सेनाद्वारा गोसाइँकुण्ड पदमार्गमा रेलिङबार निर्माण

विदुर खबर २०७७ असोज १५ गते ११:०३

रसुवा ।  प्रसिद्ध पर्यटकीय एवं धार्मिक तिर्थस्थल गोसाइकुण्ड पदमार्गमा रेलिङबार निर्माण गरिएको छ । उक्त पदमार्गको बुद्ध मन्दिरदेखि गोसाइकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरिएको हो ।

Advertisement

लाङटाङ राष्ट्रिय निकुञ्जको सरक्षार्थ खटिएको नेपाली सेनाको कालीजंग गणले रेलिङबार निर्माण सम्पन्न गरेको हो । नेपाली सेनाको सैनिक–नागरिक सम्बन्ध अभिवृद्धि कार्यक्रम अन्तर्गत बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म भिरमा रेलिङबार निर्माण गरिएको कालीजंग गणका प्रमुख सेनानी सविन्द्र नगरकोटीले बताए । भिरको बाटोमा २.५८ किलोमिटर लामो पक्की रेलिङबार निर्माण गरिएको उनले बताए । त्यस्तै तिर्थयात्रीहरुलाई विश्राम गर्न चोलाङपाटीमा ४० फिट लम्बाइ र २० फिट चौडाइको विश्राम घर, भूकम्पले भत्केको बुद्ध मन्दिरको पुनर्निर्माण र हेलिप्याड पनि निर्माण गरिएको छ ।

भत्केको बाटो मर्मत तथा गणेशगौंडा, बुद्ध मन्दिर र गोसाईकुण्डमा विश्रामस्थल पनि निर्माण गरेको सेनाले बताएको छ । रेलिङबार निर्माण भएपछि गोसाईकुण्ड पुग्ने पर्यटक तथा तिर्थयात्रीहरुलाई आवत जावत गर्न सहज भएको छ । करिब ५० लाखको लागतमा रेलिङबार निर्माण सम्पन्न भएको हो । कालीजंग गणबाट १० लाख १२ हजार भन्दा बढी जनश्रमदान रहको छ । लकडाउनका बाबजुत पनि सेनाले ८ महिनामा निर्माण सम्पन्न गरेको हो ।

Advertisement

रेलिङबार निर्माण भएको स्थान समुद्री सतहबाट ४ हजार २ सय देखि ४ हजार ३ सय ८० मिटरको उच्चाइमा रहेको छ । लेक लाग्ने ठाउँमा पनि सेनाले जोखिम मोलेर दिनरात नभनि रेलिङबार निर्माण सम्पन्न गरेको हो । श्री नं ६ बाहिनी अड्डा वैरेनिका बाहिनीपति सहायक रथी सुनिल श्रेष्ठले रेलिङबारको उद्घाटन गरेका हुन् ।

उद्घाटन पश्चात सेनाले निर्माण सम्पन्न गरेको रेलिङबार आइतबार गोसाईकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेको छ । सेनाले बुद्ध मन्दिरदेखि गोसाईकुण्डसम्म अफ्ठ्यारो भिरमा रेलिङबार निर्माण गरी पदयात्रामा आउने पर्यटक तथा भक्तजनको यात्रालाई सहज बनाएको गोसाईकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।

Advertisement

रेलिङ मार्गबाट करिब ३० हजार तिर्थयात्री तथा पर्यटक लाभान्वित हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया