मैलुङ खोलाका स्थानियले बाँडफाँड भएको ४ वर्ष बित्दा पनि पाएनन् सेयर

विदुर खबर २०७७ चैत ३० गते १५:२०

रसुवा । रसुवाको साविक हाकु गाविसमा निर्माणाधिन ५ मेगावाटको मैलुङ खोला जलविद्युत आयोजनाले स्थानीय र जिल्लावासीका नाममा बाँडफाँट गरेको सेयर ४ वर्षसम्म पनि नदिएपछि सेयर खरीद गरेका लगानीकर्ता अन्यौलमा परेका छन् ।

Advertisement

आयोजनाले ८ जेठ २०७४ मा प्रभावित क्षेत्र डाँडागाउँ, राम्चे र हाकुका बासिन्दाका लागि १ लाख ८४ हजार ७२ कित्ता र जिल्लाबासीहरुका लागि समेत सोही संख्यामा सेयर निष्कासन गरेको थियो । यसरी निष्काशन गरेको सेयर १ साउन २०७४ मा वितरण गरिएको थियो । तर, आयोजनाको सेयर अहिलेसम्म लगानीकर्ताले किनबेच गर्न पाएका छैनन् ।

आयोजनाले स्थानीयलाई बाँडफाट गरेको सेयर ३ वर्षसम्म किनबेच गर्न पाइन्न । तर, मैलुङ खोला जलबिद्युत आयोजनाको सेयर भने ४ वर्ष बित्दासमेत अहिलेसम्म कुनै प्रमाणपत्र, नगद वा बोनस सेयर नपाएका लगानीकर्ता कमल तामाङले बताए । उनले भने, “सेयर त ४ बर्ष अघि भरेको हो, प्रचलित नियम कानुन अनुसार हकप्रद सेयर तिन बर्षसम्म बिक्रि गर्न नपाइने भनिएको थियो, तर तोकिएको समय बितिसक्यो, अहिलेसम्म सेयरको बिषयमा न प्रमाणपत्र छ, न डिम्याड खातामा जम्मा छ, केहि छैन्, हामी त के गर्ने, अन्यौलमा पर्यौ ।“

Advertisement

अर्का लगानीकर्ता उत्तरगया गाउँपालिका ५ का उज्वल आचार्यले भने, “हामी मारमा परेका छौँ, लगानी गरिसकेका छौँ, कम्पनीले अहिलसम्म केहि दिएको छैन्, बोनस सेयर पनि आएको छैन्, अन्त कतै लगानी गरेको भए छुट्टै व्याज आइसक्थ्यो, लगानी पनि फस्यो, हामी त के गर्ने अब अन्यौलमा पर्यौ ।“

तामाङ र आचार्य मात्र होइन, यो आयोजनाको सेयर भरेका जिल्लाका अन्य लगानीकर्ता समेत अन्यौलमा रहेका छन् । उक्त आयोजनाको सेयर अहिलेसम्म नेप्सेमा समेत सुचिकृत भएको पाइदैन् ।

Advertisement

आयोजनाको सेयर बारे छानविन गर्न लगानीकर्ता तामाङले आइतबार रसुवाका प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद ढकाललाई निवेदन दिएका छन् । जिल्ला प्रशासन कार्यालय रसुवामा निवेदन दिँदै सेयरको बिक्रि वितरणमा रहेको बन्देज हटाउन र बाँडफाँट भएको सेयरको हिसावकिताव खोजी गर्न माग समेत गरेका छन् । निवेदन बुझे लगत्तै प्रमुख जिल्ला अधिकारी ढकालले आयोजनालाई ध्यानाकर्षण गराएको निवेदन बुझाएका लगानीकर्ता तामाङले बताए ।

जिल्लाको उत्तरगया गाउँपालिका १ मैलुङमा संचालित मैलुङ खोला जलविद्युत आयोजना ५ मेगावाटको आयोजना हो । बर्खाको समयमा ५ मेगावाट बिद्युत उत्पादन हुने भएपनि अहिले डेढ मेगावाट मात्र बिद्युत उत्पादन भइरहेको बताइएको छ । २०७१ सालबाट यो आयोजनाको बिद्युत उत्पादन सुरु भएको हो । २०७२ मा बिनासकारी भुकम्पले आयोजनामा पूर्ण क्षति पुगेको र अहिलेसम्म क्षतिग्रस्त संरचनाको निर्माण समेत हुन नसकेको बताइदै आएको छ । समयमा बिद्युत उत्पादन गर्न नसक्दा प्रधिकरणलाई ९ करोड जरिवाना बुझाएको यो आयोजना घाटामा रहेको बताइएको छ ।

आयोजना प्रमुख बिनय चिपालुका अनुसार कम्पनीको सेयर निष्कासनको जिम्मा सिदार्थ क्यापिटलले पाएको थियो । क्यापिटलको सेयर संकलन केन्द्रहरुबाट बैशाख भित्र प्रमाणपत्र बितरण गर्ने तयारी सिदार्थ क्यापिटलले गरिरहेको उनले जानकारी दिए । उनका अनुसार प्रभाबित क्षेत्र र जिल्लाबासीलाई सुरुमा सेयर निष्कासन गरेको भएपनि अन्य नागरिकका लागि करिब ७ लाख कित्ता सेयर निष्काशनको तयारी छ ।

सर्वसाधारणका लागि सेयर निष्कासन गरे पश्चात मात्र यो कम्पनीको सेयर नेप्सेमा सुचिकृत हुनेछ । त्यसपछि मात्र स्थानीयले समेत किनबेच गर्न सक्ने उनले बताए । सर्वसाधारणलाई सेयर निकाल्न अनुमति पाइसकेको उनले जानकारी दिए । “अहिले हामीले स्वीकृती लिइसकेका छौँ, लगभग लगभग फाइनलमा पुगेका छौँ “ उनले भने ।

प्रतिक्रिया