पोखरा मनाङको ‘होम ग्राउण्ड’ हुने

विदुर खबर २०७८ असार २२ गते १९:०८

नुवाकोट । ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले पोखरालाई ‘होम ग्राउण्ड’ बनाउने भएको छ ।

Advertisement

पोखरा रंगशालालाई ‘होम ग्राउण्ड’ बनाउने प्रस्ताव सहित मनाङले राखेप समक्ष प्रस्ताव गरेको थियो । क्लबको प्रस्तावलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सहमती प्रदान गरेको छ ।

पछिल्लो निर्णयसंगै मोफसलमा जाने मनाङ पहिलो क्लब बन्ने भएको हाे । काठमाडौंलाई आधार बनाएर फुटबलमा लगानी गरिरहेको मनाङले पोखरालाई घरेलु मैदानको रुपमा विकास गर्ने प्रयास थालेको छ । मनाङ जिल्ला गण्डकी प्रदेशमा रहेकाले समेत पोखरालाई घरेलु मैदान बनाउनुपर्ने छलफल क्लबभित्र हुने गरेको थियो । क्लबमा नयाँ कार्यसमिति आएसंगै प्रक्रिया अघि बढेको हो ।

Advertisement

‘सहिद स्मारक सहितका प्रतियोगिताका लागि क्लबले खेल्ने ‘होम गेम’ पोखरा रंगशालामा आयोजना गर्ने प्रस्ताव गरेको थियौं । राखेपको सहमतीसंगै चाँडै औपचारिक सम्झौता हुनेछ ।’ क्लबका उपाध्यक्ष बिजय घलेले खेलापाटीसंग भने ।

सम्झौता भएसंगै मनाङले राखेपबाट ‘होम ग्राउण्ड’को प्रमाणपत्र प्राप्त गर्नेछ । फुटबललाई बिकेन्द्रिकरण गर्नुपर्ने बहश घरेलु खेलकुदमा पुरानो बनिसकेको छ । तर काठमाडौं उपत्यकाबाट बाहिर नेपाली फुटबल पुग्न सकेको छ ।

Advertisement

नेपालमा खेलिने शीर्ष डिभिजनका लिगमा उपत्यकाकै क्लबको बर्चस्व रहेको छ । तर सबै खेल काठमाडौं उपत्यकामै हुने गर्छ ।मनाङ र पोखरा रंगशालाबीचको विस्तृत सम्झौता भने गण्डकी प्रदेशमै हुनेछ । राखेप अन्तर्गतको जिल्ला खेलकुद विकास समितिसंग क्लबले औपचारिक सम्झौता गर्ने बताईएको छ ।

‘करिब ५ वर्षलाई प्रारम्भिक रुपमा पोखरा रंगशालालाई घरेलु मैदानको रुपमा लैजाने प्रस्ताव छ । लिग सहितका अन्य प्रतियोगिता मनाङले पोखरामै खेल्ने गरि तयारी गरिरहेका छौं ।’ एन्फा कार्यसमिति सदस्य समेत रहेका घलेले भने ।

मनाङलाई एन्फाको सदस्य जिल्ला बनाउन सफल बनेका घले पछिल्लो समय क्लबलाई पोखरा लैजाने प्रक्रियामा लागेका छन् ।

गण्डकी प्रदेशकै जिल्ला भएका कारण पोखरामा मनाङ फुटबल क्लबका धेरै समर्थक छन् । आहा–रारा गोल्डकप लगायतका प्रतियोगितामा मनाङका समर्थकको ‘क्रेज’ देख्न सकिन्छ । समर्थकको सोही सद्भावलाई आधार बनाएर क्लबलाई थप व्यवसायीक र आत्मनिर्भर बनाउने मनाङको योजना छ ।

मनाङ घरेलु फुटबलको सर्वाधिक सफल क्लब हो । क्लबले कीर्तिमान ८ पटक लिग उपाधि उचालेको छ । स्टार खेलाडीमा दिल खोलेर खर्च गर्ने र उपाधिमा सधै दाबेदारिता प्रस्तुत गर्ने परिचय मनाङले घरेलु फुटबलमा बनाएको छ ।

प्रतिक्रिया