साफ च्याम्पियनसिप : भुटानविरुद्ध मैदान उत्रदै नेपाल , जित्नै पर्ने दबाबमा नेपाल

विदुर खबर २०७५ भदौ २१ गते १:३७

Advertisement

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप (साफ सुजिकी कप) मा नेपालले आज (बिहिबार) भुटानविरुद्ध प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा पराजित नेपालले आज भुटानसंग अपरान्ह खेल्दैछ ।

बंगबन्धु रंगशालामा नेपाल र भुटानबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बजे सुरु हुनेछ । पहिलो खेलमा पाकिस्तानसंग २ – १ पराजित नेपाल पहिलो जितको खोजीमा रहनेछ ।साफमा नेपाल र भुटान दुई पटक खेलेका छन् । जसमा दुवै पटक नेपालले जितेको छ । साफमा भुटानविरुद्ध नेपालको अपराजित कीर्तिमान छ । त्यसैले भुटानविरुद्ध मैदान उत्रदा नेपालको लक्ष्य अपराजित यात्रालाई निरन्तरता दिनु हुने छ । यो खेल नेपालको अग्निपरीक्षा समेत हुनेछ । यसै खेलले नेपालको अघिल्लो चरणको यात्रा तय हुनेछ । नेपालले सेमिफाइनलको सम्भावना जीवितै राख्न भुटानलाई हराउनुको विकल्प छैन । नेपालले भुटानलाई हराउन सके सेमिफाइनलको ढोका खोल्नेछ ।

Advertisement

पराजित भए नेपाल पुनः समूह चरणबाट घर फर्कने पक्का छ । तर, उपाधि जित्ने लक्ष्य बोकेको नेपालले भुटानलाई हराउन सबै अस्त्र प्रयोग गर्नेछन् ।’पाकिस्तानविरुद्ध त्यस्तो सोचेका थिएनौ तर हामीले अन्तिम मिनेटमा गोल खायौ । फुटबलमा यस्तो हुन्छ । यसबाट पाठ सिकेर भोलिको दिनमा जित निकाल्न आवश्यक छ । जितको लागि स्कोर गर्नु पर्ने हुन्छ,’ भुटानविरुद्धको खेलअघि प्रशिक्षक बाल गोपाल महर्जनले भने, ‘त्यहीँ अनुसार तयारी गरेका छौं । खेलाडीलाई निर्देशन गरेका छौं ।  हाम्रो सम्भावना सकिएको छैन । तर, जित बाहेक अन्य विकल्प छैन ।’

समूह ‘ए’ मा रहेको नेपाल र भुटान अंकविहिन रहेको छ । भुटान आयोजक बंगलादेशसंग २ – ० ले पराजित भएको थियो । यो समूहमा बंगलादेश र पाकिस्तानले ३/३ अंक जोडेको छ । यस्तोमा नेपालसंगै भुटानलाई पनि नेपालविरुद्धको खेल महत्वपूर्ण रहेकोछ ।अघिल्ला खेलको नतिजा हेर्दा नेपाललाई भुटान सहज प्रतिद्वन्दी हुनेछ । नेपालले भुटानसंग सन् २००३ को साफमा प्रतिस्पर्धा गरेको थियो । ढाकामै भएको खेलमा नेपालले भुटानलाई २ – ० ले हराएको थियो । उक्त खेलमा निराजन राइमाझी र कुमार थापाले गोल गरेका थिए ।

Advertisement

यस्तै नेपालले पाकिस्तानको कराचीमा सन् २००५ मा सम्पन्न साफमा भुटानलाई ३ – १ ले हराएको थियो । नेपालको जितमा सुरेन्द्र तामाङ, बसन्त थापा र विजय गुरुङ्गले गोल गरेका थिए । तर, फुटबलमा निरन्तर अघि बढ्दै आएको भुटान पछिल्लो समय बलियो टोलीको रुपमा रहदै आएको छ । भुटानले बंगलादेशविरुद्ध पनि निकै जुझारु प्रदर्शन गरेको थियो । नेपाललाई त्यसको डर हुनेछ । यस्तै नेपालविरुद्ध भुटान पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ । भुटानलाई हराउन नेपालले अघिल्लो प्रदर्शनलाई भने सुधार गर्नै पर्ने हुन्छ । डिफेन्समा गल्ती हुँदा नेपालले अन्तिम समयमा गोल खाएर पाकिस्तानसंग पराजित भएको थियो । प्रशिक्षम महर्जन अघिल्लो प्रदर्शनमा सुधार आउनेमा विश्वस्त छन् । प्रशिक्षक महर्जनले भने, ‘ हाम्रो टिम जुनै टोलीलाई हराउने लक्ष्य राख्छ तर संयोगवश त्यो हुन् सकिरहेको छैन । अट्याकीङ र डिफेन्स लाइन सुधार गर्नु पर्नेछ । त्यो सुधार भएको खण्डमा हामी जित्न सक्छौ ।’

 

प्रतिक्रिया