रसुवाका ग्रामीण सडक सञ्चालनमा ल्याउन स्थानीयतहले काम अघि बढाए

विदुर खबर २०७७ असोज १० गते ९:०५

रसुवा  ।  वर्षाको कारण तीन महिनादेखि अवरुद्ध रहेका जिल्लाका ग्रामीण सडकहरू सञ्चालनमा ल्याउनका लागि स्थानीय तहले काम अघि बढाएका छन् ।

Advertisement

यसवर्ष बाढी र पहिरोले क्षति पुर्‍याएका ग्रामीण सडकहरू दशैं अगाडि नै सञ्चालनमा ल्याउनका लागि स्थानीय तहले काम अघि बढाएका हुन् ।   कालिका गाउँपालिकाका उपाध्यक्ष भवानीप्रसाद न्यौपानेले शनिबार बिहानदेखि सडक मर्मतको काम सुरु गरिएको बताए। ‘अहिले पानी पर्न केही कम भएको छ’, उनले भने, ‘यसकारण हामीले सडक सञ्चालनमा ल्याउनका लागि काम सुरु गरेका हौं।’ उनका अनुसार गाउँपालिकाभित्र पर्ने मुख्य सडक, सहायक तथा कृषि सडकहरू सञ्चालनमा ल्याउनका लागि एउटा स्काभेटर पनि भाडामा लिइएको छ।

नौकुण्ड गाउँपालिकाका अधिकांस सडक सञ्चालनमा आइसकेका छन्। गाउँपालिकाको यार्सा–दोक्लाङ सडक बाहेक अन्य सडक सञ्चालनमा आइसकेको नौकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सिर्जना लामाले बताइन्। ‘गाउँपालिकाको वडा नम्बर २ को बाहेक अन्य ठाउँको सडक सञ्चालनमा ल्याएका छौं’, उपाध्यक्ष लामाले भनिन्, ‘यो सडकको मर्मत प्रक्रिया अघि बढाइसकेका छौं।’

Advertisement

वर्षाको कारण उत्तरगया गाउँपालिकाको अधिकांश सडक बन्द भएका छन्।  गाउँपालिकाकी उपाध्यक्ष चमेली गुरुङका अनुसार पहिलो चरणमा पहिरोले क्षति गरेका सडकको अध्ययन गरिने छ। करिब १५ दिनमा सडक मर्मत तथा सुधारको काम हुने उनको भनाइ छ। ‘हामीले पहिलो चरणमा सडकको अध्ययन गर्ने छौं’, उनले भनिन्, ‘त्यसपछि मात्र सडकको मर्मत तथा सुधारको काम सुरु हुन्छ।’

जिल्लाको पाँचवटै गाउँपालिकाको गाउँ बस्तीमा सडक पुगेको छ। गोसाइँकुण्ड गाउँपालिका–४ लाङटाङबाहेक अन्य वडा सडक सञ्जालसँग जोडिएको छ। जिल्लाको गोसाइँकुण्ड र आमाछोदिङमो गाउँपालिकाका सडकको पनि मर्मत सम्भार कार्य अघि बढेको छ। जिल्लाका पाँचवटै गाउँपालिकाका ग्रामीण सडक दशैं अगाडि नै सञ्चालनमा ल्याउने स्थानीय तहले बताएका छन्।

Advertisement

स्थानीय तहको निर्वाचन भएपछि जिल्लाको केही स्थानमा बाहेक अन्य क्षेत्रमा सडक निर्माण गरिएको छ। स्थानीय तहले निर्वाचन भएयता सडक निर्माण तथा मर्मतलाई नै प्राथमिकता दिएका छन्। भूकम्पले क्षति पुगेका निजी आवास निर्माण गर्नका लागि तत्कालै सडकको ट्रयाक खोल्ने काम गरिएको थियो।

प्रतिक्रिया