रसुवागढी नाकाबाट दुई वर्षदेखि विदेशी पर्यटक आएनन्

विदुर खबर २०७८ पुष २८ गते २१:१३

नुवाकोट । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवाको रसुवागढीबाट दुई वर्षदेखि पर्यटक आगमन ठप्प रहेको छ ।

Advertisement

कोरोना भाइरस सङ्क्रमण जोखिमपछि रसुवागढीबाट चिनियाँ तथा विदेशी पर्यटक आगमन ठप्प भएको हो । नाकाबाट मानिसको आवतजावतमा रोक लगाइएको छ । सन् २०२० पछि नाकाबाट पर्यटकको आगमन नभएको अध्यागमन अधिकृत एकनारायण भण्डारीले बताउनुभयो ।

‘२०२० जनवरीपछि नाकाबाट पर्यटक आएका छैनन्’, उहाँले भन्नुभयो, ‘नाकाबाट मानिसको आवतजावत खुला गरेपछि मात्र पर्यटक आउने क्रम सुरु हुनेछ ।’ 

Advertisement

रसुवागढी अध्यामगन कार्यालयको तथ्याङ्क अनुसार सन् २०१५ मा १० हजार ६ सय ४९, सन् २०१६ मा १७ हजार ८२, सन् २०१७ मा १९ हजार ४७८, सन् २०१८ मा २९ हजार १ सय ५४ र सन् २०१९ मा ३१ हजार १ सय ३५ पर्यटक नेपाल भित्रिएका थिए । 

सन् २०१५ मा चिनियाँ पर्यटक मात्र आएका थिए । २०१५ अप्रिलदेखि नाकाबाट चिनियाँ तथा विदेशी पर्यटक आउने क्रम सुरु भएको थियो । त्यो महिना २ सय ९१ पर्यटक आएका थिए । त्यसयता पर्यटकको आगमन निरन्तर बढ्दै गएको थियो । सन् २०१६ मा चीनले अन्तर्राष्ट्रिय नाका घोषणा गरेपछि तेस्रो देशका पर्यटक पनि आउन थालेका थिए । 

Advertisement

रसुवागढी नाका हुँदै आएका पर्यटक सिधै काठमाण्डौ, पोखरा तथा लुम्बिनी जाने गर्थे । नाकाबाट आउने पर्यटकमध्ये झण्डै ६० देखि ७० प्रतिशत हिस्सा चिनियाँ पर्यटकले ओगटेका थिए । चीन, सार्क देश अफगानिस्तानबाहेक अन्य देश र १० वर्षमुनिका बालबालिकाले ग्रेटिस भिसा पाउँछन् । 

कार्यालयको तथ्याङ्क अनुसार कोभिड–१९ सुरु हुनुपूर्व ५२ वटा देशका पर्यटक रसुवागढी नाका हुँदै नेपाल भित्रिएका थिए । जसमा चीन, अमेरिका, स्लोभाकिया, बेलायत, नेदरल्यान्ड जर्मनी, इटली, फ्रान्स र अष्ट्रेलियाका नागरिकको सङ्ख्या बढी थियो । नाकाबाट विदेशी पर्यटक भित्रिँदा नेपाल तथा चीनका व्यवसायीलाई फाइदा पुग्ने गरेको थियो । 

प्रतिक्रिया