पहिलो अभ्यास खेलमा नेपाली यू – २३ फुटबल टोली पराजित

विदुर खबर २०७५ साउन २२ गते १३:४८

काठमाडौं, इन्डोनेसियामा आयोजना हुने एसियन गेम्सको तयारी गर्न थाइल्याण्डमा रहेको नेपाली यू – २३ फुटबल टोली अभ्यास खेलमा पराजित भएको छ  । मंगलबार भएको खेलमा नेपाली टोली स्थानीय क्लब पुलिस टेरो क्लबसंग १ – ० ले पराजित भएको हो ।

Advertisement

बोनयाचिन्दा स्टेडियममा भएको खेलमा नेपाल आत्मघाती गोलको कारण पराजित भएको हो । नेपालका डिफेन्डर आदित्य चौधरीले आत्मघाती गोल गरेका थिए । अब नेपालले दोस्रो अभ्यास खेलमा शुक्रबार थाइल्याण्डको यू–२३ टोलीसंग थाम्मासत युनिभर्सिटी मैदानमा खेल्नेछ ।

एसियन गेम्स र साफ च्याम्पियनसिपको लागि १० दिने विशेष प्रशिक्षणमा गर्न नेपाली टोली थाइल्याण्डमा रहेका छन् । एन्फाले साफ र एसियन गेम्सको लागि नेपालले २९ खेलाडीलाई थाइल्याण्ड अभ्यासमा पठाएको हो । थाइल्याण्डको प्रशिक्षणपछि नेपाली टोली त्यहीबाट इन्डोनेसियामा जानेछन् । एसियन गेम्स अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । एसियन गेम्समा नेपाल समूह डीमा रहेको छ । र, नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछन् ।

Advertisement

नेपालले एसियन गेम्सको पहिलो खेलमा एसियन फुटबलको पावर हाउस जापानसंग अगष्ट १४ मा खेल्ने छ । यस्तै दोस्रो खेलमा नेपालले भियतनामसंग अगष्ट १६ मा खेल्ने छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पाकिस्तानसंग अगष्ट १९ मा खेल्नेछ । यस्तै नेपालले आगामी सेप्टेम्बरमा बंगलादेशमा हुने साफ च्याम्पियनसिप खेल्नेछ । साफमा नेपालले समूह चरणमा आयोजक बङ्गलादेश, पाकिस्तान र भुटानसँग खेल्ने छन् ।

प्रतिक्रिया