एनआरएनएद्वारा नुवाकोट र रसुवाका बाढीपीडितलाई राहत

विदुर खबर २०८३ भदौ २९ गते १०:०९

नुवाकोट। भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका नागरिकको लागि गैरआवासीय नेपाली संघ (एनआरएनए)ले सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियान जारी राखेको छ।

Advertisement

एनआरएनएले अभियानअन्तर्गत रसुवाको गोसाइँकुण्ड गाउँपालिका–१ का बाढी तथा पहिरो प्रभावित परिवारका लागि खाद्यान्नलगायत राहत सामग्री वडा अध्यक्ष उर्गेन छिरिङ लामालाई हस्तान्तरण गरेको छ।

बेलायतको लिभरपुलस्थित लिभरपुल नेपाली समाजले राहतका लागि आर्थिक सहयोग गरेको थियो। स्थानीय तहले प्रभावित परिवारको आवश्यकता पहिचान गरी सामग्री वितरण गर्नेछ।

Advertisement

यस्तै, नुवाकोटको विदुर नगरपालिका–७ तुप्चेका १८ परिवारलाई एक–एक थान ग्यास सिलिन्डर, ग्यास चुलो र प्रेसर कुकर वितरण गरिएको छ।

विभिन्न देशमा रहेका एनआरएनएका पञ्जीकृत सदस्यका परिवारलाई उपाध्यक्षद्वय मनोज गोर्खाली र तिलक गैरेको प्रयोजनमा ती सामग्री उपलब्ध गराइएको हो।

Advertisement

यसैबीच, एनआरएनए पदाधिकारीसहितको राहत टोलीले रसुवाको स्याफ्रुबेँसी, चिलिमे हाइड्रोपावर आसपास र बेत्रावती क्षेत्रको स्थलगत भ्रमण गरेको छ। टोलीले बाढी–पहिरोबाट भएको क्षति, प्रभावित परिवारको अवस्था र तत्काल तथा दीर्घकालीन आवश्यकताबारे जानकारी लिएको छ।

भ्रमणका क्रममा बाढी–पहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा मौनधारण गर्दै श्रद्धाञ्जली तथा प्रभावित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो।

स्थानीय जनप्रतिनिधि र प्रभावितसँग छलफल गरी प्राप्त विवरणका आधारमा आगामी राहत तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी बनाइने एनआरएनएले जनाएको छ।

प्रतिक्रिया