चाइनिज ताइपेइमाथि नेपालको शानदार जित

विदुर खबर २०७८ जेठ २१ गते १२:५१

नुवाकोट । फिफा विश्वकप र एसियनकप फुटबल छनोटको दोस्रो चरणको आजको खेलमा नेपालले चाइनिज ताइपेइलाई पराजित गरेको छ।

Advertisement

कुवेतमा भएको खेलमा नेपालले चाइनिज ताइपेइ बिरुद्द दुई गोल गर्दै खेल जितेको हो।

नेपालको तर्फबाट अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरेका हुन्। जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

Advertisement

सन्तोष तामाङले प्रहार गरेको फ्रि-किकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टी पाएको थियो। सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।

अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपालले दोस्रो हाफमा केही डिफेन्सिभ मनस्थिति देखाए पनि सुन्दर गोल गर्न सफल भएको थियो ।निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्याप(इन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे । सोही अग्रताको सुखद् बचाउ गर्दै नेपालले जित सुनिश्चित गर्‍यो ।

Advertisement

आजको जितसंगै नेपालले ३ अंक जोड्न सफल भएको छ।  जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ।नेपालले अब जेठ २४ गते जोर्डन र जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। उक्त खेलपनि कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

प्रतिक्रिया