एसिया कप छनोटका लागि नेपाली टिम घोषणा, सागर र विनोदको पुनरागमन

विदुर खबर २०७५ भदौ २ गते १२:२३

काठमाडौं–  एसिसी एसिया कप छनोट प्रतियोगिताका लागि नेपालले १५ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको छ।

नेपाली राष्ट्रिय टिमका प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको छनोट समितिले १५ सदस्यीय टिम घोषणा गरेको हो।

टिममा सागर पुन र विनोद भण्डारीले पुनरागमन गरेका छन्। प्रारम्भिक टिममा रहेका  सुनील धमला, प्रदिप एरी सुसन भारी र किशोर महतो वैकल्पिकमा परेका छन्। दाहिने हातको औंलामा चोट लागेका मध्यक्रमका ब्याट्सम्यान शरद भेषवाकर यसअघि नै बाहिरिएका थिए।

नेपालको ब्याटिङ प्रशिक्षकमा भारतका अपूर्व सुबोध देशाई छन्।

अभ्यासखेल र प्रशिक्षणका लागि नेपाली टिम आगामी भदौ ४ गते श्रीलंका प्रस्थान गर्नेछ। श्रीलंकामा प्रशिक्षणका दौरान नेपलले ३ वटा अभ्यास खेल खेल्नेछ। त्यसपछि नेपाली टिम एसिया कप छनोट खेल्न मलेसिया जानेछ। भदौ ११ देखि २२ गतेसम्म  हुने प्रतियोगिताको पहिलो खेलमा नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ।

छनोट प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। युएई, हङकङ, नेपाल, सिंगापुर, मलेसिया र ओमानबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको विजेता टिम एसिया कपका लागि छनोट हुनेछ। नेपाल र युइई एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्। त्यसैले नेपाल र युएईबीचको खेल एकदिवसीय हुनेछ।

६ टिम मध्ये छनोट पार गर्ने एक टिम भदौ ३० देखि युएईमा हुने एसिया कपमा खेल्न पाउनेछ।  एसिया कपको समूह विभाजन यसअघि नै भइसकेको छ। एसिया कपको समूह ’ए’ मा भारत, पाकिस्तान र छनोट हुने एक टिम परेका छन्। समूह ’बी’ मा श्रीलंका, बंगलादेश र अफगानिस्तान छन्।

नेपाली टिम 
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहमद आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, सागर पुन, सन्दीप लामिछाने, सुवास खकुरेल।

Advertisement

प्रतिक्रिया