जुडो खेलाडी सोनिया भट्ट वाइल्ड कार्डबाट ओलम्पिकमा छनोट

विदुर खबर २०७८ असार १२ गते १३:३१

नुवाकोट । नेपाली जुडो खेलाडी सोनिया भट्टले अर्को महिना जापानमा आयोजना हुने टोकियो ओलम्पिक खेल्ने भएकी छन् । टोकियो ओलम्पिकका लागि सोनियाले वाइल्ड कार्ड प्राप्त गरेको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।

Advertisement

सोनिया टोकियोका लागि वाइल्ड कार्ड प्राप्त गर्ने दोस्रो नेपाली खेलाडी हुन् । यसअघि सुटिङकी कल्पना परियारले पनि टोकियो ओलम्पिकका लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन् ।

जुलाई २३ देखि अगस्ट ८ सम्म जापानमा हुने टोकियो ओलम्पिकमा नेपालबाट सोनियासंगै सुटिङकी कल्पना परियार, पौडीका गौरिका सिंह, एलेक्स शाह र म्याराथनका गोपीचन्द्र पार्कीले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

सोनियाले काठमाडौंमा भएको १३ औं  दक्षिण एसियाली खेलकुदमा ४८ केजीमुनि तौल समूहमा कास्य पदक जितेकी थिइन् । उनले ओलम्पिकमा पनि त्यही तौल समूहमा प्रतिस्पर्धा गर्नेछिन् ।

सन् २०१९ मा मोरक्कोमा भएको विशव जुडो च्याम्पियनसिपमा सोनियाले ४८ केजीमुनि तौल समूहमा मोजाम्बिककी खेलाडीलाई पराजित गरेर इतिहास बनाएकी थिइन् ।

Advertisement

ओलम्पिकको लागि वाइल्ड कार्ड प्राप्त गरेकी सोनियाले सोच्दै नसोचेको कुरा भएको बताइन् । ‘आज बिहान ट्रेनिङ गरेर आएपछि ओलम्पिकको वाइल्ड कार्ड पाएँ भनेर थाहा भयो । सोच्दै नसोचेको कुरा भयो’ उनले भनिन्, ‘मिहिनेत गरिरहेको थिएँ । खुशी पनि लाग्यो अनि डर पनि लाग्यो ।’

ओलम्पिकमा पदक जित्ने भन्दा पनि राम्रो खेल्ने उनको लक्ष्य छ । ‘निरन्तर ट्रेनिङ भइरहेको छ । अब ओलम्पिकमा गएर राम्रो खेल्ने लक्ष्य छ’ उनले भनिन् ।

सोनियाले १३ औं सागपछि नेपाल पुलिसको एकेडेमीमा प्रशिक्षण गरिरहेकी छन् । उनी हालै मात्र नेपाल प्रहरीमा अनुबन्ध भएकी छन् ।

प्रतिक्रिया