वाणिज्य बैंकले विभिन्न बहानामा गाउँवासीलाई ऋण नै दिँदैनन् : रमेशबहादुर वस्ती

विदुर खबर २०७७ चैत २६ गते १७:०९

स्थानीय बैंकले सर्वसाधारणलाई कर्जाप्रवाहमा चरम कन्जुस्याइँ गर्ने गरेका छन् । नक्सामा बाटो नकाटिएको लगायत विषय उठाएर बैंकले भरसक गाउँमा कर्जा नदिने नीति लिएको मेरो अनुभव छ । सेवामूलक संस्थाबाट यस्तो व्यवहार हुनु सरासर बेइमानी हो ।

Advertisement

गाउँघरमा प्रायः कतै पनि नक्सामा बाटो काटिएका छैनन् । चाइना जोड्ने राजमार्गको गल्छी–बट्टार खण्डमा समेत अझै नक्सामा बाटो काटिएको छैन भने गाउँघरमा हुने कुरै भएन । फिल्डमा बाटो भएका धितोमा समेत यस्ता विषय उठाएर बैंकले ऋण नदिइरहेको अवस्था छ ।

बैंकको ऋणमा पहुँच नभएका कारण सर्वसाधारण स्थानीय साहुमहाजनकै भर पर्नुपरेको अवस्था छ । सर्वसाधारणलाई चर्को ब्याजबाट मुक्ति दिलाउन र आर्थिक गतिविधि बढाएर जनताको आयस्तर बढाउन स्थानीय तहमा जाने बैंकको कर्जानीति नै बदल्नुपर्छ । त्यसका लागि हाम्रो स्थानीय सरकार जस्तोसुकै पहल र सहयोग गर्न तयार छ ।

Advertisement

यस विषयमा तपाईंको मिडियाले सही समयमा जनतासित प्रत्यक्ष जोडिएको विषय उठाएको छ । तपाईंहरूको यो अभियानमा मेरो घोषित समर्थन छ । म यो अभियानको अंग बन्न तयार छु । गाउँ सरकार र म व्यक्तिगत रूपमा पनि स्थानीय तहका बैंकको सजह कर्जाका लागि अभियानकै रूपमा छलफल चलाउन प्रतिबद्ध छौँ ।

(तारकेश्वर गाउँपालिकामा एक वाणिज्य बैंक र करिब आधा दर्जन लघुवित्तले वित्तीय सेवा दिइरहेका छन्, यद्यपि लघुवित्तको शाखा भने अन्यत्रै छ । बैंकको ब्याजदर लघुवित्तको तुलनामा निकै कम भएकाले ग्राहकको आकर्षण वाणिज्य बैंकमै छ तर धितोका कारण बैंकसम्म सर्वसाधारणको पहुँच छैन । घलुवित्तमा भने आफूलाई आवश्यक परेको थोरै रकम पनि विनाधितो पाइने हुँदा त्यहीँबाट ऋण लिनुपर्ने बाध्यता ग्राहकको छ । ग्रामीण क्षेत्रमा एकातिर वाणिज्य बैंकमा निक्षेपको कैयौँ गुना कम मात्र कर्जाप्रवाह भइरहेको छ भने अर्कोतर्फ जनसाधारणको पहुँच बैंकसम्म पुग्न सकिरहेको छैन । यसैले केही गरौँ भन्ने सोच भएका सर्वसाधारणलाई विनाधितो बैंकमार्फत सुरक्षित र सहुलियतपूर्ण ऋण प्रदान गर्ने उपायको खोजी गर्नु आवश्यक छ ।)

Advertisement

प्रतिक्रिया