चिनियाँ सामग्री सीधै रसुवागढी नाकामा

विदुर खबर २०७७ चैत ३ गते २०:४५

रसुवा । उत्तरी नाका रसुवागढीबाट आयात भइरहेको चिनियाँ सामग्री ल्हासादेखि रसुवागढीसम्म सिधै ढुवानी हुन थालेको छ ।

Advertisement

नेपाली व्यवसायीले मगाएका सामग्री पहिलो चरणमा केरुङमा गोदाम गर्ने र मोटरद्वारा रसुवागढी पठाउने व्यवस्था हुँदै आएको थियो । यसलाई परिवर्तन गर्दै चिनियाँ ढुवानी कम्पनीले ल्हासादेखि सिधै रसुवागढी ल्याउन शुरुआत गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

गोदाम र भरिया खर्चमा कमी तथा महँगो कन्टेनर भाडासमेत घटेपछि बजार भाउमा केही सरलता आउने बताइएको छ । अहिले ल्हासाबाट सामान बोकेका कन्टेनर सिधै रसुवागढी आउन थालेको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले जानकारी दिनुभयो । उहाँले आयात भएका सामग्री नेपाली कन्टेनरमा रूपान्तरण गरी भन्सार हातामा प्रवेश भइसकेको बताउनुभयो ।

Advertisement

चिनियाँ ल्होसार पर्वका कारण केही समय स्थगन भएको थियो । गत फागुन २१ गतेदेखि पुनः सञ्चालन भएको ढुवानी अन्तर्गत चिनियाँ व्यापारीले रसुवागढी पुर्‍याएका सामग्री भन्सार हातामा आएका थिए । आ–आफ्ना सामानको परिमाण घोषणा गर्न आयातकर्ताका प्रतिनिधि समयमै उपस्थित नहुँदा भन्सार जाँचपास भने हुन सकेके छैन ।

उहाँले माल सामग्री बोकि आएका करीब ८० मालवाहक ट्रक÷कन्टेनर भन्सार हातामा रहेकोे जानकारी दिनुभयो । सामान आयात गर्ने व्यापारीले आफ्नो कन्टेनरमा रहेको सामानका नाम र परिमाण घोषणाको फारम भर्ने प्रावधान रहेको छ । भन्सार जाँचकीले ती सामग्रीको परीक्षण गरी भन्सार शुल्क यकिन गर्दछन् ।

Advertisement

बिग्रने वस्तुमा पर्ने लसुन बोकी आएका केही कन्टेनर भने जाँचपास गरी छोडिएको बताइएको छ । भन्सार शुल्कबापतको राजश्वतर्फ गत फागुन २१ गतेदेखि करीब तीन करोड मात्र सङ्कलन भएको कार्यालयले जनाएको छ ।

कोभिड–१९ को सङ्क्रमण रोकथाम गर्न केरुङसम्मको आउजाउ बन्द भए पनि नेपाली बजारका लागि माल सामग्री भने मितेरी पुलमा पुर्‍याई चिनियाँ पक्षले निरन्तर सहयोग गरिरहेको बताइन्छ ।

हाल आयात भएका सामग्रीमा विद्युतीय उपकरण, तयारी पोशाक, जुत्ता चप्पललगायत विविध छन् ।

प्रतिक्रिया