पत्रकारिता र चुनाव

विदुर खबर २०७८ वैशाख २३ गते १०:४२

महाभारतमा एउटा प्रसिद्ध श्लोक छ, ‘धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः’ अर्थात् धर्मक्षेत्र र लडाइँको क्षेत्रमा अनेक सम्भावना हुन्छ । श्लोकले भनेझँै यो पटक म नेपाल पत्रकार महासंघको चुनावी मैदानमा उभिएको थिएँ । आफू आबद्ध एक संस्थाको हैसियतमा मैले मेरो मत माग्ने र दिने अधिकारको प्रयोग गर्न मैदानमा उभिएको थिएँ । देशभरमा नुवाकोटका पत्रकारको चुनावले फरक सन्देश प्रवाह भएको थियो । निर्वाचनमा हदैसम्मको धाँधली र लापरबाहीले दुनियाँलाई गिज्याएको थियो । मेरो पत्रकारिता यात्रा र यो नुवाकोटको निर्वाचनबारे सानो परिचर्चा यो आलेखमा ।

Advertisement


मेरो नजरमा युवा मञ्च, जनादेश, छाल पत्रिका परेको थियो । विचारको आलोकमा उभिएको छाल पत्रिकाले हाम्रो रगत उम्लिएको थियो । विद्यार्थी राजनीति र पत्रकारिताको यात्रामा मैले पुनः छाल निकाल्ने पहल गरेँ । शुभलाल सरको पहलमा पुनः त्रिशूली छालको प्रकाशन सुरु भयो । मैले कलम चलाउन थालेको नुवाकोट आवाज साप्ताहिकबाट हो । स्वार्थको धोक्रो भरिएन कि जनपक्षीय चरित्र बिकेन कुन्नी ? त्यो पत्रिका त हेर्दा हेर्दै सहिद भयो ।


कलमको सिपाही, छाल सम्पादक सहिद रामप्रसाद पाठक रवि, युद्धपत्रकार सहिद कमल एसीको रगत बगेको नुवाकोटको माटोमा उभिएर अतित सम्झिँदा मन पोल्छ । हिजोका सपनाहरू र आजको माओवादी पत्रकारहरू अनि त्यस्तै प्रेरणाले हो मैले कलमको यात्रा जारी राखेको । पत्रकार हुँ भन्ने दम्भ छैन, तर म पत्रकारिता गरिरहेछु । म पनि कलमको एक सिपाही हुँ । आस्था र स्वाभिमान बन्धकी राखेको छैन र राख्ने छैन !

नारायण नेपाल
Advertisement

समयको समीक्षा गर्दा लेखन र प्रकाशनको यात्रामा दशकौँ बितिसकेछ । जिल्लामा पत्रकार महासंघको सदस्यता लिने ठुलो रहर थियो त्योबेला हामीलाई । हामीले सदस्यता प्राप्तीको महाभारत कम्ती झेल्नुपरेको थिएन ! सास्ती झेलेरै भए पनि सदस्यता पाएको आठ बर्ष भएछ । महासंघ जिल्लामा हाम्रै उमेर समुह मिल्दोजुल्दो बाहेक तिन पुस्ताका पत्रकार छन् यतिखेर । ति बापुस्ता दाईपुस्ता र भाईपुस्ता । यस्तै उस्तैमा १ सय ७४ जना सदस्य पुगेछन् नुवाकोटको पत्रकार महासंघ परिवारमा ।


नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनमा भएको गठबन्धनको छलफलसँगै नुवाकोट जिल्लामा अध्यक्षको उमेदवारको लागि प्रस्ताव आयो । प्रेस चौतारी र प्रेस युनियनका केही साथिहरूको बिचमा छलफल सकेर म जिल्लातिर लागेँ । फोन सम्पर्कमा महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनाल लगायतसँगको छलफल पनि निकै चलेको थियो ।
जिल्लाको यात्रामा छलफलको सुरुवात देविघाट पुगेपछि माधव गजुरेलबाट भयो । विदुरमा नवदिप श्रेष्ठ र भोलिपल्ट बिहान प्रेस चौतारीका केन्द्रीय सदस्य देवचन्द्र भट्टसँग समग्रमा छलफल गरेँ । म, विद्यार्थी आन्दोलनको सहयात्री बिष्णु अधिकारी र रुपा अर्यालबिच भेट भएर केही सल्लाहपछि एकै मोर्चा बनेर निर्वाचनमा जाने सहमती भयो । उम्मेद्धारी दर्ताको प्रक्रियातिर लागियो । तर उम्मेद्धारीको तयारी भन्दा बढी साथिहरूबिच वार्ताको आसामा बसेका थियौँ । सकेसम्म सहमतीमै अगाडि बढौँ भन्ने थियो । उम्मेद्धारी दर्ताको अन्तिम समय आयो तर न वार्ताबाट उपलब्धि हात लाग्यो, न त उम्मेद्धार नै टुंगो लगाउन सकियो । फलस्वरुप अधकल्चो प्यानल दर्ता गर्नुपर्ने अवस्था रह्यो ।

Advertisement


चुनाव हारेर राजनीति जित्ने मोर्चा थियो मेरो लागि यो चुनाव । जीवनमा पहिलोपटक निर्वाचनमा उम्मेद्धार बनेको थिएँ म । मैले मेरो जीवनमा दोस्रो मतदान गरेको थिएँ आफ्नै लागि । मेरो लागि नुवाकोटको राजनीति र पत्रकारितालाई फरक पाटोबाट सिक्ने विश्वविद्यालय बन्यो यो पत्रकारको निर्वाचन ।
यो निर्वाचनमा पत्रकार र पत्रकारिताभन्दा माओवादी बहस अलि चुलिएको थियो । संघीय सांसद नारायण खतिवडा, प्रदेश सांसद हिरानाथ खतिवडा, बाग्मती प्रदेश उपसभामुख राधिका तामाङ, विदुरका मेयर सञ्जु पण्डित र गजेन्द्र जिहरू ज्यान फालेर होमिएका थिए । कतिपय काँग्रेसी नेता भने ज्यान एकातिर, मन अर्कोतिर डुलाइरहेका थिए । पूर्वमाओवादी नेताहरूको अभिव्यक्तिले चुनावी माहोलमा केही उत्तेजना सिर्जना गरेको थियो । उनीहरूले मलाई प्रतिगमनको मतियार भएको आरोप लगाए । श्यामहरि पाण्डे, विष्णु नेपाली लगायतका युवा विद्यार्थीहरूले सामाजिक सञ्जालमै त्यो अभिव्यक्तिको प्रतिवाद गरे । नवराज ढुंगाना ‘विज्ञान’, शुभलाल श्रेष्ठ, भरत सिग्देल, मिना वाइवा, पुरुषोत्तम लम्सालले सामाजिक सञ्जालमा गरेका टिप्पणी र समर्थनको लहरले जिल्लामा जबरजस्त बहस चुलिएको थियो ।


लम्सालको एउटा स्टाटस थियो,
नुवाकोटको पत्रकार निर्वाचनबारे…

‘संस्थापन पक्षले आफूलाई जतिसुकै बलियो दाबी गरोस् । उसको विपक्षमा बोल्न र उभिन दर्जनौँ मुद्धा र विषय हुन्छन् । यहाँ त झन् पत्रकारिताको कुरो छ । विद्रोह बोल्दा साथीभाइ रिसाउलान् कि भन्ने विषयले कुनै महत्व राख्दैन । टाउको गन्न पाउने अधिकार त सबैलाई हुन्छ तर टाउकोभित्र गिदी हुन्छ र गिदीभित्र विचार पनि हुन्छ भनेर विचार गरिएन भने अनर्थ हुन्छ । एकातिर माओवादी केन्द्र र अर्को नेपाली काँग्रेसको अनुहार उभ्याएर बिचमा बस्दैमा सबै मेरो र म सबैको भन्न त पाइएला तर त्यस्तो हुँदैन । बाबुराम भट्टराई माओवादी हुन नसकेर गोरखामा काँग्रेस हुुनुपर्ने अवस्था आउनु र नारायण नेपाल नुवाकोटमा अग्रगमनको अनुहार होइन भन्नुमा भेद छ । शरिरको उचाई नापेर यो फुच्चे र त्यो फुच्चे भन्दैमा विचारको उचाई नापिँदैन भन्ने हेक्का होस् । आफ्नो ब्रम्ह छोडेर स्वः त्वः बिर्सिएर राजनीति खेलियो भने पनि अनर्थ हुन्छ । असन्तोषहरू जम्मा भएपछि पग्लेर लाभा हुन्छ । पत्रकारलाई मुख छोपेर पत्रकारिता गर्नपर्ने बनाउन जिल्लाको पार्टीका नेताहरूको पनि त भूमिका हुन्छ । कसो जय नेपाल कमरेड ?’


नुवाकोटमा के लागेको थियो र चुनाव त काठमाडाँैमा पो लागेको थियो । त्यसको चारगुणा धेरै चुनाव त मेरो डिफेन्सर ग्रुपमा कमाण्डर थिए लव प्याकुरेल । जिल्लामा मेरो उम्मेद्धारीपछि केही पत्रकारहरूले उकुसमुकुसबाट विद्रोह गर्ने आँट गरेका थिए । पत्रकारको यस्तो गुम्साहट के को होला ? किन भयो होला यस्तो वातावरण ? मेरो मनमा प्रश्नहरू उब्जिए । पत्रकारको चुनाव पत्रकारलाई भन्दा नेतालाई धेरै, नेताभन्दा व्यापारीलाई धेरै लागेको किन होला ? म झनै अचम्मित थिएँ ।


भोलिपल्ट उम्मेद्धारी फिर्ताको समय थियो । फिर्ताको लागि दबाब र प्रलोभनको श्रृङ्खला सुरु भयो । माकुराको जालोजस्तो जेलिएको राजनीति, पत्रकारिता, व्यापारी र प्रशासनको सम्बन्धको जालो पर्गेल्न जो कोही सिधासादाको लागि महाभारत नै पर्ने रहेछ ।


‘के हो जिल्ला हल्लाएको एक्लै ?’ लेखक अनिल शर्माले फोनमा भन्नुभयो । म जिल्ल परेँ । तीनभोटे किन उफ्रिएको होला ? भन्ने त कति भए, भए ! हुँदाहुँदै काठमाडाँैमा सल्लाह गरेका संगठनका नेताहरूले समेत फोन गरेर फिर्ता लिन पो निर्देशन गरे ! यावत् श्रृङ्खला चलि नै रह्यो । लाग्यो, यो हावाहुण्डरीमा एक्लै उभिन त सतिसाल बन्न सक्नुपर्ने रहेछ । मेरो सहयोगमा भोट माग्न आउनेलाई धम्की दिएर लखेट्नसमेत पछि परेनछन् खतिवडा एण्ड कम्पनी । साथीहरूको त्यो विद्रोहपूर्ण माया र स्नेहलाई मैले जिन्दगीमा भुल्नेछैन ।


निर्वाचनमा सहयोगी नेताहरू र उम्मेद्धारसहित समीक्षा बैठक बसियो । साथिहरूको जिम्मेवारी बाँडफाँड गरियो । एक–एक भोटको हिसाब निकाले । भोट गने । सबै दंग, अब त चुनाव जितियो !


तर भोलिपल्ट मतदान स्थलमा अनेक प्रकारका तमासाहरू देखिन थाले । हामीले संयमित भएर निर्वाचन प्रक्रिया अघि बढाएका थियाँै । म आफँैले तीन भाइ फर्जी मतदातालाई त्यहाँबाट बाहिर निकालेको थिएँ । मतदान सम्पन्न भएपश्चात् मत्रपत्रमा संकेत नम्बर भएको कुरा बाहिरियो । यो विषयमा छलफल व्यापक भयो । बाहिर वातावरण अन्योल थियो । होहल्ला बिचमा हामीले केन्द्रमा उजुरीसहित मतगणना रोक्न माग ग¥यौँ । केन्द्रको निर्देशनबेगर एकपक्षीय मतगणना र घोषणा गर्दै निर्वाचन समिति फोन अफ गरेर त्यहाँबाट हिँडे । जिल्ला निर्वाचन समितिले केन्द्रीय निर्वाचन समितिलाई नटेरेको प्रष्ट थियो ।


चैत्र २६ गते प्रमुख जिल्ला अधिकारीलाई हामीले मतपत्र सुरक्षाको माग राख्दै पत्र दिएका थियाँै । प्रजिअले केन्द्रको पत्र नआएसम्म केही गर्न नमिल्ने भन्दै पन्छिने बहाना खोजे । केन्द्रीय निर्वाचन समितिले जिल्ला प्रशासनलाई पत्र दियो । तर त्यति नै बेला मतपेटिका बोकेर महासंघको कार्यालयतिर साथिहरू कुदाकुद गरेको दृष्य विदुरमा देखियो । प्रहरी प्रशासन र उम्मेद्धारको रोहबरमा मतपत्रहरू मुचुल्का गरी मतपेटिका प्रहरीको जिम्मा लगाइयो । यति गर्दा मध्यरात भएको थियो ।


चैत्र २७ गते बिहान प्रजिअले फोन गरेर भने, ‘आफँै गाडी खोजेर लैजानु होला ।’ उनको आदेशले म चकित परेँ, यो मेरो र कपिलदेवको झगडा हो कि महासंघको सवाल ? हल्का पारो तात्यो, प्रतिप्रश्न गरेँ, ‘सर, त्यो केन्द्रीय निवार्चन समितिको पत्रले के भनेको छ ? के नुवाकोटको सिडियोले सकेन मैले विकल्प खोज्न प¥यो भन्ने ? अनि हिजो तपाईंले कतिवटा गाडीको लागि सवारी पासमा सही गर्नुभयो थाहा छ ?’ उनले भने ‘छैन ।’ ‘अनि त, सालासाली बोकेर ससुराली, मावली, जन्ती जाने हो सरकारी गाडी ?’ मैले यति भनिनसक्दै उनले फोन काटे । जिल्लामा ६ वटा गाडीले पास लिएका रहेछन् । बाँकी गाडी मनखुसी कुदेका थिए । त्यसपछि उनले गाडी व्यवस्था गरे । मुचुल्का उठाइएको मतपत्र महासंघ केन्द्रीय कार्यालय पुग्यो ।

केन्द्रीय निवार्चन समितिले वैशाख २ गते पुनः मतदान गर्ने फैसला दियो । त्यसपछि त जन्ती हिँडेकाहरू मलामी हिँडेजस्तो भयो । जिल्लातर निर्वाचन समितिको मिलेमतोमा गरेको धाँधलीलाई केन्द्रीय निर्वाचन समितिको पत्रले प्रमाणित गरेको थियो । तर फेरि पनि चोरलाई चाबी सुम्पने रवैयाले पहिलेकै अनियमितताको श्रृङ्खला दोहोरिने सम्भावना यथावत थियो । पुनः मतदान हुनेभयो । तर केन्द्रले पठाएको पत्रमा मिति तोकिएको थिएन । जिल्ला निर्वाचन समितिले ६ गते साँझ अबेला पत्र प्राप्त भएको जानकारी दियो । जहाँ ८ गते निर्वाचन मिति तोकिएको रहेछ । अब चाहिँ दल प्रवेशको अफर चल्न थाल्यो । माओवादी मित्रहरूले मुखै फोरेर भन्न थाले, ‘तपाईं अब यता आएर लड्नुपर्छ । एमाले ओली पक्षका साथीहरू भन्दैथिए, ‘देख्नु भो नि कमरेड अवस्था ? अब तपाईंहरू जस्तो युवाले नेतृत्व सम्हाल्नुपर्छ आउनुहोस् ढिला नगरौँ ।’ यावत्यावत् । वैशाख ७ गते निर्वाचन समितिका एक सदस्यले राजिनामा दिए । उनले राजिनामा पत्रमा निर्वाचन समिति नै धाँधलीको मतियार रहेको खुलाए । हामीले लगाउँदै आएको आरोप सो राजिनामाले फेरि प्रमाणित गरिदियो । ८ गते निर्वाचन तोकिएको दिन, अनौपचारिक छलफल गर्दा निर्वाचन केही दिन स्थगन गरेर जाने सहमती जुट्न लागेको थियो । त्योबेला एकपक्षीय रूपमा निर्वाचन समिति अघि बढेको रहेछ भन्ने कुरा हामीलाई मतदान केन्द्रबारे जानकारीसमेत नदिई गरेको तयारीबाट थाहा पायौँ । हामिले मतदान स्थल खोज्दै असहमति पत्र बुझाएर बाहिर निस्कियौँ । एकपक्षीय उम्मेद्धार, एकपक्षीय निर्वाचन समिति, प्रहरीको बाक्लो उपस्थिति र पत्रकार बाहेकका राजनीतिक कार्यकर्ताहरूको हुलमुल ठ्याक्कै ज्ञानेन्द्रको नगर निर्वाचनको झल्को दिनेखालकै थियो । निर्वाचनको नाटक मञ्चन गरियो र पत्रकारको राजनीतिक सत्ता कब्जाको लागि मतदान हैन मतलुटान प्रकियाबाट कब्जा गरेको घोषणा गरे ।


लोकतन्त्रको मुटु किन भनिन्छ निर्वाचनलाई ? निर्वाचन पक्ष र विपक्षको बिचमा हुन्छ होला नि ? निर्वाचन विधि र विधानअनुसार हुन्छ होला नि ? क्या अजिबको लोकतन्त्रको अभ्यास गरे साथिहरूले । त्यो बुद्धिले केन्द्रीय निर्वाचन समिति कब्जा गर्न पाए त सायद सत्ता कब्जा गर्न कुनै क्रान्ति वा विद्रोह कुर्नु पर्दैन होला !

नीति र विधिमा भएको त्रुटि औल्याएको पत्र हामीले पत्रकार महासंघको केन्द्रीय समिति, निर्वाचित अध्यक्ष र महासचिव लगायत नेताहरूलाई तत्काल इमेलबाट जाहेरी दिएका थियौँ । त्यस विषयमा पत्रकार महासंघको आधिकारिक जवाफ र धारणाको पर्खाईमा छौँ ।


सत्य यही हो,
यो खेलभित्र झेल भो,
मैले निसाफ खोजेको थिए
तिमिहरूले हिसाब देखायौँ

आजको त्रिशुली खबर साप्ताहिकबाट ।

प्रतिक्रिया