एमाले स्थायी समिति बैठक, नेपाल समूहप्रति ओली नरम

विदुर खबर २०७८ जेठ १९ गते ७:२७

नुवाकोट ।  नेकपा एमालेले पार्टी एकता बचाउन थप लचकता अपनाउने भन्दै निर्णय गरेको छ ।

Advertisement

पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको एमालेले एकता बचाउने थप प्रयास भन्दै पछिल्लोपटक स्पष्टीकरण सोधिएका थप १२ जना नेताहरूमाथि भने कारबाही नगर्ने नीति लिएको छ ।

परराष्ट्रमन्त्रीसमेत रहेका पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मंगलबार बसेको स्थायी समिति बैठकमा पार्टी एकता बचाउन नेतृत्व तहबाट अन्तिम समयसम्म पनि प्रयास जारी राख्ने बारेमा छलफल भएको र यो संवादलाई निरन्तरता दिने निर्णय गरेको छ ।प्रवक्ता ज्ञवालीले बैठकमा प्रतिनिधिसभा विघटनपछिका राजनीतिक घटनाक्रम र सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रभावित गर्नेगरी भइरहेका बहसका साथै सरकारले ल्याएको बजेट र लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनको समीक्षा गरिएको थियो ।स्पष्टीकरण सोधिएका घनश्याम भुसाललगायतका १२ जना नेतालाई कारबाही गर्ने विषय बैठकको एजेन्डा नै नभएको बताउँदै प्रवक्ता ज्ञवालीले पार्टीभित्र वार्ताका लागि गठित कार्यदल अस्तित्वमा नरहेको समेत जानकारी दिनुभयो । बैठकले पार्टी एकताका पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने भएको निर्णयसमेत गरेको उहाँले बताउनुभयो । वार्ता टोलीमा माधव नेपाल पक्षको संयोजक रहेका भीम रावल साधारण सदस्यबाटै निष्कासित भइसक्नुभएको छ ।

Advertisement

पार्टी एकता बचाउन दोस्रो तहका नेताहरूबीच सोमबार मध्यरातिसम्म याक एन्ड यती होटलमा वार्ता भएको थियो । वार्तामा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट कार्यदलमा संयोजन गरिरहेका सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र खनाल–नेपाल समूहको तर्फबाट घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र योगेश भट्टराईको सहभागिता रहेको थियो ।वार्तामा दोस्रा तहका नेताहरूको बीचमा पनि आ–आफ्नो पुरानै अडान दोहो-याएको बताइएको छ । वार्तामा सहभागी नेपाल समूहका एक नेताले भने– ‘पार्टी एकता बचाउन हामी पनि गम्भीर छौं । हामीले भनेका पार्टी कमिटीहरू जेठ २ मै फर्काएर छलफल आरम्भ गर्नुपर्ने अडान राखेका छौं तर सकारात्मक जवाफ आएन ।’गत वैशाख २७ गते प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभामा विश्वासको मत दिन नेपाल समूहका २६ सांसद अनुपस्थित भएका थिए । तर, पार्टी एकताका लागि पार्टी अध्यक्ष ओली र नेता नेपालबीच भएको संवादमा कुनै सहमति जुट्न सकेन ।

यसैबीच, जेठ ७ गतेको समय दिएर राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठन गर्न आह्वान गरेपछि नेपाल समूहका सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।त्यसलगत्तै, बसेको एमालेको बैठकले खनाल–नेपालसहित ११ जनालाई कारबाही गरेको थियो । नेपाल समूहले देउवालाई प्रधानमन्त्री बनाउन र संसद् पुनःस्थापना गर्नका लागि सर्वोच्च अदालतमा दायर भएको रिटमा समेत हस्ताक्षर गरेको छ । तर, बदलिँदो राजनीतिक घटना क्रमअनुसार प्रधानमन्त्री ओली नेपाल समूहसँग नरम हुँदै गएको भए तापनि पार्टी एकताका लागि अझै पनि ठोस सहमतिको खाका तयार नभइसकेको एक नेताले बतायो ।

Advertisement

जसपामा कारबाहीको होडबाजी

सरकारमा सहभागी हुने-नहुने विषयलाई लिएर जनता समाजवादी पार्टीभित्र एक पक्षले अर्को पक्षलाई कारबाहीको शृङ्खला बढेको छ । जसपाका अध्यक्षद्वय डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई कारबाही गर्ने निर्णय गरेको छ ।

उक्त निर्णय भएलगत्तै अध्यक्ष ठाकुर समूहले अध्यक्ष यादवलाई पार्टीको साधारण सदस्य नै नरहने गरी कारबाही गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको थियो ।यादव समूहले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ । पार्टीभित्र विवाद उत्कर्षमा पुगेपछि यादवले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टे अल्टिमेटमसहित स्पष्टीकरण दिन जेठ १५ गते पत्र पठाएको थियो । तर, तीन दिन बित्दासम्म स्पष्टीकरणको जवाफ नआएपछि मंगलबार बसेको बैठकले चार नेतालाई कारबाही गरेको हो । यसअघि, जेठ ८ गते बसेको कार्यकारिणी समितिको बैठकले कारबाहीसम्बन्धी निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष यादवलाई दिएको थियो ।

जसपा यादव समूहका प्रवक्ता डम्बर खतिवडाले पार्टीले सोधेको स्पष्टीकरण नदिने चार नेतामाथि पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको जानकारी दिनुभयो । उहाँका अनुसार निर्वाचनआयोगलाई समेत पत्राचार गरिएको छ ।त्यसैगरी, जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले अर्का अध्यक्ष उपेन्द्र यादवलाई कारबाही गरेको छ । बबरमहलस्थित केन्द्रीय कार्यालयमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले यादवलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो । उक्त समूहका नेता डा. सुरेन्द्र झाले यादवलाई कारबाही गरिएको निर्णय निर्वाचन आयोगमा बुझाएको बताउनुभयो ।

जसपाको ५० सदस्यीय केन्द्रीय कार्यसमितिमा भट्टराई यादव समूहमा तीन सदस्य रहेका छन् । पार्टीको कार्यसमिति बैठकमा ठाकुर र महतो समूह अल्मतमा रहेको छ । अध्यक्ष ठाकुर समूहले प्रधानमन्त्री ओलीलाई समर्थन गर्ने नीति लिएपछि शुरू भएको पार्टीभित्रको विवाद फुटको संघारमा पुगेको छ । पार्टीभित्रको विवादको कारण ठाकुर समूह सरकारमा जाने तयारीसमेत रोखिएको बताइएको छ । प्रधानमन्त्री ओलीले ठाकुर समूहलाई आठ मन्त्रालय र दुई राज्यमन्त्री दिन आफू तयार रहेको यसअघि नै बताइसक्नुभएको छ ।

प्रतिक्रिया