शेयर बजार: एक जानकारी

विदुर खबर २०७८ वैशाख २७ गते २०:४८

जब शेयर बजार बढ्ने क्रममा हुन्छ र हरेक दिनजसो विभिन्न नयाँ नयाँ रेकर्डहरू बन्छन, तब सर्वसाधारणको शेयर बजार प्रति चासो बढ्न थाल्छ। कतिले जानेर, बुझेर र अध्ययन गरेर लगानी गर्छन भने कतिपय अरुको कुरा सुनेर बजारमा प्रवेश गर्छन। यो आलेखको उद्देश्य शेयर बजार सम्बन्धी सामान्य जानकारी दिनु हो। शेयर बजार एउटा त्यस्तो बजार हो जहाँ धितोपत्रहरूको कारोवार हुन्छ। सरल भाषामा धितोपत्र भन्नाले कुनै पनि सार्वजनिक संस्थाले पूँजी संकलन गर्ने
उद्देश्यले जारी गरेको शेयर, डिबेन्चर, सामूहिक लगानी इकाई, आदिलाई बुझिन्छ। यो आलेख विशेषगरी शेयरमा लगानी गर्न चाहने र लगानी गर्दै गरिरहेका नयाँ लगानीकर्ताको लागि केहि जानकारी होस भन्ने उद्देश्यले लेखिएको हुनाले यहाँ शेयर सम्बन्धी सामान्य पाटोको बारेमा मात्र चर्चा गरिनेछ। शेयर बजारमा लगानी गर्नुअघि शेयर के हो, किन जारी गरिन्छ, शेयर बाट कसरी प्रतिफल पाइन्छ, आदिको जानकारी भयो भने पक्कै पनि बजार बाट साना लगानिकर्तालाई हित
हुनेछ।

Advertisement


शेयर के हो?
कुनै पनि सार्वजनिक कम्पनिले पूँजी संकलन गर्ने उद्देश्यले सर्वसाधारणमा जारी गर्ने धितोपत्रलाई शेयर भनिन्छ। शेयर जारी गर्नुको प्राथमिक उद्देश्य पूँजी संकलन गर्नु र पूँजी वृद्धि गर्नु नै हो। जसले कुनै कम्पनीको शेयर खरिद गर्छन, उनीहरुलाई लगानिकर्ता भनिन्छ। यदि कम्पनीले पहिलो पटक शेयर जारी गरेको छ भने त्यसलाई प्राथमिक निष्कासन (IPO) भनिन्छ भने एकपटक जारी भएको शेयर खरीद बिक्री गर्ने बजारलाई दोस्रो बजार वा शेयर बजार भनिन्छ।


नेपालमा हाल एउटा मात्र धितोपत्र कारोवार गर्ने बजार छ जसलाई नेपाल स्टक एक्सचेंज (संक्षेपमा नेप्से) भनिन्छ। नेपाल स्टक एक्सचेंजमा सूचीकरण भएपछि मात्र कुनै पनि कम्पनीले जारी गरेको धितोपत्र (शेयर, डिबेन्चर, समुहिक लगानी इकाई, आदि) दोस्रो बजारमा कारोवार गर्न पाँउछन।

Advertisement


शेयरबाट आउने प्रतिफल कति किसिमको हुन्छ?

शेयरमा लगानी गर्नुपूर्व कुनै पनि लगानिकर्ताले शेयरमा किन लगानी गर्छन भन्ने कुरा महत्वपूर्ण हुन्छ। शेयरमा लगानी गर्नुको प्राथमिक कारण भनेको शेयरले भविष्यमा दिने प्रतिफल नै हो। शेयर बाट हुने प्रतिफल दुई किसिमको हुन्छ। एक,कम्पनीको वार्षिक आम्दानी बाट सबैकुराहरू कटाएर आफ्नो लगानिकर्तालाई दिने वार्षिक प्रतिफल जसलाई लाभांश भनिन्छ भने, दोस्रो, शेयर खरीद-बिक्रीबाट हुने मुनाफा जसलाई पूँजीगत लाभ भनिन्छ। कुनै पनि लगानिकर्ताले कुन रूपको प्रतिफल प्राप्त गर्नका लागि लगानी गर्ने भन्ने कुराको महत्व धेरै हुन्छ। शेयर बजारमा लगानी सुरु गर्न दुईवटा
बजार (प्राथमिक र दोस्रो) मार्फत प्रवेश गर्न सकिनेछ। नयाँ र लगानी गर्ने योजनामा हुने लगानिकर्ताको लागि प्राथमिक बजारबाट लगानी सुरु गर्दा कम जोखिम र लाभदायक हुन्छ भने दोश्रो बजार मार्फत प्रवेश गर्न पर्याप्त अध्ययन र अनुभब चाहिन्छ। दोश्रो बजारमा लगानी गर्दा कुन कुन कुरामा ध्यान दिने भन्ने बारेमा अर्को लेखमा चर्चा गरिनेछ।

Advertisement


लगानी किन गर्ने?
प्राथमिक बजारमा प्रवेश गर्नको लागि धेरै ठुलो लगानी नचाहिने हुँदा हिजोआज यसप्रती नयाँ लगानिकर्ताको आकर्षण बढ्दो छ। केन्द्रीय निक्षेप प्रणालीको अनुसार ३० लाख भन्दा बढीले डी-म्याट खाता खोलेको देखिन्छ भने यो क्रम द्रुत रुपमा बढ्ने क्रममा रहेको छ। भविष्यमा पूँजीको जोहो गर्न अहिले थोरै थोरै रकम लगानी गर्ने एउटा भरपर्दो र कम जोखिमयुक्त माध्यम प्राथमिक बजार हुनसक्छ। विश्वप्रसिद्द लगानीकर्ता वारेन बफेटको एउटा चर्चित भनाई छ “आज कोई
रुखको शीतल छहारीमा बसेको छ भने पक्कै पनि त्यहाँ केहि समय पहिले कसैले रुख रोपेको थियो”।

यो भनाईको मर्म भनेको अहिलेको थोरै लगानी नै भविष्यमा पूँजी जोहो गर्ने स्रोत हुनसक्छ भन्नु हो। तसर्थ लगानी गर्ने अवसर मिल्यो भने आजै बाट थोरै भए पनि लगानी बढाँउदै जानुपर्छ। सार्वजनिक कम्पनीले जारी गर्ने शेयरमा लगानी गर्नुको फाईदा भनेकै आफु सँग जति लगानीयोग्य रकम छ त्यति बराबरको शेयर खरीद गर्न पाउनु हो। आफुसँग थोरै रकम मात्र छ र लगानी
गर्न ढिलो भैसक्यो कि भनेर कहिले पनि सोच्नु हुदैन। त्यसैले त एउटा चर्चित भनाई छ नि “शेयर बजारमा लगानी गर्नकहिले पनि ढिला हुदैन”।

मुकुन्द अर्याल
( एम.बी.ए. कार्यक्रम संयोजक, एपेक्स कलेज, काठमाण्डौ )

प्रतिक्रिया