रसुवामा जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन सुरु

विदुर खबर २०७७ फागुन २४ गते २१:३५

रसुवा । रसुवामा २ हजार भन्दा बढी जेष्ठ नागरिकलाई कोरोना विरुद्धको खोप लगाइने भएको छ ।

Advertisement

दोस्रो चरण अन्तर्गत आइतबारदेखि ६५ वर्ष माथिका २ हजार १ सय ७० जेष्ठ नागरिकलाई खोप लगाइने भएको हो ।खोपको उपलब्धता र जोखिमको आधारमा जिल्लाको तीनवटा गाउँपालिकामा आइतबारदेखि नै खोप लगाउन सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए । आइतबार ७ वटा खोप केन्द्रबाट खोप लगाइने लगाउन सुरु गरिएको छ ।

सोमबारदेखि बाँकी दुईवटा गाउँपालिकामा पनि सुरु हुने छ । जिल्लामा भएका जेष्ठ नागरिकलाई पुग्ने गरी खोप आएको र केही छुट भएमा पुनः खोप आउने उनको भनाइ छ । यसअघि अस्पतालमा खोप अभियान सञ्चालन गरिएको थियो । अहिले भने खोप केन्द्र स्थापना गरेर खोप अभियान सुरु गरिएको छ । जिल्लाको पाँचवटा गाउँपालिकामा ६१ वटा खोप केन्द्र तोकिएको छ ।

Advertisement

जसमा ३६ जना स्वास्थ्यकर्मी खटिने छन् । आवश्यकता अनुसार स्वास्थ्यकर्मीको संख्या बढाइने उनको भनाइ छ । पहिलो चरणमा सञ्चालन गरिएको खोप अभियानमा १ हजार ७ जनालाई कोरोना विरुद्धको खोप लगाइएको थियो ।

रसुवा अहिले कोरोनामुक्त जिल्ला बनिसकेको छ । पछिल्लो समय कोरोनाको नयाँ संक्रमित फेला परेका छैनन् भने पहिले संक्रमित भएका सबै जना निको भइसकेका छन् । स्वास्थ्य कार्यालय रसुवाका अनुसार जिल्लामा हालसम्म १ सय ८२ जनामा कोरोना पुष्टि भएकोमा सबै जना निको भएका हुन् ।

Advertisement

हालसम्म गोसाइँकुण्ड गाउँपालिकामा ३५, आमाछोदिङ्मोमा १३, कालिकामा ५४, उत्तरगयामा ३७, नौकुण्डका २२ र बाहिरी जिल्लाका २१ जनामा कोरोना पोजेटिभ देखिएको थियो । जिल्लामा हालसम्म १ हजार ८ सय २६ वटा स्वाव संकलन गरिएकोमा १ हजार ६ सय ४ नेगेटिभ र १ सय ८२ पोजेटिभ आएको थियो ।

प्रतिक्रिया