नेपालले नेदरल्यान्ड्सलाई दियो २१७ रनको लक्ष्य, सोमपाल र पारसको अर्धशतक

विदुर खबर २०७५ साउन १८ गते १४:३१

काठमाडौं-  कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक बनाएपछि दोस्रो एकदिवसीय खेलमा नेपालले नेदरल्यान्ड्सलाई २ सय १७ रनको लक्ष्य दिएको छ।

नेदरल्यान्ड्सको भिआरए मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४८.५ ओभरमा २ सय १६ रनमा अलआउट भयो।

नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धशतक प्रहार गरे। चौथो नम्बरमा ब्याटिङमा आएका पारसले ३१ ओभरको पहिलो बलमा छक्का प्रहार गरेर अर्धशतक पूरा गरेका थिए। यद्यपी उनी त्यहि ओभरको अन्तिम बलमा ५१ रन बनाएर आउट हुन पुगे। उनले ६९ बल खेल्दा ६ चौका र २ छक्का प्रहार गरे।

पारसलाई नेदरल्यान्ड्सका कप्तान पिटर सिलारले क्याच आउट गराएका थिए।एकदिवसीय खेलमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पारस दोस्रा खेलाडी बनेका छन्। यसअघि पहिलो एकदिवसीय खेलमा उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर कीर्तिमान बनाएका थिए।

अाठौं नम्बरमा ब्याटिङमा आएका सोमपालले ४४.४ ओभरमा छक्का अर्धशतक पूरा गरेका थिए। ६१ रनमा आउट हुनुअघि सोमपालले ४६ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। योसँगै उनी एकदिवसीय खेलमा नेपालका लागि एकै इनिङमा सर्वाधिक रन प्रहार गर्ने खेलाडी बनेका छन्।

ओपनिङमा आएका सुवास खकुरेल र मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले १९-१९ रनको योगदान गरे। सुवासले ३३ बलमा ३ चौका र दीपेन्द्रले १७ बलमा ३ चौका प्रहार गरेका थिए। दीपेन्द्र कप्तान पारससँगको असमझदारीका कारण रनआउट भएका थिए। ओपनर ज्ञानेन्द्र मल्ल २४ बलमा २ चौकाको मद्दतमा १३ रन प्रहार गरेर आउट भए।

अनिलकुमार साह ४ रन, रोहितकुमार पौडेल ६ रन र बसन्त रेग्मी १ रनमा आउट भएका थिए। यस्तै आरिफ शेखले ४६ बल खेल्दा १६ रन जोडे। आरिफले बाउन्ड्री भने प्रहार गर्न सकेनन्।

सन्दीप लामिछानेले ८ रन र ललित भण्डारीले  ४ रन बटुले।

बलिङमा नेदरल्यान्ड्सका लागि फ्रेड क्लासनले ३ विकेट लिए।  कप्तान पिटर सीलार र मिचेल रिप्पोनले २-२ विकेट हात पारे।

यसअघि बुधबार भएको पहिलो एकदिवसीय खेलमा घरेलु टिम नेदरल्यान्ड्सले नेपाललाई ५५ रनले पराजित गरेको थियो।

ब्याटिङ र बलिङ कार्ड 

 

Advertisement

प्रतिक्रिया