नेपाली कांग्रेसको १५ औं महाधिवेशन र वर्तमान राजनीतिको यथार्थ

नुवाकोट । नेपाली कांग्रेस यतिबेला आफ्नो आन्तरिक लोकतन्त्र र विधानको कसीमा उभिएको छ ।

१५औँ महाधिवेशनको सँघारमा पार्टीभित्र देखिएको गम्भीर मतभेदले पार्टीको भविष्य, जनविश्वास र आगामी निर्वाचनमा पर्न सक्ने प्रभावबारे चौतर्फी बहस सिर्जना हुन पुगेको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका युवा नेताहरूले निर्वाचनअघि नै पार्टीको आन्तरिक अधिवेशन गर्नुपर्ने अडान राख्दा संस्थापन पक्ष भने विधानले दिएको सुविधा प्रयोग गरी कार्यकाल थप गरेर निर्वाचनपछि मात्र महाधिवेशन गर्ने पक्षमा उभिएको छ ।
महामन्त्री गगन थापाले पार्टीको विधान र लोकतान्त्रिक मूल्यको कदर गर्दै निर्धारित समयमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका छन् । उनको तर्क छ कि हरेक चार वर्षमा महाधिवेशन गर्नु पार्टीको जीवन्तता, नयाँ नेतृत्वको विकास र कार्यकर्तामा ऊर्जा भर्ने माध्यम हो । लोकतान्त्रिक पार्टीका लागि नियमित अधिवेशनले आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँछ, नयाँ विचार र कार्यक्रमहरूलाई आत्मसात गर्दछ र जनअपेक्षा अनुसार पार्टीलाई गतिशील बनाउँछ । उनले निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्दा नयाँ जनादेश प्राप्त नेतृत्वले निर्वाचनको तयारी गर्दा पार्टीमा एकता र उत्साह थपिने तर्क गरेका छन् । तर वर्तमान राजनीतिक परिस्थितिमा महामन्त्री थापाले उठाउनुभएका एजेण्डाहरू सैद्धान्तिक रूपमा जतिसुकै सही भए पनि, वर्तमान राजनीतिको जटिलतालाई केलाउँदा निर्वाचनअघि नै महाधिवेशन सम्पन्न गर्नु अव्यवहारिक र असम्भवप्रायः देखिएको छ ।

सरकारले आगामि फागुन २१ गते निर्वाचन गर्ने घोषणा गरेर कार्यतालिका समेत सार्वजनिक गरिसकेको अवस्था छ । वर्तमान सरकारको म्याण्डेट पनि निर्वाचन समयमै गर्ने नै हो । किनभने यो विषम परिस्थितिमा निर्माण भएको सरकार हो । अहिले देशनै संक्रमणकालीन अवस्थामा रहेकाले यसको निकास भनेकै शान्तिपूर्ण र भयरहित निर्वाचन हो । निर्वाचन नै लोकतन्त्रको बलियो आधार भएकाले नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक पार्टी निर्वाचनको मुख्य उद्देश्यबाट पछि हट्न सक्दैन । नेपाली कांग्रेस जस्तो ऐतिहासिक लोकतान्त्रिक पार्टीले निर्वाचनमा हार व्यहोरे वा निर्वाचनबाट विमुख हुने अवस्था आयो भने त्यसले देश र पार्टी दुवैमा गम्भीर र दूरगामी असर पार्न सक्छ । नेपाली कांग्रेस, नेपालको लोकतान्त्रिक आन्दोलनको पर्याय हो । यस पार्टीको उपस्थिति र सक्रियताले नेपालको लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउँदै आएको छ ।
यदि कांग्रेस निर्वाचनमा कमजोर भयो वा विमुख भयो भने लोकतान्त्रिक प्रक्रियामा नै प्रश्नचिह्न खडा हुन सक्छ । यसले गर्दा जनताको लोकतान्त्रिक प्रणालीप्रतिको विश्वास घट्न सक्छ । कांग्रेस जस्तो मध्यमार्गी र समावेशी पार्टी कमजोर हुँदा राजनीतिक ध्रुवीकरण बढ्छ । जसले गर्दा अतिवादी शक्तिहरूलाई स्थान मिल्न सक्छ र देशमा राजनीतिक अस्थिरता झन बढ्दै जान्छ । गठबन्धनको सरकार बने पनि वा एकल पार्टीको सरकार बने पनि कांग्रेसको भूमिका बिना स्थायीत्व र समावेशी शासन कायम गर्न कठिन नै हुन्छ ।
कांग्रेसले विगतमा सुशासन, आर्थिक विकास र जनजीविकाका सवालमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । यदि यो पार्टी कमजोर भयो भने देशको विकासको गतिमा अवरोध आउन सक्छ । बलियो प्रतिपक्षको अभावमा सरकारलाई उत्तरदायी बनाउन र गलत निर्णयहरूलाई रोक्न कठिन हुन्छ । जसले सुशासनमा नकारात्मक असर पार्दछ । नेपाली कांग्रेसको अन्तर्रष्ट्रिय स्तरमा पनि छुट्टै पहिचान भएकाले लोकतान्त्रिक मूल्यमान्यतामा आधारित कांग्रेसको कमजोर उपस्थिति वा बहिर्गमनले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असर पार्न सक्छ । नेपालको छवि एक स्थिर लोकतान्त्रिक राष्ट्रको रूपमा स्थापित गर्न कांग्रेसको भूमिका महत्वपूर्ण छ । जेनजी आन्दोलनले परम्परागत राजनीतिक दलहरूप्रति युवाहरूको असन्तुष्टि झल्काएको छ ।
यदि कांग्रेसले यसलाई सम्बोधन गर्न सकेन र निर्वाचनमा असफल भयो भने नयाँ राजनीतिक शक्तिहरूको उदय हुन सक्छ । यो सकारात्मक भए पनि, नयाँ शक्तिहरूले तत्काल स्थायित्व दिन नसक्ने र राजनीतिक संक्रमणकाल झनै लम्बिन सक्ने जोखिम यतिबेला देखिएको छ । लगातारको हार वा निर्वाचनबाट विमुख हुने अवस्थाले पार्टीको अस्तित्वमाथि नै प्रश्नचिह्न खडा गर्न सक्छ । यसले कार्यकर्ताको मनोबल घटाउँछ, पार्टी छाड्ने क्रम बढ्छ र पार्टीको सांगठनिक संरचना कमजोर हुन्छ । निर्वाचनको हारले पार्टीभित्र आन्तरिक कलह र गुटबन्दीलाई अझ बढावा दिन्छ । नेतृत्वमाथि प्रश्न उठ्छ र शक्ति संघर्ष तीव्र हुन्छ । यसले गर्दा कांग्रेस पार्टी झन् कमजोर र विभाजित बन्न सक्ने खतरा छ ।
यस्तो विषम परिस्थितिमा यतिबेला कांग्रेस महाधिवेशन लक्षित छलफलमा अल्झिन पुगेको छ । यो आगामी निर्वाचनको तयारीका लागि पार्टीसँग पर्याप्त समय छैन । निर्वाचन आयोगले तोकेको मिति र त्यसको तयारीका लागि आवश्यक प्रक्रियाहरू तीव्र गतिमा अघि बढेका छन् । यस्तो बेला पार्टीको सम्पूर्ण शक्ति निर्वाचनमा होमिनु पर्ने हुन्छ । यदि अहिले महाधिवेशनको प्रक्रिया सुरु गरियो भने यसले पार्टीको सम्पूर्ण ध्यान निर्वाचनबाट विकेन्द्रित गर्नेछ । महाधिवेशनको प्रक्रियामा वडादेखि केन्द्रसम्मका अधिवेशनहरू, प्रतिनिधि चयन, विभिन्न पदका उम्मेदवारी र प्रचार–प्रसार, निर्वाचन समितिको गठन लगायतका जटिल र समय लाग्ने प्रक्रियाहरू हुन्छन् । यी सबै काम निर्वाचनअघि सम्पन्न गर्न असम्भवप्रायः देखिन्छ ।
महाधिवेशन भनेको केवल नेतृत्व चयन मात्र होइन, यो आन्तरिक रूपमा शक्ति संघर्षको मैदान पनि हो । महाधिवेशनको प्रक्रिया सुरु हुनासाथ पार्टीभित्र विभिन्न गुट र उपगुटहरू सक्रिय हुन्छन् । उम्मेदवारहरूबिचको प्रतिस्पर्धाले आन्तरिक एकतामाथि गम्भीर चुनौती खडा गर्न सक्छ । निर्वाचनको मुखैमा पार्टीभित्र यस्तो कलहले कार्यकर्ताको मनोबल घटाउने मात्र होइन, यसको प्रत्यक्ष नकारात्मक असर निर्वाचनको परिणाममा पर्न सक्छ । आजको दिनमा कांग्रेसलाई आन्तरिक कलह होइन, बलियो एकता र साझा लक्ष्यका साथ अगाडि बढ्नुपर्ने आवश्यकता छ । महाधिवेशनको रणभूमिमा होमिएर शक्ति क्षय गर्नुभन्दा आगामी निर्वाचनमा विजय हासिल गर्ने लक्ष्यमा एकताबद्ध भएर लाग्नु पार्टी र राष्ट्र दुबैको हितमा हुन्छ । महाधिवेशन एक विशाल र खर्चिलो प्रक्रिया हो । यसका लागि ठूलो मात्रामा आर्थिक स्रोत, जनशक्ति र समयको आवश्यकता पर्छ ।
निर्वाचनको तयारीका लागि पनि पार्टीलाई यिनै स्रोत र साधनको आवश्यकता पर्दछ । यदि दुबै प्रक्रिया एकैसाथ अगाडि बढाइयो भने साधन र स्रोतको व्यवस्थापनमा गम्भीर चुनौती आउन सक्छ । यसले गर्दा दुबै प्रक्रिया अधुरो वा कमजोर हुन सक्छ, जसको नकारात्मक परिणाम पार्टीले भोग्नुपर्ने हुन्छ ।
निर्वाचनको मुखमा महाधिवेशन गर्दा नयाँ नेतृत्वले नयाँ नीति तथा कार्यक्रमहरू ल्याउन सक्ने सम्भावना रहन्छ । यसले गर्दा मतदाताहरूमा पार्टीको नीतिगत अडानबारे भ्रम सिर्जना हुन सक्छ । अहिले पार्टीले आफ्ना नीति र कार्यक्रमहरूलाई स्पष्ट रूपमा जनतामाझ राखेर जनादेश माग्नुपर्ने बेला हो । नयाँ नेतृत्व आउँदा नीतिगत परिवर्तनको सम्भावनाले मतदाताहरूमा अस्थिरताको सन्देश जान पनि सक्छ । नेपाली कांग्रेसको विधानले विशेष परिस्थितिमा कार्यकाल थप गर्न सक्ने सुविधा दिएको छ । यो प्रावधान केवल देखावटी रूपमा राखिएको होइन, बरु विषम परिस्थितिमा पार्टीलाई अगाडि बढाउनका लागि हो । विगतमा पनि यस्तो सुविधा प्रयोग भएको अनुभव छ । वर्तमान अवस्थामा निर्वाचनको सँघारमा महाधिवेशन गर्दा सिर्जना हुने जटिलताहरूलाई मध्यनजर गर्दै यो संवैधानिक सुविधा प्रयोग गर्नु नै बुद्धिमानी देखिन्छ । किन भने पछिल्लो जेनजी युवा विद्रोहपछिको देशको र देशको आन्तरिक राजनीतिक अवस्था अत्यन्त संवेदनशील र जटिल हुन पुगेको छ ।
जसका कारण वर्तमान राजनीतिक समीकरण निकै तरल र गतिशील बनेको अवस्था छ । गठबन्धनको राजनीति र क्षेत्रीय तथा राष्ट्रिय स्तरका मुद्दाहरूले गर्दा पार्टीको ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बाध्यता यतिबेला छ । यस्तो बेलामा आन्तरिक मामिलामा अल्झिँदा पार्टीले आफ्नो राजनीतिक प्रभावकारिता गुमाउन सक्छ । बाह्य चुनौतीहरूको सामना गर्न आन्तरिक रूपमा सुदृढ र एकताबद्ध पार्टीको आवश्यकता पर्दछ । यस्तो अवस्थमा पार्टीभित्र महाधिवेशन कि निर्वाचन भन्ने मतभेदले पार्टीको अन्तरकलह बढ्ढै जाने भएकाले अहिलेलाई यी समग्र विषय थाति राख्दै पार्टी निर्वाचनतर्फ केन्द्रीत भएर आन्तरिक एकता र मजबुद संगठन बनाएर एकताको सन्देश प्रवाह गर्नुपर्ने आवश्यक देखिन्छ ।
महामन्त्री गगन थापाले उठाउनुभएका एजेण्डाहरू सैद्धान्तिक रूपमा प्रशंसनीय भए पनि वर्तमान राजनीतिको कठोर यथार्थ, समयको चाप, आन्तरिक एकताको आवश्यकता र निर्वाचनको अपरिहार्यतालाई केलाउँदा निर्वाचनपछि मात्र महाधिवेशनमा जानु नै नेपाली कांग्रेसका लागि व्यवहारिक, रणनीतिक र बुद्धिमानी निर्णय हुने देखिन्छ । पार्टीले अहिले आफ्नो सम्पूर्ण शक्ति आगामी निर्वाचनमा विजय हासिल गर्नका लागि केन्द्रित गर्नुपर्छ ।
निर्वाचनपछि प्राप्त जनादेश र नयाँ राजनीतिक परिवेशमा पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्नु नै पार्टीको आन्तरिक लोकतन्त्रलाई सुदृढ बनाउँदै जनविश्वासलाई अझ बलियो बनाउने सही बाटो हुनेछ । अहिलेको प्राथमिकता निर्वाचन हो, र निर्वाचनमा होमिनु नै नेपाली कांग्रेसको भविष्यका लागि सर्वोत्तम विकल्प हो ।
महाधिवेशनको रडाकोमा अल्झिएर पार्टीको ऊर्जा क्षय गर्नुभन्दा, एकताबद्ध भएर निर्वाचन जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्छ । निर्वाचन जितेर मात्रै कांग्रेसले आफ्नो एजेण्डा कार्यान्वयन गर्न र लोकतन्त्रलाई बलियो बनाउन सक्छ । त्यसैले, अहिलेको सन्दर्भमा नेपाली कांग्रेसमा पहिले निर्वाचन, अनि मात्र महाधिवेशन गर्नु नै सही र व्यवहारिक देखिन्छ ।
लेखक श्रेष्ठ समयसामयिक विषयमा कलम चलाउँछन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मूल्यवृद्धिको मार खेप्दा पनि धादिङको कालिदह खोलामा स्थायी पुल निर्माण सम्पन्न
नुवाकोटकाे गाउँगाउँमा सुन्तला–कागतीका बिरुवा, कृषकमा पलायो नयाँ आशा
रसुवागढी सीमा नाका दुई दिन बन्द
आज असार पन्ध्र, २३ औं राष्ट्रिय धान दिवस मनाइँदै
सहकारीमा हर्जाना ५ प्रतिशतमा सीमित, लाभांश १५ प्रतिशतभन्दा बढी बाँड्न नपाइने





प्रतिक्रिया