नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित

विदुर खबर २०७८ जेठ २५ गते ७:४३

नुवाकोट । फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल जोर्डनसँग पराजित भएको छ ।

Advertisement

कुवेतमा सोमबार भएको खेलमा नेपाल जोर्डनसँग ३-० गोल अन्तरले पराजित भएको हो । जोर्डनलाई जित दिलाउन बाहा फाइजल सिफले दुई गोल गरे । यस्तै याजन अल अरबको नाममा एक गोल रह्यो ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा खेलको २४ औं मिनेटमा बाहा फाइजलले पेनाल्टीमा गोल गर्दै जोर्डनलाई सुरुवाती अग्रता दिलाएका थिए । नेपालका रोहित चन्दले जोर्डनका मौसा मोहमद सुलेमानलाई पेनाल्टी क्षेत्रमा लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । जसमा बाहाले सहजै गोल गरे ।

Advertisement

खेलको ४९ औं मिनेटमा बाहा फाइजलले व्यक्तिगत दोस्रो गोल गर्दै जोर्डनलाई २-० को अग्रता दिलाए । उनले फ्रिकिकमा उत्कृष्ट गोल गरेका थिए  । त्यसपछि खेलको ६७ औं मिनेटमा डिफेन्डर याजनले हेडरबाट गोल गर्दै जोर्डनलाई ३-० को जित दिलाए ।

यससँगै जोर्डनले नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न सफल भएको छ । छनोट अन्तर्गत नै गत वर्षको अक्टोबरमा घरेलु मैदानमा जोर्डनले नेपाललाई ३-० ले नै हराएको थियो ।  जितसँगै समूह ‘बी’ को जोर्डनले ६ खेलमा १३ अंक जोडेको छ । जोर्डन अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

Advertisement

नेपालले ७ खेलमा ६ अंक जोडेको छ । नेपाल चौंथो स्थानमा रहेको छ । अब नेपालले समूह चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेल्नेछ । नेपाल र अष्ट्रेलियाबीचको खेल शुक्रबार हुनेछ ।

नेपालको विश्वकपमा छनोट हुने आशा समाप्त भईसकेको छ । तर, नेपालको एसियन कप छनोटको सम्भावना भने रहेको छ ।

नेपाललाई एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाउन अष्ट्रेलियासँगको अन्तिम खेल जित्नै पर्ने हुन्छ । जितले मात्र पुग्ने छैन । अन्य समूहको नतिजाको प्रतीक्षा गर्नुपर्छ । अन्तिम खेलमा पराजित भएमा नेपाललाई प्लेअफको बाटोबाट एसियन कप छनोटको तेस्रो चरणमा पुग्ने बाटो समेत रहेको छ ।

 

प्रतिक्रिया