बागमती गोल्डकपमा थ्रीस्टार च्याम्पियन

विदुर खबर २०७७ चैत २४ गते ८:३४

नुवाकोट । ललितपुरको थ्रीस्टार क्लब मकवानपुरमा सम्पन्न चौथो बागमती गोल्डकपको च्याम्पियन बनेको छ ।

Advertisement

जनता माविको खेलमैदानमा सोमबार भएको फाइनलमा पाहुना टोली अफ्रिकन रुट्स् एसोसिएसन (एआरए) क्यामरुनलाई ३–२ गोलअन्तरले हराएर थ्रीस्टारले उपाधि जितेको हो । पहिलो हाफमा अफ्रिकन रुट्स् एसोसिएसनले २–० को अग्रता कायम गरे पनि थ्रीस्टारले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै उपाधि हात पारेको हो । दोस्रो हाफमा क्यामरुनको टिमले अग्रता जोगाउन नसक्दा उपाधि गुमाउनु प¥यो । योसँगै प्रतियोगिताका विजेता थ्रीस्टारले ८ लाख र उपविजेता क्यामरुनले ४ लाख नगद पुरस्कार प्राप्त गरे ।

खेलको दोस्रो हाफमा थ्रीस्टारका मनीष डाँगी, निशान खड्काले तीन मिनेटभित्र एक÷एक गोल गरेर खेल बराबरीमा ल्याएका थिए । रूपेश केसीले अन्तिममा पेनाल्टीमा गोल गरेपछि थ्रीस्टारको उपाधि सुनिश्चित भएको थियो । यसअघि, एमफोन र माउसाले गोल गरेर क्यामरुन टिमलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।क्यामरुन पोखरामा जारी १९ औं संस्करणको ‘आहा’ रारा गोल्डकपमा सहभागि हुँदै हेटौंडा आएको थियो । क्यामरुन आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, टोलीले शनिबार चितवनमा सम्पन्न ‘सेन्ट्रल कलेज विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता’को उपाधि हात पारेको थियो । फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको थियो । यति उपलब्धि हासिल गरेपनि मकवानपुरमा यो टिम उपविजेतामै सीमित भएको छ ।

Advertisement

प्रतियोगिताको फाइनलमा ‘म्यान अफ दी म्याच’ थ्रीस्टारका निशान खड्का घोषित भए । उनले नगद ५ हजार प्राप्त गरे । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका रूपेश केसी घोषित भए । उनले ५१ हजार रुपैयाँ पुरस्कार हासिल गरेका थिए । यस्तै, विधागततर्फ क्यामरुनका गोलकिपर डिए सिल्भा प्रतियोगिताका उत्कृष्ट गोलरक्षक घोषित भए ।यस्तै, सोही टिमका आखामी उत्कृष्ट मिल्डफिल्डर र माउसा उत्कृष्ट फरवार्ड बन्न सफल भए । यस्तै, थ्रीस्टारका जीवन गुरुङ र उज्जन श्रेष्ठ क्रमशः उत्कृष्ट डिफेन्डर र उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका थिए । प्रशिक्षक श्रेष्ठले पहिलोपटक थ्रीस्टारको नेतृत्व सम्हालेका हुन् र पहिलो पटकको प्रशिक्षकमै उनले टिमलाई उपाधि दिलाउन सफल भए । विधागत् उत्कृष्ट खेलाडीले जनही १० हजार नगद पुरस्कार प्राप्त गरे । चैत १३ गतदेखि शुरू भएको बागमती गोल्डकपमा १० टिमले सहभागिता जनाएका थिए ।

Advertisement

प्रतिक्रिया