विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
नेपालको गौरवशाली इतिहास बोकेको नुवाकोट जिल्लाको मुटुमा अवस्थित विदुर नगरपालिका आज केवल प्रशासनिक केन्द्रमा सीमित छैन । यो बागमती प्रदेशकै एक उदाँउदो आर्थिक, सामाजिक र रणनीतिक शक्तिका रूपमा क्रमशः स्थापित हुँदै गएको छ ।

राजधानी काठमाडौँबाट करिब ७० किलोमिटरको दूरीमा रहेको यस नगरले उत्तरतर्फ चीनसँग जोडिएको रसुवागढी नाकाको प्रमुख प्रवेशद्वारका रूपमा आफ्नो महत्व दिनानुदिन बढाइरहेको छ । प्रश्न उठ्न सक्छ—यति धेरै सम्भावना हुँदाहुँदै पनि विदुर किन अझै विकास र लगानीको मुख्य केन्द्र बन्न सकेको छैन? यसको उत्तर चुनौतीभन्दा बढी अवसरमा लुकेको छ ।
विदुरको वास्तविक शक्ति यसको भौगोलिक अवस्थिति र व्यापारिक पहुँचमा निहित छ । गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडक खण्डको विस्तार र स्तरोन्नतिले यस नगरलाई अन्तर्राष्ट्रिय व्यापारिक करिडोरको महत्वपूर्ण कडी बनाइरहेको छ । यो सडक केवल यातायातको माध्यम होइन, सम्भावनाको सेतु हो । यदि आधुनिक लजिस्टिक्स प्रणाली, व्यवस्थित गोदाम, र प्रभावकारी ढुवानी व्यवस्थापन विकास गर्न सकियो भने विदुर सहजै व्यापार, वितरण र आपूर्ति श्रृंखलाको प्रमुख केन्द्र बन्न सक्छ । यसले स्थानीय अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउनुका साथै हजारौं रोजगारी सिर्जना गर्ने क्षमता राख्छ ।
पूर्वाधार विकाससँगै विदुरको शहरी स्वरूप पनि तीव्र रूपमा रूपान्तरण हुँदैछ । सहरी सडक सञ्जाल विस्तार, बजार क्षेत्रको आधुनिकीकरण, र त्रिशूली नदी तटबन्ध व्यवस्थापन जस्ता पहलहरूले नगरलाई सुरक्षित, व्यवस्थित र आकर्षक बनाउँदै लगेका छन् । अबको आवश्यकता भनेको यिनै पूर्वाधारलाई लगानीमैत्री वातावरणसँग जोड्दै विदुरलाई बस्नयोग्य मात्र नभई अवसरयुक्त शहरका रूपमा विकास गर्नु हो ।
शिक्षा र प्राविधिक क्षेत्र पनि विदुरको मजबुत आधार हो । यहाँका विद्यालय र क्याम्पसहरूले जिल्लाकै शैक्षिक केन्द्रको रूपमा पहिचान बनाइसकेका छन् । प्राविधिक तथा व्यावसायिक शिक्षामा बढ्दो लगानीले दक्ष जनशक्ति उत्पादनको सम्भावना बढाएको छ । यद्यपि, कृषि, इन्जिनियरिङ, स्वास्थ्य र सूचना प्रविधिका क्षेत्रमा अझ आधुनिक संरचना र अवसरहरू सिर्जना गर्न सके विदुरले आत्मनिर्भर युवा उत्पादन गर्दै स्थानीय उद्यमशीलताको नयाँ ढोका खोल्न सक्छ ।
स्वास्थ्य सेवामा भएको सुधारले पनि विदुरलाई क्षेत्रीय केन्द्रका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ । त्रिशूली अस्पतालको सेवा विस्तार र आधुनिक उपकरणहरूको प्रयोगले नागरिकलाई गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको छ । पहिले सामान्य उपचारका लागि काठमाडौँ धाउनुपर्ने बाध्यता विस्तारै घट्दै जानु विदुरको सकारात्मक रूपान्तरणको संकेत हो ।
पर्यटनका दृष्टिले विदुर सम्भावनाको खानी हो । नजिकै रहेको नुवाकोट दरबार, नुवाकोटको स्वयम्भू महाचैत्य तथा अन्य धार्मिक स्थलहरू र ऐतिहासिक सम्पदाले यस क्षेत्रलाई सांस्कृतिक पर्यटनको आकर्षक गन्तव्य बनाउन सक्छन् । त्रिशूली नदीमा हुने ¥याफ्टिङ र आसपासका डाँडाहरूमा विकास हुँदै गरेको साहसिक पर्यटनले नयाँ पुस्ताका पर्यटकहरूलाई आकर्षित गरिरहेको छ । यदि यी सम्पदाहरूलाई व्यवस्थित प्रचार–प्रसार र पूर्वाधारसँग जोड्न सकियो भने पर्यटन विदुरको आर्थिक मेरुदण्ड बन्न सक्छ ।
युवा शक्ति विदुरको सबैभन्दा ठूलो पूँजी हो र यसलाई स्थापित गराउन सके मात्र विदुर उत्कृष्ट नगरीको रुपमा चिनिन सक्छ । ऊर्जावान र सिर्जनशील युवा जनशक्तिलाई सीप, प्रविधि, उद्यमशीलता र खेलकुदसँग जोड्न सके सामाजिक रूपान्तरण र आर्थिक विकास दुबैलाई तीव्र गति दिन सकिन्छ । खेलकुद पूर्वाधारमा भइरहेको लगानीले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने आधार तयार गरिरहेको छ । यसलाई अझै बढवा दिनु पर्छ ।
यससँगै, डिजिटल रूपान्तरण विदुरको अर्को महत्वपूर्ण अवसर हो । ई–गभर्नेन्स, स्टार्टअप इकोसिस्टम, डिजिटल सेवा र सूचना प्रविधिको विस्तारले नगरलाई ”स्मार्ट सिटी“ तर्फ उन्मुख गराउन सक्छ । प्रविधिमा आधारित सेवा र नवप्रवर्तनलाई प्रोत्साहन दिन सके विदुरले नयाँ आर्थिक मोडेलको उदाहरण प्रस्तुत गर्न सक्छ ।
अन्ततः, विदुर किन अझै विकास र लगानीको पूर्ण केन्द्र बन्न सकेन भन्ने प्रश्नको उत्तर यसको अपार सम्भावनामा नै लुकेको छ । चुनौतीहरू अवश्य छन्, तर ती समाधानयोग्य छन् । यदि कृषि आधुनिकीकरण, व्यापार विस्तार, पर्यटन प्रवद्र्धन, शिक्षा सुधार र पूर्वाधार विकासलाई एकीकृत रणनीतिका साथ अघि बढाइयो भने विदुर निकट भविष्यमै नेपालको एक नमुना नगरका रूपमा स्थापित हुन सक्छ ।
आज विदुर केवल एक शहर होइन, यो सम्भावनाको प्रतीक हो । यहाँ इतिहासको गौरव, वर्तमानको प्रयास र भविष्यको सपना एकैसाथ अघि बढिरहेका छन् । अब आवश्यक छ, ती सम्भावनालाई कार्यान्वयनमा रूपान्तरण गर्ने स्पष्ट दृष्टि, दृढ नेतृत्व र सामूहिक प्रयास।

तब मात्र विदुर साँच्चिकै विकास र लगानीको केन्द्र बन्नेछ ।
लेखकः सरोज बानियाँ, युवा अभियान्ता एवं केन्द्रिय अध्यक्ष, नेपाल युवा परिषद
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुर किन बनेन विकास र लगानीको केन्द्र ?
पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि
ग्लोवल मन्टेश्वरी विद्या मन्दिरको १३ औँ वार्षिकोत्सव सम्पन्न
कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग





प्रतिक्रिया