तिहारमा भारतबाट फूल नल्याइने

विदुर खबर २०७७ कार्तिक १६ गते ८:४५

नुवाकोट । बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको छ।

Advertisement

मागअनुरुप उत्पादन भएकाले आयातित फूलको आवश्यक नहुने बताइएको छ। गत वर्ष तिहारमा २५ लाख सयपत्री माला खपत भएको थियो। यस वर्षको तिहारमा भने १५ लाख मालाको मात्र माग हुने अनुमान गरिएको छ। तिहारमा सयपत्री, मखमली र गोदावरीको माग बढी हुने भएपनि सयपत्री मात्रै भारतबाट ल्याउने गरिएको थियो। गत वर्षको तिहारमा २५ लाख माला खपत हुँदा तीन लाख माला भारतबाट ल्याइएको थियो।

फूलले बजार नपाए पनि तिहारमा भने स्वदेशी उत्पादनले नै धान्ने छ। व्यवसायीहरुले यस वर्षको पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाएका हुनाले उत्पादन राम्रो रहेको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजू श्रेष्ठले बताए। ‘यस वर्ष भने बजारमा माग कमी भएकाले कारोवारमा केही कमी हुन्छ,’ उनले भने।

Advertisement

यस वर्ष समय समयमा पानी परिरहेकाले काठमाडौँ उपत्यकाका तीन जिल्लासहित तराईका केही जिल्लामा फूलको राम्रो उत्पादन भएको छ। विगतका वर्षमा जस्तै यस वर्ष पनि काठमाडौँ उपत्यकामा नै सबैभन्दा बढी ६० प्रतिशत मालाको माग छ।

अघिल्ला वर्षको तुलनामा कारोबारमा कमी 
यस वर्ष फूलको कारोबारमा कमी आउने पक्का भएको छ। कोरोनाका कारण गत चैतदेखि असारसम्म फूलको कारोवार शून्य रहेको र पछिल्लो समय नगन्य मात्रामा कारोवार भएकाले अपेक्षाअनुरुप कारोवार नहुने भएको हो। अघिल्ला वर्षहरूमा एक वर्षभरमा करिब दुई अर्ब ४२ करोडको फूलको कारोबार हुने गरेको थियो। चालू आवमा रु तीन अर्ब फूलको कारोबार हुने अनुमान गरे पनि कारोनाका कारण बजारमा चहलपहल नहुँदा अनुमानभन्दा कम हुने निश्चित छ।

Advertisement

प्रतिक्रिया