन मोडमा थियो । २४ खेल खेलिसक्दा नेपालको १८ अंक मात्रै थियो । अंक तालिकाको छैटौँ स्थानमा रहेको नेपालले विश्वकपको छनोटमा पुग्न १२ मध्ये ११ खेल जित्नैपर्ने थियो । यस्तो कठिन परिस्थितिबाट नेपाली टिमलाई सम्हाल्दै कप्तान रोहितले विश्वकपको छनोटमा पुर्‍याए ।

नेपालले पछिल्लो १४ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमध्ये १३ खेलमा जित निकालेको छ । यो उनको कुशल कप्तानीले दिलाएकाे सफलता हो । हुन त प्रत्येक खेलमा फरकफरक खेलाडीले टिमलाई जिताए पनि रोहितले राम्रो नेतृत्व गरे ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडीआई) मा कप्तान रोहित नेपालका सर्वाधिक रन बनाउने खेलाडी हुन् । मिडिल अर्डर ब्याटर रोहितले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सविरुद्ध इंग्ल्यान्डमा भएको खेलमा डेब्यू गरे । त्यो खेलमा रोहितले ६ रन बनाए । तर, नेदरल्यान्ड्सलाई एक रनले हराउँदा तत्कालीन कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाए ।

कप्तान रोहितले अहिलेसम्म नेपालबाट ४६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन् । जसमा एक शतक बनाउँदा आठपटक अर्धशतक बनाएका छन् । उनले १३२६ रन बनाएका छन् । जहाँ उनको औसत ३३.१५ रहेको छ ।

रोहितले २०२२ मार्च २५ मा टीयू क्रिकेट मैदानमा पपुवा न्युगिनीविरुद्ध शतक बनाए । त्यो खेलमा नेपाल पपुवा न्युगिनीसँग ६ रनले हारे पनि रोहितले सानदार ब्याटिङ गरे । उनले १०७ बलमा सात चौका र चार छक्का प्रहार गर्दै १२६ रन बनाएका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भने उनले २१ खेलबाट ३७६ रन बनाएका छन् । जसमा एक अर्धशतक बनाएका छन् ।

प्रतिक्रिया