विशेष महाधिवेशनले पार्टी कमजोर हुन्छ

नेपाली कांग्रेसभित्रको वर्तमान राजनीतिक परिस्थिति र विशेष गरी जेन–जी आन्दोलन पश्चात् नेपाली कांग्रेस भित्रै देखिएका प्रतिकृयाहरूले पार्टीको आगामि भविष्यका लागि गम्भीर प्रश्नहरू खडा गर्दै गइरहेका छन् ।

खासगरी महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितको समूहले अघि सारेको नीति र नेतृत्व परिवर्तनको माग तथा विशेष महाधिवेशनको प्रस्तावले पार्टी भित्रको आन्तरिक लोकतन्त्र, विधानसम्मत् प्रक्रिया र समग्र पार्टीको दिशामाथि नयाँ बहस सिर्जना गरेको छ । यस्तो अवस्थामा, नेपाली कांग्रेसले कसरी एकताबद्ध भएर अगाडि बढ्ने भन्ने चुनौती खडा भएको छ, जहाँ पार्टी सभापति र संस्थापन पक्षका सकारात्मक नीतिगत अडानहरूलाई पनि आत्मसात् गर्नु उत्तिकै जरुरी छ ।
नेपाली कांग्रेसभित्र हालै उठेको विशेष महाधिवेशनको माग र नेतृत्व परिवर्तनको बहसले पार्टी भित्रको आन्तरिक लोकतन्त्र र विधानसम्मत प्रक्रियामाथि समेत प्रश्न चिन्ह खडा गरेको छ । महामन्त्रीद्वय सहितको समूहले पार्टीको नीति र नेतृत्वमा तत्काल परिवर्तनको आवश्यकता औंल्याउँदै विशेष महाधिवेशनको पक्षमा जनमत सिर्जना गर्न खोजिएको छ । यस सन्दर्भमा संस्थापन इतरका प्रतिनिधिले हस्ताक्षरसमेत गरिसकेका छन् । यो अभियान कांग्रेसको लोकतान्त्रिक चरित्र र विधानसम्मत प्रक्रियाको मर्मविपरीत देखिन्छ ।
नेपाली कांग्रेस देशकै ठूलो लोकतान्त्रिक पार्टी हो र यसको पहिचान नै विधानसम्मत ढङ्गले अगाडि बढ्नु हो । पार्टीको विधानले नेतृत्व परिवर्तन र नीतिगत सुधारका लागि स्पष्ट प्रक्रियाहरु तोकेकै छन् । महाधिवेशन नै नेतृत्व चयन गर्ने र नीति निर्माण गर्ने सर्वोच्च थलो हो र हुनुपर्छ । विधानले तोकेको समय र प्रक्रिया अनुसार हुने महाधिवेशनले मात्र पार्टीलाई वैधानिकता र स्थायित्व प्रदान गर्छ । यसरी विधानसम्मत प्रक्रियाबाट चुनिएका नेतृत्वलाई बेमौसममा हस्ताक्षर अभियान चलाएर अपदस्थ गर्ने प्रयास गर्नु आफैँमा अलोकतान्त्रिक गतिविधि हो । महामन्त्रीहरूले चलाएको यो अभियान पार्टी विधानको ठाडो उल्लंघन हो । महाधिवेशनबाट चुनिएका नेतृत्वलाई काम गर्ने पर्याप्त अवसर दिनु र उनीहरूको कार्यकालभरि पार्टीलाई अगाडि बढाउन सहयोग गर्नु सबैको कर्तव्य हो र हुनुपर्छ ।
अहिलेको अवस्थामा विशेष महाधिवेशनको माग गर्नुभन्दा आगामी महाधिवेशनको तयारीमा जुट्नु र त्यहीँबाट आफ्ना एजेन्डाहरू स्थापित गराउन प्रयास गर्नु बढी तार्किक र विधानसम्मत हुनेछ । नेतृत्व परिवर्तन महाधिवेशन र विधानले तोकेबमोजिम भएमात्र पार्टी भित्रको एकता, अनुशासन र लोकतान्त्रिक प्रक्रिया सुदृढ रहिरहने छ । अहिले जेन जी आन्दोलनबाट उत्पन्न अवस्थालाई सम्बोधन गर्ने नाममा विधान विपरित गएर नेतृत्व परिवर्तन गर्न हस्ताक्षर अभियानलाई स्वीकार गर्ने हो भने भविष्यमा पनि जुनसुकै बेला केही व्यक्तिहरूले यस्तै अभियान चलाएर पार्टीलाई अस्थिर बनाउने सम्भावना रहन्छ । यसले पार्टीको आन्तरिक लोकतन्त्रलाई कमजोर बनाउँछ र कार्यकर्ताहरूमा अस्थिरता र निराशा पैदा गर्दछ । जेन–जीु पुस्ताले विभिन्न राजनीतिक र सामाजिक मुद्दाहरूमा आवाज उठाएको छ ।
भ्रष्टाचार, सुशासनको अभाव, बेरोजगारी र राजनीतिक स्थिरताका विषयमा उनीहरूले देखाएको सक्रियताले परम्परागत राजनीतिक दलहरूलाई पुनर्विचार गर्न बाध्य पारेको छ । यो आन्दोलनले युवा पुस्तामा विद्यमान असन्तुष्टि र परिवर्तनको चाहनालाई उजागर गरेको छ । नेपाली कांग्रेसभित्र महामन्त्रीहरूले अघि सारेको परिवर्तनको एजेन्डालाई जेन–जीको भावनाको प्रतिबिम्बको स्वरूप हो । पार्टीको नीति, कार्यक्रम र नेतृत्वशैलीमा सुधारको माग गर्दै युवा पुस्तालाई पार्टीसँग जोड्ने प्रयासको थालनी गर्नु नकारात्मक होइन । यो परिवर्तन र रुपान्तर विधि विधान र प्रकृयागत रुपमा हुनुपर्छ भन्ने हो ।
यतिबेला महामन्त्री द्वयले उठाएको प्रश्नले कांग्रेसभित्र देखिन खोजेको ध्रुवीकरणले समग्र पार्टीलाई कमजोर बनाउने खतरा बढेको देखिन्छ । एकातर्फ, परिवर्तनको पक्षधर शक्तिहरूले नेतृत्वलाई परम्परागत सोचबाट बाहिर आएर समयानुकूल निर्णय लिन दबाब दिइरहेका छन् । अर्कोतर्फ, संस्थापन पक्षले पार्टीको विधान, स्थापित परम्परा र लोकतान्त्रिक प्रक्रियालाई टेकेर निर्णय गर्नुपर्नेमा जोड दिइरहेको दिइरहेका छ । यो द्वन्द्वले कांग्रेसलाई एकताबद्ध भएर अगाडि बढ्नका लागि चुनौती थपेको छ ।
संस्थापन पक्षको अडान र विधानसम्मत प्रक्रियाको महत्व
नेपाली कांग्रेसको संस्थापन पक्ष, जसको नेतृत्व पार्टी सभापति शेरबहादुर देउवाले गरिरहनु भएको छ । संस्थापन पक्षले जहिले पनि पार्टीका निर्णय र नीति अवलम्बन गर्दा विधानसम्मत प्रक्रियालाई उच्च प्राथमिकता दिँदै आएको छ । पार्र्टी विधानले नेतृत्व परिवर्तन, नीति निर्माण र पार्टी सञ्चालनका लागि स्पष्ट मार्गनिर्देश गरेको छ । सभापति देउवाको नेतृत्वमा रहेको संस्थापन पक्षले विशेष महाधिवेशनको मागलाई तत्काल सम्बोधन गर्न नसकिने अडान राख्नुका पछाडि केही महत्वपूर्ण पक्षहरु छन् ।
कांग्रेसको विधानले महाधिवेशनलाई पार्टीको सर्वोच्च निकाय मानेको छ । महाधिवेशन नै नयाँ नेतृत्व चयन गर्ने, नीति र कार्यक्रमहरू अनुमोदन गर्ने तथा पार्टीको समग्र दिशा तय गर्ने वैधानिक थलो हो । विधानले तोकेको नियमित महाधिवेशनबाट मात्र नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने संस्थापन पक्षको अडान लोकतान्त्रिक प्रक्रियाको आधारभूत सिद्धान्तसँग मेल खान्छ । कसैलाई सभापति बन्न हतार भयो भनेर बेमौसममा हतार गर्दै विशेष महाधिवेशनको माग गर्नुले विधानको मर्ममाथि प्रहार गर्छ । नियमित प्रक्रियाबाट चुनिएको नेतृत्वलाई काम गर्ने पर्याप्त समय दिनुले पार्टीभित्र स्थायित्व कायम हुन्छ ।
यदि बेला–बेलामा हस्ताक्षर अभियान वा दबाब सिर्जना गरेर नेतृत्व परिवर्तनको प्रयास गर्ने हो भने पार्टी भित्र अराजकता बढ्छ र नेतृत्वले प्रभावकारी रूपमा काम गर्न सक्दैन । यसले पार्टीको आन्तरिक सुशासनमा समेत असर पु¥याउँछ । कुनै पनि निर्णय हतारमा वा दबाबमा लिनु सधैं राम्रो हुँदैन । विशेष महाधिवेशनको माग गर्नु र त्यसलाई तत्कालै आयोजना गर्दा पर्याप्त गृहकार्य बिना नै अपरिपक्व निर्णयहरू हुने सम्भावना रहन्छ । पार्टीको नीति र नेतृत्व परिवर्तनजस्ता गम्भीर विषयमा गहन छलफल, विश्लेषण र सर्वसम्मतिको प्रयास हुनुपर्छ, जुन नियमित महाधिवेशनको प्रक्रियामा मात्र सम्भव हुन्छ ।
सभापति र केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूले विधानसम्मत रूपमा निश्चित् कार्यकालका लागि निर्वााचित भएका हुन्छन् । उनीहरूको कार्यकालभरि काम गर्ने अवसर दिनु लोकतान्त्रिक प्रणालीको सम्मान गर्नु हो । बेला–बेलामा कार्यकाल छोट्याउने वा नेतृत्व परिवर्तनको माग गर्ने प्रवृत्तिले लोकतान्त्रिक संस्थाहरूलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसले विगतमा पनि यस्ता आन्तरिक कलह र नेतृत्व परिवर्तनका प्रयासहरू भोगेको छ । यस्ता घटनाहरूले पार्टीलाई कमजोर बनाएको र प्रतिपक्षीको भूमिकामा समेत प्रभावकारी हुन नसकेको इतिहास छ । संस्थापन पक्षले विगतका गल्तीहरूबाट पाठ सिक्दै पार्टीलाई थप विभाजनबाट जोगाउन खोजेको देखिन्छ । जेन–जी आन्दोलनले उठाएका मुद्दाहरू र पार्टी भित्रको परिवर्तनको चाहनालाई बेवास्ता गर्नु कांग्रेसका लागि प्रत्युत्पादक र विपरित हुनसक्छ ।
यसको समाधान विधानसम्मत प्रक्रियाभित्रै खोजिनुपर्छ । पार्टीभित्र स्वस्थ बहस र छलफलको वातावरण निर्माण हुनुपर्छ । महामन्त्रीहरूले उठाएका मुद्दाहरूलाई गम्भीरतापूर्वक लिनुपर्छ र त्यसलाई पार्टीका औपचारिक फोरमहरूमा छलफलका लागि ल्याउनुपर्छ । केन्द्रीय कार्यसमिति, संसदीय दल र भातृ संगठनहरूमा यी विषयहरूमा खुला बहस हुनुपर्छ । जेन–जी पुस्ताले उठाएका भ्रष्टाचार, सुशासन, बेरोजगारी र विकासका मुद्दाहरूलाई कांग्रेसले आफ्नो मूल एजेन्डा बनाउनुपर्छ । पार्टीले युवाहरूलाई आकर्षित गर्ने ठोस नीति र कार्यक्रमहरू ल्याउनुपर्छ । युवालाई पार्टीको नेतृत्वमा र निर्णय प्रक्रियामा सहभागी गराउने योजना बनाउनुपर्छ ।
विशेष महाधिवेशनको मागलाई तत्काल सम्बोधन गर्न नसकिए पनि आगामी नियमित महाधिवेशनलाई लक्षित गरी अहिलेदेखि नै विस्तृत गृहकार्य सुरु गर्नुपर्छ । महाधिवेशनमा नीतिगत बहसलाई प्राथमिकता दिनुपर्छ र नेतृत्व चयन प्रक्रियालाई थप समावेशी र पारदर्शी बनाउनुपर्छ । महामन्त्रीहरूले उठाएका माग र संस्थापन पक्षको अडानबिचको दूरी कम गर्न संवाद र छलफल नै उत्तम माध्यम हो ।
कांग्रेसले समसामयिक मुद्दाहरूमा स्पष्ट नीतिगत अडान लिनुपर्छ । मुलुकको आर्थिक विकास, सामाजिक न्याय, सुशासन र लोकतान्त्रिक मूल्यमान्यताको संरक्षणमा कांग्रेसको भूमिका अझ सशक्त हुनुपर्छ । यसले जनतामा पार्टीप्रति विश्वास जगाउँछ । अहिलेको अवस्थामा कांग्रेसले बलियो र जिम्मेवार प्रतिपक्षीको भूमिका निर्वाह गर्नुपर्छ । सरकारका गलत कामको आलोचना गर्नुका साथै सकारात्मक वैकल्पिक नीति र कार्यक्रमहरू पनि प्रस्तुत गर्नुपर्छ । यसका लागि पार्टीभित्रको एकता अपरिहार्य छ ।
नेपाली कांग्रेस अहिले एक महत्वपूर्ण मोडमा उभिएको छ । जेन–जी आन्दोलनले देखाएको परिवर्तनको चाहनालाई पार्टीले नजरअन्दाज गर्न हुँदैन । तर, यो परिवर्तन विधानसम्मत प्रक्रिया र लोकतान्त्रिक मूल्यमान्यता भित्रैबाट हुनुपर्छ । अहिले पार्टीभित्र चलेको हस्ताक्षर अभियान चलाएर विधानसम्मत रूपमा चुनिएको नेतृत्वलाई अपदस्थ गर्ने प्रयास गर्नुको सट्टा, पार्टी भित्र स्वस्थ बहस र छलफलको माध्यमबाट समाधान खोज्नुपर्छ । आगामी नियमित महाधिवेशनलाई थप सशक्त र परिणाममुखी बनाउने दिशामा सबैले एकजुट भएर काम गर्नुपर्छ ।

कांग्रेसभित्रको एकता र सहकार्य नै पार्टीलाई राष्ट्रिय राजनीतिमा प्रभावकारी भूमिका खेल्न र जनताको विश्वास जित्नका लागि अपरिहार्य हुन्छ । यदि पार्टी भित्रको आन्तरिक कलहलाई व्यवस्थापन गर्न सकिएन भने यसले कांग्रेसलाई थप कमजोर बनाउने छ र नेपालको लोकतान्त्रिक आन्दोलनमा समेत नकारात्मक असर पार्नेछ । त्यसैले, अहिलेको आवश्यकता भनेको सबै नेता तथा कार्यकर्ताले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको बृहत्तर हितका लागि एकताबद्ध भएर अगाडि बढ्न आवश्यक देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













सुदन गुरुङ नै भन्न थाले–निर्वाचन हुन्न !
७ जिल्लाका सीडीओ फेरिए
ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज





प्रतिक्रिया