कोरोनाबाट पदकधारी बक्सरको निधन

विदुर खबर २०७८ जेठ २१ गते १२:२७

नुवाकोट । कोरोना भाइरस संक्रमण भएका दक्षिण एसियाली खेलकुदका पदक विजेता बक्सिङ खेलाडी हरिबहादुर केसीको निधन भएको छ ।

Advertisement

सागका दुई संस्करणका पदकधारी उनको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापामगरले जानकारी गराए ।

४८ वर्षीय केसीलाई दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । सुरुको चार दिन घरमै बसेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि मेघा अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य स्थिति गम्भीर बन्न थालेपछि मनमोहन अस्पताल रेफर गरिएका उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

Advertisement

फ्लाइवेट (५१ केजीमुनि तौल) समूहका पाँचपल्ट राष्ट्रिय च्याम्पियन केसीले सन् १९९५ मा भारतको मद्रासमा भएको सातौं दक्षिण एसियाली खेलकुदमा कांस्य पदक जितेका थिए । त्यसको चार वर्षपछि नेपालमै भएको आठौं साफमा उनले रजत पदक जितेका थिए । फाइनलमा उनी भारतका डिंको सिंहसँग पराजित भएका थिए । डिंको एसियाली खेलकुदका स्वर्ण विजेता बक्सर हुन् ।

त्यसबाहेक उनले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाएका थिए । खेलाडी जीवनपछि विदेश पलायन भएका केसी मकाउमा १२ वर्ष बसेर तीन वर्षअघि नेपाल फर्किएका थिए । उनका श्रीमती र दुई छोरा छन् ।

Advertisement

 

प्रतिक्रिया