फोटोमा हेर्नुस नुवाकोटको त्रिशूलीको ऐतिहासिक झोलुङ्गे पुल

विदुर खबर २०७८ साउन १० गते १२:३६
नुवाकोट । एबरडीनका दुइ दाजुभाइ जोन हार्पर तथा ह्यूज हार्परले सन १८५६ मा सानो कम्पनी खोलेका थिए ।
उनिहरुको हार्पर एण्ड कम्पनीले पुल तथा बारलाई आबश्यक पर्ने फलामे तारहरु उत्पादन गर्दथे । २३ अप्रिल १८६८ मा एबरडीनमा जन्मेका लुइस हार्पर भने जोन हार्परका माहिला छोरा थिए । पेशागत रुपमा सिभिल इञ्जिनियर लुइस हार्परले पनि झोलुङ्गे पुल निर्माण तर्फ ध्यान दिन थाले । उनिहरुको उत्पादनमा रहेको ग्याल्बनाइज्ड तारहरु निकै बलियो भएको कारणले झोलुङ्गे पुलहरुको लागि पनि उपयुक्त भयो । सन १८८७ मा लुइसले पहिलो झोलुङ्गे पुल बनाए ।
सन १८८९ मा लुइसले पनि जेम्स एवर्नेथी एण्ड कम्पनीसंग मिलेर पुलहरुको निर्माण गर्न थाले ।यसरी हार्पर एण्ड कम्पनीले सन १९१० सम्ममा ६० वटा मानिसहरु आवागमन गर्न मिल्ने आधुनिक झोलुङ्गे पुलहरु निर्माण गरेका थिए । यहि क्रममा सन १८९७ मा नेपालले पनि पहिलो आधुनिक झोलुङ्गे पुल निर्माणको लागी हार्पर कम्पनीसंग सामग्रीहरु मगाएका थिए । नेपाली इञ्जिनियर कुमार नरसिंह राणाको प्रत्यक्ष निगरानीमा नेपाली सैनिक जवानहरुले नेपालको पहिलो आधुनिक झोलुङ्गे पुल नुवाकोटको त्रिशूली नदिमा बनाएका थिए । यो पुल बिसं १९५७ को तिहारमा तैयार भएको थियो । काग तिहारको दिन सर्वसाधारणको लागि आवागमन खुला गरिएको थियो ।
यसरी हेर्दा चन्द्रशम्शेरको शासनकाल भन्दा अगाडि वीरशम्शेरको समयकालमा नै नेपालमा झोलुङ्गे पुलको शुरुवात भएको देखिन्छ । सन १९०० मा यो पुल तैयार भए पछि नेपाल सरकारले इञ्जिनियर कुमार नरसिंह राणालाई अन्य ६ वटा पुलहरुको सामग्री पनि लुइस हार्पर कम्पनीबाट नै मगाउन अनुमति दिएका थिए । यसरी नेपालको इतिहासमा आधुनिक स्टिलबाट बनेका झोलुङ्गे पुलहरुको शुरुवात भएको थियो ।
सन १९१० बाट लुइस हार्पर कम्पनीले पुलहरु बनाउन छोडे पछि सो कम्पनीले बनाएका पुलहरुको बारेमा सोधखोज गर्ने आधिकारिक कम्पनी नै रहेन । तर पनि सो कम्पनीको बलियो सामग्रीहरुको कारणले पुलहरु भने लामो अवधीसम्म टिकाउ भइरह्यो । कतिपय जिर्ण हुन लागेका पुलहरु पनि सोही देशले मर्मत गर्न थालेको थियो । जसले गर्दा पछिल्लो अवधीसम्म पनि पुलहरु भेटिएका थिए ।
निकै वर्ष पछि लुइस हार्परका नाति डगलस हार्परले विश्व भर हार्पर एण्ड कम्पनिले बनाएका झोलुङ्गे पुलहरुको बारेमा बुझ्न थाले स्कटल्याण्डमा रहेका ति पुराना झोलुङ्गे पुलहरुको पुरानै स्वरुपमा पुनर्निमाण सरकारसंग अनुरोध गरेर तैयार पनि बनाए । नेपाल लगायत भारत तथा अफ्रिकामा रहेका झोलुङ्गे पुलहरुको भ्रमण गरे । त्यो बेलाका सम्पूर्ण विवरण तथा तस्विरहरु संकलन गरेर पुस्तक नै तैयार बनाए ।
सो पुस्तकमा हार्पर एण्ड कम्पनीले नेपालमा बनाएका चोभारमा बागमती नदी माथि बनेको झोलुङ्गे पुल, रामेछापको साँघुटारमा लिखु खोला माथि बनेको झोलुङ्गे पुल, मंगलटारमा रोशी खोलामा बनेको झोलुङ्गे पुल, धादिङको भर्याङभुरुङमा थोपल खोलामा बनेको झोलुङ्गे पुल, बुटवल पाल्पा बिचमा पर्ने चर्चरेमा तिनाउ खोलामा बनेको झोलुङ्गे पुल, बिदुरमा त्रिशुली नदी माथि बनेको झोलुङ्गे पुल तथा खोकनामा बागमती नदी माथी बनेको झोलुङ्गे पुलहरुको विवरण तथा तस्विरहरु पनि राखिएको छ ।
यहाँ तस्विरमा नेपालको पहिलो आधुनिक फलामे झोलुङ्गे पुल देख्न सकिन्छ । यो तस्विर नुवाकोटको त्रिशूली नदिमा बनेको झोलुङ्गे पुलको उद्घाटन भएको दिनको तस्विर हो । पुल तैयार भएर सर्वसाधारणको लागि खुला गरिए पछि मानिसहरु खुशी भएर पुलमा उभिरहेको देख्न सकिन्छ । तस्विरको सबैभन्दा बायाँ तर्फ पुलको अगाडी पुल निर्माणका इञ्जिनियर एवं ब्रिगेडियर कर्णेल कुमार नरसिंह राणालाई सैनिक पोशाकमा उभिरहेको देख्न सकिन्छ ।
साथै तस्विरमा उनै कर्णेल कुमार नरसिंह राणाको हस्ताक्षर तथा उद्घाटन मिती पनि लेखिएको छ । यो तस्विर पुल तैयार भए पछि हार्पर एण्ड कम्पनीलाई पठाइएको थियो ।

प्रतिक्रिया